
कास्की । पोखरा महानगरपालिका–७ माछापुच्छ्रे टोलकी आस्था गिरी सोमबार साँझ आफ्नै घरछेउमा थरिथरिका तरकारी किन्न पाउँदा मख्ख हुनुहुन्थ्यो । त्यहाँ उहाँजस्ता धेरै गृहिणीको तरकारी किन्न भीड नै लागेको थियो ।
कृषि एम्बुलेन्सले गाउँगाउँबाट लिएर आएका तरकारी बिक्रीका लागि पोखरा महानगरपालिकाले वडा नम्बर ७ को रत्नचोकमा सोमबारदेखि किसान बजार सञ्चालनमा ल्याएपछि उपभोक्तामा खुशी छाएको छ । फर्सीका मुन्टा, गोलभेँडा, करेला लगायत तरकारी हातमा लिएर आस्थाले भन्नुभयो– ‘पृथ्वीचोकतिर पुगेर तरकारी ल्याउने गरेका थियौँ, यसरी घर नजिकै छानीछानी ताजा तरकारी पाउँदा खुसी लागेको छ । यो बजार निरन्तर सञ्चालन भए अझ दैनिक ताजा तरकारी पाइथ्यो कि ?’
स्थानीय उत्पादन उपभोगलाई प्रवर्द्धनका लागि पोखरा महानगरपालिकाले पोखराका विभिन्न स्थानमा किसान बजार सञ्चालनमा ल्याएको छ । महानगरले गाउँमा उत्पादन भएका कृषि उपज बजारसम्म ल्याउनका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । कृषि एम्बुलेन्सले महानगरका ग्रामीण बस्तीमा उत्पादित तरकारी निःशुल्क रूपमा बजारमा बिक्री वितरणमा सहयोग पुगेको छ । गत वर्षदेखि महानगरले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो ।
कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्तालाई जोड्ने काम गरेको महानगर कृषि तथा आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो । उहाँका अनुसार पोखराका सात ठाउँमा सातामा एक दिन किसान बजार सञ्चालन हुने गरेकामा माग बढ्दै गएकाले केही वडामा सातामा दुई दिन बजार सञ्चालन हुने गरेको छ ।
ग्रामीण भेगका साना किसानले उत्पादन गरेको कृषि उपज सङ्कलनका लागि महानगरका २१ स्थानमा सङ्कलन केन्द्र स्थापना गरिएको र ती ठाउँमा एम्बुलेन्स पुगेर कृषि उपज बजारमा ल्याउने गरेको महाशाखा प्रमुख कडरियाले बताउनुभयो ।
‘ठूला किसानले आफ्नै गाडीबाट ल्याएर बजारमा बिक्री गरे पनि साना किसानले त्यसरी बिक्री गर्न सक्दैनन् । अहिले किसानले आफूले उत्पादन गरेका कृषि उपज सङ्कलन केन्द्रमा लिएर आउनुहुन्छ, कृषि एम्बुलेन्सले त्यहाँबाट बजारसम्म ल्याउने गर्दछ । अहिले उत्पादकको उत्पादनले राम्रो बजार पाएको छ भने उपभोक्ताले स्वस्थ, विषादीरहित र ताजा कृषि उत्पादन उपभोग गर्न पाउनुभएको छ’ प्रमुख कडरियाले भन्नुभयो ।
कृषि एम्बुलेन्स सञ्चालनसँगै बजारका उपभोक्ताले विषादीरहित ताजा तरकारी उपभोग गर्न पाएको बताइन्छ । बाहिरबाट ल्याउँदा तरकारी क्षति हुने, प्रदूषित हुने गरेकामा अहिले एकदेखि दुई घण्टामा उत्पादकदेखि उपभोक्तासम्म आइपुग्ने अवस्था रहेको महाशाखा प्रमुख कडरियाले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘बाहिरबाट तरकारी ल्याउँदा क्षति हुने गरेको थियो । प्रदूषितसमेत हुन्थ्यो । चिस्यान सुविधासहितको एम्बुलेन्समा राखेर ल्याउँदा तरकारी बिग्रिँदैन । एक–दुई घण्टामा उत्पादकदेखि उपभोक्तासम्म आउने गरेको छ ।’
कृषि उपजमा हुने क्षति कम, उत्पादन क्षेत्रदेखि बजार केन्द्रसम्म सुरक्षित उपज ढुवानी, बजारीकरण र बिचौलियापनको अन्त्य, किसानलाई तरकारी बजारसम्म पुर्याउन हुने तनावको अन्त्य, स्थानीय उत्पादनलाई प्रोत्साहन र उपभोक्ताको घरघरमा ताजा तरकारीको उपलब्धतामा एम्बुलेन्सले सहयोग पुगेको बताइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै