
चितवन । भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरासहित त्रिशूलीमा खसेर बेपत्ता दुई बस अझै फेला पर्न सकेका छैनन् । नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरासँगै त्रिशूलीमा खसेका बस र यात्रुको खोज तथा उद्धार कार्य शुरू भएको १६ दिनसम्म पनि बस तथा धेरै यात्रु अझै फेला पर्न नसकेका हुन् ।
नेपाल सरकारले खोजीका लागि बोलाएको भारतीय गोताखोरसहितको टोली परिचालन गर्दासमेत बसको अवस्थाबारे जानकारी लिन नसकिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । साउन ५ गतेदेखि यहाँ आएर खोजी कार्यमा लागेको भारत सरकारको नेशनल डिजास्टर रेस्पोन्स फोर्स ९एनडिआरएफ० को १२ सदस्यीय टोलीले आजबाट फर्किएको छ । खोज तथा उद्धारका क्रममा आफूहरूले पाएको प्रारम्भिक जानकारी जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई उपलब्ध गराउने गरी टोली फिर्ता भएको हो ।
प्रमुख जिल्ला अधिकारी यादवले साउन ४ गतेपछि हालसम्म शव र बसका अवशेषसमेत फेला पर्न नसकेको बताउनुभयो । त्यसअघि विभिन्न ठाउँमा गरी २४ जनाको शव भेटिएको भए पनि अन्यको शव भेटिन नसकेको उहाँले जानकारी दिनुभयो ।
भारतीय गोताखोरसहितको टोलीले घटनास्थल सिमलतालदेखि गाईघाटसम्मको तीन दशमलव पाँच किलोमिटर क्षेत्रफलमा बस हुन सक्ने अनुमान गरेको प्रजिअ यादवले बताउनुभयो । उहाँले भन्नुभयो– ‘बस नै हो भन्ने एकीन नभए पनि केही वस्तु छ भन्ने अनुमान उहाँहरूको छ । त्यहीअनुसार खोजी कार्य जारी राखेका छौँ । भारतीय टोली फर्किए पनि नेपालको टोलीले खोजी जारी राखेको छ । नदीको गहिराइ, पानीको बहावअनुसारका उपकरण अभावका कारण खोजीमा कठिन भएको छ ।’
प्रजिअ यादवले माटोमा पुरिएको अवस्थामा अहिले प्रयोग भएको सोनाल क्यामेरा लगायतका अन्य उपकरणले सवारी साधन र शवको पहिचान गर्न कठिन हुने बताउनुभयो । भारतीय टोलीले ल्याएको उपकरणबाट पानीभित्र ३० फिट तलसम्म हेर्न मिल्ने भए पनि नदीको गहिराइका कारण केही पत्ता लाग्न नसकेको उहाँको भनाइ छ ।
असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जान आउँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरासँगै त्रिशूली नदीमा यात्रुसहित बेपत्ता भएका हुन् ।
बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । हालसम्म २४ जनाको शव भेटिएकामा तीमध्ये १८ जनाको पहिचान खुलेर परिवारलाई बुझाई सकिएको छ । अन्य छ शवको पहिचान खुल्न सकेको छैन । अझै ३८ यात्रु र बसको अवस्था पत्ता लाग्न बाँकी छ ।
प्रमुख जिल्ला अधिकारी यादवका अनुसार नदीमा बेपत्ता भएका यात्रुहरूलाई मृत सरह घोषण गरी राहतका लागि गृह मन्त्रालयसँग अनुरोध गरिएको छ । राहतका लागि पत्र पठाइए पनि अर्को निर्देशन नभएसम्म खोजी कार्य जारी राखिने उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै