
पर्सा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रको विकासबिना मुलुकमा समृद्धिको आकाङ्क्षा पूरा गर्न नसकिने बताउनुभएको छ ।
वीरगञ्ज महानगरपालिका–३१ स्थित हुलास स्टिलको युनिट–२ शुभारम्भ गर्दै मन्त्री भण्डारीले कोभिड–१९ को महामारीपछि औद्योगिक क्षेत्र नराम्रोसँग थलिएकाले उठाउन गाह्रो भइरहेको बताउनुभयो । ‘हाम्रा उद्योगका उत्पादन घट्दै गइरहेको छ । औद्योगिक क्षेत्रमा रोजगारीका अवसर गुम्दै गएका छन् । उद्योगधन्दा एकपछि अर्को समस्यामा परिरहेका छन् । क्रमशः बैङ्क ब्याजदरको चपेटामा उद्योग पर्यो’ उहाँले भन्नुभयो– ‘वर्तमान सरकार बनिसकेपछि पहिलो मन्त्रिपरिषद्को बैठक र त्यसपछि सम्माननीय प्रधानमन्त्रीज्यूले संसद्मा व्यक्त गर्नुभएको विचारले स्वदेशी उद्योग तथा औद्योगिक क्षेत्रलाई प्रवद्र्धन गर्ने विचार हामीले सुनिसकेका छौँ ।’
उद्योगमन्त्री भण्डारीले मुलुकका उद्योगधन्दा खस्किदाँ समस्यामा परेको धारणा राख्नुभयो । ‘आज देशको उद्योग यस्तो अवस्थामा पुग्यो कि हामी उत्पादकका रुपमा नभई उपभोक्ताका रुपमा रह्यौँ’ उहाँले भन्नुभयो– ‘नेपालको व्यापार घाटा यति चुलियो कि हामी उपभोग्य वस्तु मात्रै आयात गर्ने ठाउँमा पुगेका छौँ ।’
उद्योगमन्त्री भण्डारीले पछिल्लो समय घाटा चुलिएको बताउँदै नेपालको आयात र निर्यात तथ्याङ्कले नेपालको उद्योग क्षेत्रको स्पष्ट तस्बिर देखाएको बताउनुभयो । ‘करिब १६ खर्बको आयात र दुई खर्बको निर्यातले हाम्रो उद्योगको तस्बिर देखिन्छ’ उहाँले भन्नुभयो– ‘सरकारले अत्यावश्यकबाहेक अन्य वस्तु स्वदेशमा उत्पादन र उपभोग गर्ने परिपाटीको विकास गर्न जरुरी छ ।’ मन्त्री भण्डारीले गत आर्थिक वर्षमा करिब एक खर्बको फलफूल र तरकारी आयात भएको तथ्याङ्क प्रस्तुत गर्दै मधेस प्रदेशमा तरकारी र फलफूल उत्पादन गरेर विदेशी मुलुकबाट हुने आयात रोक्न सकिने उल्लेख गर्नुभयो ।
मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले बारा, पर्साको औद्योगिक करिडोरमा हजारौँ उद्योगधन्दा रहे पनि उद्योगमा काम गर्ने कामदार नरहेको जानकारी दिनुभयो । ‘मधेस प्रदेशका युवाहरु रोजगारीको अवसर नपाएर तेस्रो मुलुकमा जानुपर्ने बाध्यता छ । यहाँका उद्योगधन्दामा आवश्यक जनशक्तिहरुलाई मधेस सरकार र उद्योगी व्यवसायीले तालिम तथा क्षमता अभिवृद्धि गरेर रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बेला छ’ मुख्यमन्त्री सिंहले भन्नुभयो– ‘मधेस सरकारका तर्फबाट जस्तोसुकै सहयोग गर्न तत्पर छौँ ।’
उहाँले दक्ष जनशक्ति तयार पार्ने र उद्योगी व्यवसायीले स्वदेशी युवालाई प्रथामिकतामा राख्न अनुरोध गर्नुभयो । उहाँले जनकपुरलाई औद्योगिक करिडोरका रुपमा अघि बढाउनुपर्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै