+

विद्यालय बसको गति नियमन गर्न सांसदहरुको सुझाव

काठमाडौँ । सांसदहरुले कास्कीको पोखरा महानगरपालिका–२१ मा दुर्घटनामा परेको विद्यार्थी बोकेको स्कूल बसको विषयबारे सरकारको ध्यानाकर्षण गराएका छन् । 
 
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद शिव नेपालीले तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीको निष्कर्ष रहेको उल्लेख गर्दै विद्यालयको बसको गति सीमित तुल्याउन र नियमन गर्न सरकारलाई सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो– ‘चालकले तीब्र गतिमा बस कुदाउने गर्दछन्, त्यसकारण नेपाल सरकारले कडाईका साथ विद्यालयका बसको गति सीमिततालाई कार्यान्वयन गर्न जरुरी छ ।’

कास्कीको पोखरा महानगरपालिका–२१ मटिखान नजिकै एलपी देवकोटा मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको बस आज बस दुर्घटनामा परेको थियो । दुर्घटनामा ६ वर्षीय प्रिन्स विक र ३३ वर्षीया आरती विकको मृत्यु भएको छ । 
 
सांसद नेपालीले भन्नुभयो– ‘पछिल्लो समयमा सडक तथा हवाई दुर्घटना बढेको छ, उड्नेबाट यात्रा गरे शव नै नचिनिने र गुड्नेबाट यात्रा गरे शव नै नभेटिने अवस्था छ, दुर्घटना न्यूनीकरणमा सरकारको ध्यान जानुपर्छ ।’
 
सांसद नेपालीले बिपी कोराइलाको ‘उत्पादन र उद्यमशीलतामा जोड दिनुपर्छ’ भन्ने भनाइलाई स्मरण गर्दै नेपालमा प्रजातन्त्र तथा गणतन्त्र आए पनि तीनै तहका सरकारले सही ढङ्गबाट काम गर्न नसकेको आरोप लगाउनुभयो । गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय यातायातसम्बन्धी ऐन, कानून तथा नियमावली जारी गरे पनि त्यो  ऐन, कानुन तथा नियमावली यातायात व्यवसायी विरुद्ध भएको उहाँको भनाइ छ ।
 
‘कानुनका कयौँ बुँदा यातायात व्यवसायीका विरुद्धमा छन्, यातायात महासङ्घ, स्थानीय समितिसँग छलफल नै नगरी ऐन ल्याएको देखिन्छ’ सांसद नेपालीले भन्नुभयो ।  
 
सांसद रोशन कार्कीले महिला हिंसाको उजुरी परेका प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानलाई कुनै पनि सरकारी निकायमा नियुक्त गर्न नहुने जिकिर गर्नुभयो ।

सांसद अब्दुल खानले वर्षाका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग पुनः सञ्चालनमा ल्याउन आग्रह गर्नुभयो । उहाँले दैलेखको आठबिस नगरपालिका–१ असारघाट नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएकाले सुर्खेतबाट माथिलो कर्णाली र माथिलो कर्णालीबाट सुर्खेततर्फ आवतजावत गर्ने यात्री अलपत्र परेको सदनलाई जानकारी गराउनुभयो ।
 
सांसद खानले कास्कीको पोखरामा भएको स्कूल बस दुर्घटनामा परेका विद्यार्थीको उपचारमा ध्यान दिन सरकारसँग माग गर्नुभयो । उहाँले हवाई तथा सडक यातायात असुरक्षित बन्दै गएकामा चिन्ता व्यक्त गर्दै सुरक्षित यात्राको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
 
सांसद  डा अमरेशकुमार सिंहले पछिल्ला दिनमा सवाी दुर्घटना बढ्दै गएको भन्दै सडक पूर्वाधारको गुणस्तरमाथि प्रश्न उठेको टिप्पणी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट