
काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने पात्रका रूपमा रहेको बताउनुभएको छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले ४६औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आज विज्ञप्ति जारी गर्दै नेपाली जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि पुष्पलालले सुरु गरेको यात्रा अहिले विभिन्न किसिमले विस्तारित भइरहेको बताउनुभयो ।
क्रान्तिले एकपछि अर्को उपलब्धि हासिल गरिरहेको बताउँदै उहाँले भन्नुभयो– ‘यस अर्थमा हामी उहाँलाई कहिल्यै बिर्सन सक्दैनौँ, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले नेपाली जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि शुरु गरेको कम्युनिष्ट आन्दोलनमा उहाँले निर्वाह गरेको भूमिका आज पनि उत्तिकै महत्वपूर्ण छ ।’
विसं १९९७ मा दाजु शहीद गङ्गालाल, अरू शहीद र २००७ सालको क्रान्तिका योद्धाहरूबाट प्रेरणा पाउनुभएका पुष्पलाल निरङ्कुश तानाशाही पञ्चायती कालमा अनेकौँ जोखिमपूर्ण अवस्थामा पनि जीवनको अन्तिम घडीसम्म आफ्नो आस्थाप्रति अटल र अविचलित रही सङ्घर्षको यात्रामा अविराम क्रियाशील रहेको अध्यक्ष नेपालले उल्लेख गर्नुभयो ।
पूर्व प्रधानमन्त्री नेपालले पुष्पलालले नेपाली समाजको वस्तुनिष्ठ विश्लेषण गर्दै निरूपण गर्नुभएको नेपाली क्रान्तिको सिद्धान्तमा आफ्नो पार्टी उभिएर समाजवादी व्यवस्था कार्यान्वयनका निम्ति लागि रहेको बताउनुभयो ।
पुष्पलालको सिङ्गो जीवनयात्रा, सैद्धान्तिक–वैचारिक रचना र कार्यक्रमहरूमा सर्वहारावादी दृष्टिकोण पाइने बताउँदै उहाँले नेपाली समाजको ऐतिहासिक भौतिकवादी ढङ्गले व्याख्या गर्नुभयो र समाजमा विद्यमान वर्ग विश्लेषण, त्यसको विकासक्रम, वर्गीय अन्तर्विरोधको पहिचान तथा समाधानका उपायहरूलाई माक्सवादी ढङ्गले व्याख्या गर्ने कामको अगुवाइ गर्नुभएको उल्लेख गर्नुभयो ।
संयुक्त जनआन्दोलनको सिद्धान्त प्रतिपादन गर्नुभएको बताउँदै उहाँले भन्नुभयो– ‘पुष्पलालले आफ्नो पुस्तालाई मात्र नभएर पछिसम्मका लागि पनि दिएको सबैभन्दा ठूलो योगदान भनेको नेपाल कम्युनिष्ट पार्टीको स्थापना नै हो ।’
कम्युनिष्ट पार्टीको संस्थापकका रूपमा पार्टीलाई अगाडि बढाउन उहाँले कुशल सङ्गठकको भूमिका निर्वाह गर्नुभएको स्मरण गर्दै अध्यक्ष नेपालले पुष्पलालले प्रतिक्रियावादी सत्तालाई उन्मूलन गर्नका लागि समाजका सबै क्रान्तिकारी, परिवर्तनकामी समूह र राजनीतिक शक्तिहरूलाई एकताबद्ध भएर जानुपर्ने दृष्टिकोण राखेको बताउनुभयो ।
नेपाली क्रान्ति सम्पन्न गर्न नेपाली विशेषताको समाजवाद तथा वैज्ञानिक समाजवादको लक्ष्य प्राप्तिको घोषणाका साथ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) क्रियाशील रहेको भन्दै उहाँले हाम्रो रणनीतिक उद्देश्य लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समृद्ध समाजवाद निर्माण गरी समाजवाद उन्मुख सामाजिक–आर्थिक रुपान्तरण रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष नेपालले राष्ट्र र जनताको, श्रमजीवी वर्गको हित र समृद्धिलाई अवलम्बन गर्दै आत्मनिर्भर स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने अठोट आफ्नो पार्टीले गरेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै