
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली वामपन्थीलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलाल श्रेष्ठको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।
राष्ट्रपतिले आज शीतल निवासमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार–२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै पुष्पलाल नेपाली राजनीतिका एक मूर्धन्य, प्रतिभाशाली, इमान्दार र स्वप्नशील नेता भएको धारणा व्यक्त गर्नुभएको हो ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा पुष्पलालले पुर्याएको योगदानको स्मरण गर्दै राष्ट्रपतिले भन्नुभयो– ‘पुष्पलालले हिंसाबाट नभई लोकतान्त्रिक प्रक्रियाबाट नै समाजका अन्तरविरोध र सङ्कट समाधान हुनसक्छन् भन्ने ठान्नु आफैँमा त्यो समयको कम्युनिष्ट आन्दोलनका लागि महत्वपूर्ण प्रस्ताव थियो र त्यसले नेपाली वामपन्थीलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न एउटा महत्वपूर्ण वैचारिक मार्ग प्रसस्त ग-यो । यसका लागि पुष्पलालको ठूलो योगदान छ भन्ने मलाई लाग्छ ।’ नेता मदन भण्डारी र पुष्पलालले कम्युनिष्टलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न भूमिका खेल्नुभएको उहाँले उल्लेख गर्नुभयो ।
राष्ट्रपतिले पुष्पलालले नेपाली समाजको आर्थिक ढाँचा, वर्ग विश्लेषण, उत्पादन प्रणाली र उत्पादन सम्बन्धको गहिरो विश्लेषण तथा समाजका अन्तरविरोधलाई सुविचारित ढङ्गले अभिलेखन गर्न योगदान गर्नुभएको बताउनुभयो । उहाँले पुष्पलाल असल नेता, लेखक र चिन्तक भएको स्मरण गर्नुभयो । देशमा लोकतन्त्र स्थापना गर्नका लागि पञ्चायतइतरका शक्ति मिलेर सङ्घर्ष गर्नपर्छ भन्ने पुष्पलालको विचारका कारण २०४६ सालमा कांग्रेस र वाम मोर्चा मिलेर बहुदलीय प्रजातन्त्र पुनःस्थापना गर्न सम्भव भएको उहाँको भनाइ थियो ।
पुष्पलालसँग बनारसमा भेटेको स्मरण गर्दै राष्ट्रपतिले भन्नुभयो– ‘पञ्चायतविरुद्धमा सङ्घर्ष गरीरहेका कांग्रेस र कम्युनिष्टका कार्यकर्तालाई उहाँले समान स्नेह गर्नुहुन्थ्यो । हामी बिपीलाई भेट्न बनारस जाँदा पुष्पलाललाई भेट्न गएका थियौँ । आन्दोलनका बारेमा कुराकानी भयो । काठमाडौँमा कोसँग सम्पर्क गर्नेभन्दा हिरण्यलाल श्रेष्ठसँग गर्नु भन्नुभयो । माइला दाइले भनेको है भनेर पनि भन्नुभयो ।’
अग्रज नेताहरूको सङ्घर्ष, त्याग र नेपाली जनताको ठूलो बलिदानबाट आज सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको राष्ट्रपतिले बताउनुभयो । उहाँले नेपालको संविधानले वास्तविक रुपमा नेपाली जनतालाई मालिक बनाएको स्पष्ट पार्नुभयो । राष्ट्रपतिले भन्नुभयो– ‘नेपालको संविधानले वास्तविक रुपमा नेपाली जनतालाई मालिक बनाएको छ । हामी त्यही संविधान कार्यान्वयनको चरणमा छौँ तर पनि अझै हामीले जनताले अनुभूत गर्नसक्ने गरी यसको व्यवहारिक कार्यान्वयन गर्न नसकिरहेको अवस्था चिन्ताको विषय हो । जनताले अनुभूत हुने गरी लोकतन्त्रको प्रतिफल उनीहरूको घरदैलोसम्म पु-याउनसके मात्र यस्ता नेताहरूप्रति सच्चा श्रद्धाञ्जली हुनेछ भन्ने हामी नबिर्सौं ।’
कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुष्पलालले नेपालको वाम लोकतान्त्रिक आन्दोलनमा पु-याउनुभएको योगदानको सम्मान गर्दै आर्थिक वर्ष २०६८÷६९ देखि नै पुरस्कार दिन थालेको स्मरण गर्नुभयो । यस वर्ष पुष्पलाल भारत निर्वासनमा रहनुहुँदा बस्नलाई कोठा दिनुहुने विश्वनाथ सिंहलाई मरणोपरान्त पुरस्कार दिएकामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयप्रति उहाँले आभार प्रकट गर्नुभयो । स्व सिंहले पुष्पलाललाई दिएको कोठा उहाँको सम्मानस्वरुप अहिले पनि खाली गरेर राख्ने गर्नुभएको पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्ष समेत रहनुभएका पूर्वप्रधानमन्त्री नेपालले सुनाउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पुष्पलाल लगायत नेताले लोकतन्त्रवादी र वामपन्थी मिल्नुपर्छ भनी राख्नुभएको विचारकै कारण अहिलेको व्यवस्था स्थापनाका लागि सहयोग पुगेको बताउनुभयो । अहिलेको संविधान निर्माणमा पनि पुष्पलाल लगायत नेताले गर्नुभएको योगदान महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।
लोकतन्त्रवादी दल र वामपन्थी दलले विकास तथा समृद्धिका लागि सहकार्य गरी निर्वाचनमा प्रतिस्पर्धाको अभ्यास शुरु गरेको मन्त्री पाण्डेले जानकारी गराउनुभयो । राजनीतिलाई पुष्पलालको बेलाको जस्तै त्याग, सङ्घर्ष र बलिदानको बाटोमा हिँडाउनुपर्ने उहाँको भनाइ छ । राजनीतिलाई ज्ञान र सदाचारको बाटोमा हिँडाउन सकेमात्र पुष्पलालप्रति सच्चा श्रद्धाञ्जली हुने उहाँले सुनाउनुभयो ।
मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले पुष्पलालको आदर्श व्यक्तित्वको अनुसरण गरेर अघि बढ्नेलाई पुरस्कारका लागि छनोट गर्ने गरिएको बताउनुभयो । त्यस अवसरमा पुष्पलाल राष्ट्रिय पुरस्कार, २०८० राजनीतिक/सैद्धान्तिक विषयगत क्षेत्रतर्फ सिद्धिलाल सिंहलाई प्रदान गरिएको छ ।
यसैगरी, पुष्पलाल राष्ट्रिय पुरस्कार, २०८० इतिहास विषयगत क्षेत्रतर्फ स्व डा विश्वनाथ सिंहलाई प्रदान गरिएको छ । पुष्पलाल राष्ट्रिय पुरस्कार, २०८० साहित्य, संस्कृति र विज्ञान विषयगत क्षेत्रतर्फ चतुर्भुज आत्रेयलाई प्रदान गरिएको छ । तीनवटै पुरस्कारको राशि १ लाख रहेको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक