+

सुदूरपश्चिमका पहाडी जिल्लामा राति यातायात सञ्चालनमा रोक

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशमा अविरल वर्षाको पूर्वानुमानसँगै ‘रेड जोन’ कायम गरिएका क्षेत्रमा रातिको समयमा यातायातका सवारीसाधनको आवागमन नगर्ने/नगराउने निर्णय गरिएको छ । 
 
कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको अध्यक्षतामा जिल्ला सुरक्षा समितिका सदस्य र यातायात व्यवसायीलगायतको उपस्थितिमा आज धनगढीमा बसेको बैठकले उक्त निर्णय गरेको हो । 
    
विपद्को जोखिमलाई मध्यनजर गरेर पहाडी जिल्लातर्फ जाने यातायातका सवारीसाधन ‘रेडजोन’ कायम गरिएको अवधिसम्म राति ८ बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्ममा आवागमन नगर्ने/नगराउने निर्णय बैठकले गरेको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिनुभयो । 
 
उहाँले भन्नुभयो, “अविरल वर्षाको पूर्वानुमानसँगै ‘रेडजोन’ घोषणा भएपछि पहाडी क्षेत्रमा पहिरो जाने र गाडी दुर्घटना हुनसक्ने जोखिम हुनसक्छ, यस्तो अवस्थामा डोटी र डडेलधुरा जिल्ला प्रशासन कार्यालयले रातिको समयमा गाडी चल्न नदिने निर्णय गरेका छौँ ।” 

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले  आज र भोलि सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डोटी डडेलधुरा र बैतडीमा अविरल वर्षाका पूर्वानुमान गरेको उल्लेख छ । जसले गर्दा ती जिल्लालाई उच्च जोखिममा राखिएको छ ।   यस्तै दार्चुला, अछाम जिल्लालाई मध्यम जोखिम र बाजुरा र बझाङ जिल्लालाई न्यून जोखिममा राखिएको छ ।
 
पछिल्लो २४ घन्टामा कैलालीको चुरे पहाडी क्षेत्र गर्बा दरबार आसपासमा ६० दशमलव ८ मिलिमिटर, धनगढी विमानस्थल क्षेत्रमा ३९ दशमलव ४ मिमी, कञ्चनपुरको भम्कामा ५७ दशमलव ७ मिमी वर्षाको मापन गरिएको विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जय साहले जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट