+

सिमलताल बस दुर्घटना प्रतिवेदन गृहमन्त्री समक्ष पेश

काठमाडौँ । चितवनको सिमलतालमा भएको बस दुर्घटना सम्बन्धी प्रतिवेदन गृहमन्त्री समक्ष पेश भएको छ ।  दुर्घटनाबारे अध्ययन गर्न बनेको कार्यदलले गृहमन्त्री रमेश लेखकसमक्ष आज प्रतिवेदन पेश गरेको हो ।

गृहमन्त्री लेखकले पदबहाली गर्नुभएपछि पहिलो निर्णय गर्दै सिमलताल घटनाको विस्तृत अध्ययनका लागि गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गर्नुभएको थियो । कार्यदलले प्रतिवेदन पेश गर्दै विपद् व्यवस्थापनलगायत सवारी दुर्घटना न्यूनीकरणको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाल निकाय जिम्मेवारीका साथ पहल गर्नुपर्नेमा राय समेत दिएको छ ।
 
कार्यदलको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले सडक दुर्घटनाका कारण लामो समयदेखि जनधनको क्षति भइरहेकाप्रति चिन्ता व्यक्त गर्नुभयो ।

गृहमन्त्री लेखकले प्रतिवेदन अक्षरशः कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै कार्यदलले दिएको सुझाव मन्त्रालयले पनि कार्यान्वयन गर्नाका साथै अरू निकायलाई पनि कार्यान्वयन गर्न लगाउने बताउनुभयो । ‘यो गम्भीर र संवेदनशील विषय छ’ मन्त्री लेखकले भन्नुभयो– ‘हवाई दुर्घटना भयो भने आयोग र समिति बनाउने, दुर्घटनाका बारेमा जानकारी लिने, छानविन हुने गरिन्थ्यो’ उहाँले भन्नुभयो, ‘सवारी दुर्घटनाको एउटै निश्चित घटनालाई लिएर यो पहिलो समिति बनेको हो ।’

सवारी दुर्घटना न्यूनीकरणका लागि सबैखाले पहल गरिने उहाँले बताउनुभयो । ६२ जना बेपत्ता हुने गरी भएको दुर्घटनाको गम्भीरता बुझी आफूले अध्ययन कार्यदल बनाएको उहाँको भनाइ छ ।

सिमलताल दुर्घटनाको मुख्य कारण भेलबाढीकै कारण दुईवटा बस बगाएको आशयसहितको निष्कर्ष कार्यदल निकालेको छ । प्रतिवेदन पेश गर्दै कार्यदलका संयोजक गृह मन्त्रालयका सहसचिव छवि रिजालले दुर्घटनास्थलमा स्थानीय पालिकाले सडक निर्माण गर्दा भिरालो र पहाडी क्षेत्रमा उचित इन्जिनियरिङ्ग÷डिजाइन बिना नै ग्रामीण सडक खनिएको बताउनुभएको छ । 

‘दुर्घटनास्थलमा ठूलो मात्रामा ‘डेब्रिज’ (गेग्र्यान बहाव) भएको देखिन्छ, त्यहाँको भूगोल कमजोर पनि छ’ संयोजक रिजालले भन्नुभयो–  त्यो स्थानीय सडक निर्माणमा सुरक्षाको दृष्टिकोणले टेवा/पर्खाल लगाएको पनि देखिँदैन । दुर्घटनामा परी नदीमा हराएका यात्रुमध्ये २४ जना शव फेला परे पनि ४० जनाको अवस्था अझै अज्ञात छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट