+

कक्षा १२ को नतिजा सार्वजनिक

भक्तपुर । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले  कक्षा १२ को नतिजा आज सार्वजनिक गरेको हो ।  परीक्षा बोर्ड बैठकले आफ्नो वेबसाइटमार्फत नतिजा सार्वजनिक गरेको छ । 
 
बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यस वर्ष कक्षा १२ मा ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएको बताउनुभयोे । यस वर्षको नतिजामा गत वर्षको तुलनामा तीन प्रतिशत वृद्धि भएको उहाँले जानकारी दिनुभएको छ ।
 
बोर्डका अनुसार गत वैशाख १४ गतेदेखि सञ्चालन भई २६ गतेसम्म लिइएको परीक्षामा नियमिततर्फ १ लाख ९३ हजार ९ सय ३३ छात्र र एक लाख ९६ हजार ९ सय १४ छात्रागरी कूल ३ लाख ९० हजार आठ सय ६८ परीक्षार्थी सहभागी थिए । त्यसमध्ये २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । 
 
परीक्षामा तीन दशमलव ६१ देखि चार जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या ९ हजार ५ सय ९१ रहेको छ । जसमा बागमती प्रदेशबाट ६ हजार ७ सय ५२ विद्यार्थी छन् । कर्णाली प्रदेशमा सबैभन्दा कम २४ जना विद्यार्थीले मात्रै  जिपिए ल्याएका छन् । 
 
त्यसैगरी ४६ हजार ८ सय ९३ विद्यार्थीले ३ दशमलव २१ देखि ३ दशमलव ६० सम्म जिपिए र ७८ हजार ७५ विद्यार्थीले २ दशमलव ८१ देखि ३  दशमलव २० सम्म जिपिए ल्याएका छन् । 
 
परीक्षामा एक लाख ८७ हजार २१ जना अनुत्तीर्ण अर्थात् ४७ दशमलव ०९ प्रतिशत विद्यार्थीको नतिजामा ननग्रेडिङ आएको छ । बोर्डका अनुसार ५ हजार ६ सय ३२ परीक्षार्थीले कुनै पनि विषयको परीक्षा दिएनन् भने १ सय २ विद्यार्थीको परीक्षा रद्द गरिएको छ । 
 
ग्रेड वृद्धितर्फ विसं २०७८ र ०७९ का २८ दशमलव २६ प्रतिशत र विसं २०७६ र ०७७ का ६२ दशमलव ०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो । 
 
यसअघि विसं २०७८ को नतिजामा ४६ दशमलव ०४ प्रतिशत र विसं २०७९ को नतिजामा ५१ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । 

बोर्डले लेटर ग्रेडिङ निर्देशिका–२०७८ अनुसार सञ्चालन गरेकोे परीक्षाको नतिजाअनुसार प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याएमा विद्यार्थीको नतिजा एनजी अर्थात अनुत्तीर्ण आउँछ । 
 
बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np, ruselt.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np  मा लग इन गरी हेर्न सकिन्छ । त्यसैगरि एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि neb लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर टाइपगरी १६०० नम्बरमा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट