+

जङ्गली रातो च्याउ शहरदेखि विदेशसम्म

म्याग्दी ।  यहाँको मालिका गाउँपालिका–५ देवीस्थानका रेशम बूढामगर हिजोआज जङ्गलमा रातो च्याउ खोज्नमा व्यस्त हुनुहुन्छ ।

बर्खायाम शुरु भएपछि पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमकी देविकला घर्तीको  परिवारका सदस्यहरु च्याउ खोज्न जङ्गलमै दिन बिताउने गर्छन् । ओसिलो जङ्गलका पुराना रुख र ठुटामा पाइने रातो च्याउ खोज्न रेशम र देवीकला मात्रै होइनन्, साउन दोस्रो सातादेखि पश्चिम म्याग्दीका रुम, दिच्याम, मुना, मुदी, लुलाङ, गुर्जा, देवीस्थान, विमलगायतका गाउँका स्थानीयवासी व्यस्त छन् ।

गाउँको होमस्टेदेखि सहरका तारे होटेल र विदेशसमेत रातो च्याउको माग भएकाले महङ्गोमा बिक्री हुने गर्छ । रातो च्याउको मूल्य यस वर्ष आलो प्रतिकिलो रु दुईहजार र सुकाएको रु पाँच हजारसम्ममा बिक्रि हुने गरेको छ । जिल्लाको धवलागिरि, मालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाको अधिकांश जङ्गलमा रातो च्याउ पाइन्छ । जङ्गलमा जोखिम मोलेर रातो च्याउ टिपेर ल्याउनुपर्ने भएकाले यसको मूल्य महङ्गो भएको रुमकी देविकला घर्तीले बताउनुभयो । 

प्रोटिन र भिटामिनका लागिसमेत राम्रो मानिने जङ्गली रातो च्याउ म्याग्दीका ग्रामीण वस्तीमा पुग्ने जो कोहीले रुचाउने परिकार हो । घरबासमा आउने अधिकांशले रुचाउने परिकारमध्ये रातो च्याउ भएको मुना घरबासका सञ्चालक राधिका भण्डारीले बताउनुभयो ।

‘घरवासमा आउने जो कोहीले खान र कोशेलीका लागि रातो च्याउ खोज्ने गर्छन्’ भण्डारीले भन्नुभयो– ‘पाहुनाले युरोप अमेरिकासमेत कोशेलीका लागि यही च्याउ किनेर लैजाने गरेका छन् ।’

गत सालसम्म प्रति किलो ८ सयदेखि १ हजार रुपैयाँसम्ममा बिक्री भएको रातो च्याउको मूल्य यस वर्ष २ हजार रुपैयाँ पुगेको छ । सुकाएको रातो च्याउ आलोको तुलनामा महङ्गो भएको व्यापारी जगमाया पुन मगरले बताउनुभयो । 

हालसम्म रातो च्याउको व्यावसायिक बजारीकरण नभएको रुमका स्थानीयवासी टेकबहादुर घर्तीले बताउनुभयो । जङ्गलमा भर्खरै पलाएको च्याउ टिप्न थालेपछि उत्पादन घट्न थालेको र मूल्य वृद्धि भएको घर्तीको भनाइ छ । 

रातो च्याउ सुकाएपछि लामो समयसम्म भण्डारण गर्न मिल्ने भएकाले कोशेलीका रुपमा प्रयोग हुँदै आएको बेनी बजारमा लामो समयदेखि अर्गानिक उत्पादन बिक्रि गर्दै आउनुभएका सुमन पौडेलले जानकारी दिनुभयो । गत वर्ष रुमबाट  लाख रुपैयाँको जङ्गली च्याउ बिक्री भएको स्थानीय टेकबहादुर घर्तीले बताउनुभयो । 

व्यावसायिक उत्पादन गर्न सके रातो च्याउको भविष्य रहेको उहाँको भनाइ छ । सिताके च्याउको व्यावसायिक उत्पादन थालिए जसरी रातो च्याउको  उत्पादन गर्न सकिने सम्भावना रहेको आत्मनिर्भर साना किसान सहकारी संस्था दरवाङका अध्यक्ष सन्तनाथ सुवेदीले बताउनुभयो । 

उहाँले भन्नुभयो– ‘अब जङ्गललाई घाँस दाउरामा मात्रै सीमित गर्न भएन, जसरी नौ महिनामा फल्ने सिताके च्याउको वैज्ञानिक तरिकाले ३ महिना उत्पादन हुने बीउ उत्पादन भयो त्यसरी रातो च्याउको विकास गर्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट