
सुर्खेत । कर्णालीमा दुई साताभित्र आगलागीका कारण मानवीय क्षति बढेको छ । डोल्पा र हुम्लामा सामुदायिक वनमा लागेको आगोले मानवीय क्षति भएको हो ।
डोल्पाको ठूलीभेरी नगरपालिका-४ को मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका तीनजना सैनिकको गत चैत २६ गते मृत्यु भएको थियो ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ मा पर्ने सुँ सामुदायिक वन समूहमा लागेको आगलागीमा परी तीन बालकको मृत्यु भएको छ । गत बिहीबार आगलागी घटनामा परेका तीनैजना बालकको उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताउनुभयो ।
गाउँ नजिकै रहेको वनमा गुच्ची च्याउ टिप्न गएका तीनैजना बालक आगलागीमा परेर गम्भीर घाइते भएका थिए । उनीहरूलाई बचाउन सक्दो प्रयास गरे पनि नसकिएको वडा नम्बर ४ का वडाध्यक्ष रञ्जित बुढाले बताउनुभयो । एकै गाउँका तीन बालक आगलागीमा मृत्यु भएपछि सिङ्गो गाउँ शोकमा डुबेको छ । मृत्यु भएका मध्ये दुई बालक एकै घरका हुन् । त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालकको उपचारका लागि हेलिकप्टरको व्यवस्था गरी काठमाडौँ पुर्याएको थियो ।
हुम्लाको दक्षिणी क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका ८ रादेउमा एकजनाको जलेर मृत्यु भएको छ । गाउँभन्दा दुई घण्टाको दूरीमा रहेको कुरिल्ला लेखमास्थित आफ्नै भेडीगोठमा आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको बिहीबार राति मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले आगलागीमा ऐडीको मृत्यु भएको बताउनुभयो । राति ऐडीले तापिरहेको आगोको झिल्का हावाले उडाउँदा भेडीगोठमा आगो लागेको थियो । त्यही आगोमा परी ऐडीको मृत्यु भएको चन्दले बताउनुभयो ।
जलेर मृत्यु भएको जानकारी पाउनासाथ सर्किदेउ प्रहरी चौकीबाट आठ घण्टाको पैदल हिँडेर प्रहरी टोली राति घटनास्थल पुगेका थिए । भेडीगोठमा ६० वटा भेडा जलेर मरेका छन् । एक सय २० वटा भेडामध्ये ६० भेडा जलेको जिल्ला प्रहरी हुम्लाले जनाएको छ । मुगुको छायाँनाथ रारा नगरपालिकाभित्रका विभिन्न सामुदायिक वनमा आगलागी भएको छ ।
रुकुम पश्चिमका सामुदायिक वनहरुमा पनि आगलागी भएको छ । आगो निभाउने वैकल्पिक उपाय नहुँदा समस्या भएको छ । हुरीको मौसम भएकोले वनमा लागेको आगो निभाउन कठिनाइ हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
- रविको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरीका सई काठमाडौँ तानिए
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय
- टहरामा सुतिरहेका दुई दिदीबहिनीको ढुंगा लागेर मृत्यु
- कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री