
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।
आज प्रदेश प्रमुखले मियाँले आइतबार साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । “माननीय मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मिति २०८१÷४÷१८ गते नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्रीको पदबाट राजीनामा दिनुभएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नका लागि यही साउन २० गते बेलुका ५ बजे भित्र दाबी पेस गर्न आह्वान गर्नुभएको छ”, विज्ञप्तिमा भनिएको छ ।
यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज पदबाट राजीनामा दिनुभएको थियो । उहाँले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्रीको पदबाट प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा दिनुभएको हो ।
यसअघि विश्वासको मत लिने प्रयोजनका लागि आजै बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री सोडारीले आफूले मार्ग प्रशस्त गरेको घोषणा गर्नुभएको थियो ।
प्रदेशसभा र प्रदेश सरकारका कारणले नभई राष्ट्रिय राजनीतिले यस्तो घटना भएको बताउनुहुँदै उहाँले यसअघि सत्तापक्षमै रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का आर्थिक मामिला मन्त्रीबाट आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत भइसकेपछि त्यसलाई अलपत्र छाडिएको आरोप लगाउनुभयो । मुख्यमन्त्रीले प्रदेश सरकार र प्रदेशसभालाई बलियो बनाउने काममा सबै दल लाग्नुपर्ने जोड दिनुभयो ।
बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रस्ताव पेस गर्न मुख्यमन्त्रीले अनुमति प्राप्त गरेर पनि प्रस्ताव पेस नगरिएकाले उक्त प्रस्ताव स्वतःनिस्कृय भएको घोषणा गर्नुभयो ।
सत्तासमीकरण फेरिएसँगै एमाले सरकारबाट बाहिरिएपछि नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता एवं मुख्यमन्त्री सोडारी गएको असार २० गतेबाट अल्पमतमा पर्नुभएको थियो । उहाँ एक सय पाँच दिनसम्म मुख्यमन्त्री पदमा रहनुभयो । एमालेका ११, माओवादी केन्द्रका सभामुखबाहेक १०, एकीकृत समाजवादीका चार, नागरिक उन्मुक्तिका दुई, स्वतन्त्र एक सदस्यको समर्थनमा गएको वैशाख ६ गते उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
पछिल्लो आमनिर्वाचनपछि गठन भएको सुदूरपश्चिम प्रदेशसभाले हालसम्म तीन मुख्यमन्त्री फेरबदल गरिसकेको छ । अब चौथो मुख्यमन्त्रीको चयन प्रक्रिया सुरु भएको छ । सोडारी नेतृत्वको सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१÷८२ को बजेट पारित हुन सकेको छैन । योसँगै प्रदेश सरकारको यही साउन १ गतेदेखि राजस्व सङ्कलन तथा खर्च गर्ने लगायतका गतिविधि ठप्प छन् ।
प्रस्तुत बजेटमाथि प्रदेशसभामा छलफल गर्न ढिलाइ भइरहँदा असार २० गते मुख्य सत्ता साझेदार एमाले सरकारबाट बाहिरिएपछि बजेट अलपत्र पारित हुननसकेको हो । एमाले बाहिरिएसँगै मुख्यमन्त्रीले अध्यादेशमार्फत् बजेट ल्याउने प्रयास स्वरूप असारको अन्तिम हप्तामा वर्षे अधिवेशन ९बजेट अधिवेशन० अन्त्य गर्न सिफारिस गर्नुभएको थियो । त्यसपछि अध्यादेशमार्फत बजेट ल्याउने सरकारको प्रयास भइरहँदा प्रतिपक्षी ९एमाले र नेपाली कांग्रेसले विषेश अधिवेशनको माग गर्दै प्रदेश प्रमुखसमक्ष लिखित माग गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक