+

अनुदानले दूध उत्पादन वृद्धि

नवलपुर ।  नवलपुर हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई अनुदान दिन थालेपछि उत्पादनमा वृद्धि भएको छ । दूध उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले आर्थिक वर्ष २०७८ र ७९ देखि अनुदान दिन थालेपछि प्रत्येक वर्ष उत्पादनमा वृद्धि हुँदै गएको हो । 
 
सहकारीले सञ्चालन गरेको दुग्ध डेरीमार्फत दूध बिक्री गर्ने किसानलाई प्रतिलिटर दूधमा रु सात दशमलव ५० का दरले अनुदान रकम गाउँपालिकाले उपलब्ध गराएको हो । आर्थिक वर्ष २०८०र८१ मा ७५ हजार दुई सय दुई लिटर दूधमा ५ लाख ६४ हजार १२ रुपैयाँ अनुदान रकम वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले जानकारी दिनुभयो । 

“गत आवमा सहिद प्रदुक बहुउद्देश्यीय सकारी संस्थाले २२ हजार १६ लिटर दूधमा  दुई लाख ७३ हजार पाँच सय ३१, साना किसान कृषि सहकारी संस्थाले ३५ हजार तीन सय सात लिटर दूधमा  दुई लाख ६५ हजार एक सय ६२ रुपैयाँ  र शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी संस्थाले तीन हजार तीन सय ७६ लिटर दूधमा २५ हजार तीन सय १९ रुपैयाँ अनुदान लगेका छन’ उहाँले भन्नुभयो ।  
 
गाउँपालिकाले आव २०७९र८० सम्म प्रतिलिटर रु पाँच अनुदान दिँदै आएकामा गत आवदेखि अनुदान रकम वृद्धि गरेको हो । पालिकाले प्रतिलिटर रु १० अनुदान रकम उपलब्ध गराउने घोषणा गरे पनि गण्डकी प्रदेश सरकारले पनि दूधमा अनुदान उपलब्ध गराएकाले प्रदेशबाट किसानलाई प्राप्त रकम घटाएर प्रतिलिटर १० हुने गरी अनुदान वितरण गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकारी दिनुभयो । अनुदान रकम साना किसानसम्म पुर्याउन एक आवमा सहकारीमार्फत बिक्री गरेको दूधको परिमाणअनुसार रकम उपलब्ध गराइएको गरिएको उहाँले बताउनुभयो ।

‘गाउँपालिकाभित्र रहेका दुग्ध सहकारीले उपलब्ध गराएको वार्षिक तथ्याङ्कका आधारमा अनुदान दिने व्यवस्था गरेका छौँ’ अध्यक्ष पाण्डेले भन्नुभयो– ‘उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरूप आर्थिक वर्ष २०७८र७९ देखि यसलाई निरन्तरता दिँदै आएका छौँ ।’ उत्पादनका आधारमा अनुदान दिँदा साना किसान लाभान्वित भएका भन्दै दूध उत्पादन र पशु पाल्ने किसानको सङ्ख्या पनि वृद्धि भएको उहाँले बताउनुभयो । 

‘हुप्सेकोट गाउँपालिकालाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यअनुसार कृषकलाई आकर्षित गर्ने कार्यक्रम अगाडि सारिएका छन्’ उहाँले भन्नुभयो– ‘गाउँपालिकाको पहाडी क्षेत्रमा पशुपालन कम हुनेहुँदा यस क्षेत्रमा दूध उत्पादन कम हुने गरेको छ ।’

आव २०७९ र ८० मा कूल ५७ हजार तीन सय २३ लिटर दूधमा प्रतिलिटर  पाँच रुपैयाँका दरले २ लाख ८६ हजार ६ सय १९ अनुदान रकम प्रदान गरिएको गाउँपालिकाका लेखा अधिकृत राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो । 

‘त्यस वर्ष सहिद प्रदुक बहुउद्देश्यीय सहकारीले २२ हजार १६ लिटर दूधमा १ लाख १० हजार ८० रुपैयाँ र साना किसान कृषि सहकारीले ३५ हजार तीन सय सात लिटर दूधमा १ लाख ७६ हजार पाँच सय ३९ रुपैयाँ अनुदान पाएका थिए’ उहाँले भन्नुभयो ।   

चालु आर्थिक वर्षमा पनि दूधमा अनुदान कार्यक्रमलाई निरन्तरता दिइएको प्रमुख प्रशासकीय अधिृकत पराजुलीले बताउनुभयो । किसानका पक्षमा हुप्सेकोट गाउँपालिकाले गरेको काम प्रशंसनीय रहेको पशुपालक किसानले बताएका छन् । सोझै किसानको हातमा रकम जाने यो कार्यक्रमले किसानलाई केही मात्रामा भए पनि राहत दिएको कृषकको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट