
चितवन । यहाँका दूध उत्पादक किसानहरुले दूध उत्पादन वृद्घि गर्न छाडेका छन् । ६ महिनादेखि दूधको भुक्तानी नपाएका किसान उत्पादन वृद्धि हुने समयमा समेत उत्पादन वृद्धिमा ध्यान दिन छाडेका हुन् ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष किशोर बगालेका अनुसार बजारीकरणमा समस्या हुने देखिएपछि जिल्लाका दुग्ध उत्पादक किसानले दूध उत्पादन वृद्धि हुने समयमा पनि उत्पादन बढाउन चासो नदेखाएका हुन । बगालेले भन्नुभयो– ‘अहिले दूध उत्पादन गर्ने किसानले दोब्बर उत्पादन गर्न सक्छन्, तर बजारीकरणमा समस्या हुँदा उत्पादन वृद्धिमा चासो नदिएका हुन ।’ बजारीकरणमा समस्या हुने डर र बिक्री भएको दूधको रकम लामो समयसम्म भुक्तानी नहुँदा यहाँका किसान पलायन हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो ।
सरोकारवाला निकायले किसानका कुरामा ध्यान नदिँदा दुग्ध उत्पादक किसान मारमा परेको नेपाल किसान महासङ्घका जिल्ला सचिव इन्द्रमणि गैरेले बताउनुभयो । बाहिरबाट अनाधिकृत रुपमा आयात हुने दूधका कारण यहाँ दूध उत्पादन वृद्धि हुन नसकेको हो । उहाँले भन्नुभयो– ‘अहिले दूध उत्पादन वृद्धि हुने समय हो, तर सोचे जस्तो उत्पादन हुनसकेको छैन किसान दूध उत्पादन वृद्धि गर्न डराउँछन् ।’
अध्यक्ष बगालेका अनुसार निजी क्षेत्र र सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) सँग गरी ७२ करोड रुपैयाँ दूधको भुक्तानी लिन बाँकी छ । ‘भुक्तानीका लागि पटक–पटक धाउनपर्छ, थोरै–थोरै गरेर भुक्तानी आउँछ’ बगालेले भन्नुभयो– ‘हालको भन्दा बढी दूध उठाउने पक्षमा कोही छैनन् ।’ उहाँले चितवनबाट दैनिक ३ लाख ५० हजार लिटर दूध उत्पादन हुने र जसमध्ये जिल्लामै १ लाख ५० हजार लिटर खपत हुने जानकारी दिनुभयो ।
जिल्लामा साउन महिनामा गत वर्ष जस्तो दूधको माग नभएको बगालेले बताउनुभयो । अहिले जिल्लामा ४० हजार बढी दूध उत्पादक किसान छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै