
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्ने बताउनुभएको छ ।
युगकवि सिद्धिचरण श्रेष्ठको एक सय १३औँ जन्मजयन्ती समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले युगकविका रचनाले क्रान्तिमा होमिएका युवाहरुको उदाहरण दिँदै देश र जनताका लागि आवश्यक पर्दा युवाहरु जोसिनु स्वाभाविक रहेको बताउनुभएको हो ।
‘जसरी नेपाल–अङ्ग्रेज युद्धका बेला नेपाली जोसिएका थिए, त्यसरी नै आवश्यक पर्दा कहिलेकाहीँ जोसिनुपर्छ, युवाहरु चम्किनुपर्छ’ उहाँले भन्नुभयो । प्रम ओलीले आफू पनि युगकवि सिद्धिचरणबाट वैचारिक र साहित्यिक रुपमा प्रभावित रहेको उल्लेख गर्नुभयो । ‘उहाँ मेरो पनि गुरु हो, उहाँबाट म अति प्रभावित छु’ उहाँले भन्नुभयो– ‘उहाँले लेख्नुभएको गीतको प्रेरणाबाट धेरै युवाहरु क्रान्तिमा होमिन र सहिद हुन तयार हुनुभयो । गङ्गालाल श्रेष्ठ पनि उहाँकै गीतबाट प्रभावित भई सहिद हुनुभएको प्रसङ्ग आयो । म पनि क्रान्तिमा होमिएको थिएँ ।’
युगकविका सिर्जनाबाट धेरै स्रष्टाको सिर्जनामै प्रभाव परेको उहाँको भनाइ छ । युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा युगकवि सिद्धिचरण पुरस्कार प्राडा उषा ठाकुरलाई नगद एक लाख रुपैयाँसहित प्रदान गरियो । युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका लागि ओखलढुङ्गा संवाददाता नवराज कार्की ४० हजार रुपैयाँसहित पुरस्कृत हुनुभएको छ ।
समारोहमा प्रतिष्ठानद्वारा प्रकाशित ‘युगकवि सिद्धिचरणका गद्य कविता’ र ‘विज्ञका दृष्टिमा युगकवि’ नामक दुईवटा कृति विमोचन गरिएको छ । विसं १९६९ जेठ ९ गते जन्मनुभएका युगकवि श्रेष्ठको जन्मजयन्ती समारोह जेठ ९ गते गरिँदै आएकामा यस वर्ष उहाँकी सुपुत्रीको निधन भएकाले स्थगित गरी आज सम्पन्न गरिएको हो ।
कार्यक्रमको अध्यक्षता युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष कवि बैरागी काइँलाले गर्नुभएको थियो । समारोहमा प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठ, प्रधानसेनापति प्रभुराम शर्मा लगायत साहित्य र प्राध्यापन क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कवितामा क्रान्ति शब्द प्रयोग गरेकै कारण तत्कालीन राणा शासकहरुले सिद्धिचरण श्रेष्ठलाई सर्वस्वसहित १८ वर्ष कारावासको सजाय सुनाएको थियो । उहाँ ५ वर्ष जेल सजायपछि विसं २००२ मा जेलमुक्त हुनुभएको थियो । उहाँका हालसम्म ३९ कृति प्रकाशित भइसकेका छन् । अझै प्रकाशोन्मूख सातवटा कृति रहेको युगकवि सिद्धिचरण प्रतिष्ठानले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै