
काठमाडौँ । बशर अल असदको पतनपछि विश्व शक्तिराष्ट्रहरूले स्थिरताका लागि जोड दिइरहेका बेला मध्यपूर्व र युरोपका उच्च कूटनीतिज्ञहरू सिरियाबारे छलफल गर्न आइतबार साउदी अरबको राजधानी रियाद आइपुगेका छन्।
मध्यपूर्वको सबैभन्दा ठूलो अर्थतन्त्र साउदी अरबले गत महिना इस्लामिक नेतृत्वको विद्रोहीले असदलाई सत्ताच्युत गरेपछि सिरियामा आफ्नो प्रभाव बढाउन खोजेको विश्लेषकहरूले बताएका छन् । ‘आइतबारको वार्ता दुई सत्रमा हुनेछ । पहिलो सत्रमा अरब अधिकारीहरूबीचको छलफल हुनेछ भने टर्की, फ्रान्स, युरोपेली सङ्घ र संयुक्त राष्ट्र सङ्घसहित व्यापक सहभागितामा अर्को छलफल हुनेछ,” एक साउदी अधिकारीले शनिबार एएफपीलाई बताए।
असदलाई सत्ताच्युत गर्ने गठबन्धनमा मुख्य विद्रोही समूहको नेतृत्व गरेका सिरियाका नयाँ नेता अहमद अल–शराले प्रतिबन्धबाट राहतका लागि दबाब दिइरहेका समय कुटनीतिज्ञहरूको यो बैठक हुनलागेको हो ।
सन् २०११ मा असदले सरकारविरोधी प्रदर्शनमा निर्मम दमन गरेको भन्दै संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घ लगायत पश्चिमा शक्तिहरूले सरकारमाथि प्रतिबन्ध लगाएका थिए।
सिरियामा चलेको १३ वर्षभन्दा लामो द्वन्द्वका कारण पाँच लाखभन्दा बढी सिरियालीको मृत्यु भएको छ, भौतिक संरचना ध्वस्त भएका छन् र करिब आधा जनसङ्ख्या आन्तरिक वा बाह्यरूपमा शरणार्थी बनेका छन् भने सम्पूर्ण आम्दानीका अवसर गुम्दा मानिसहरू चरम गरिबीको रेखामुनि बाँच्न तयार भएका छन् । युद्धका कारण लाखौं मानिस आफ्नो घर छोडेर युरोपतिर पलायन भएका छन् । उद्योगी तथा व्यवसायी पनि सुरक्षित गन्तव्यतर्फ लागेका छन् ।
सिरियाका नयाँ शासकले अल्पसङ्ख्यक समुदायको संरक्षण गर्ने समावेशी सरकार गठनका लागि कदम चालेमा २७ राष्ट्रको समूह (इयू) ले प्रतिबन्ध फुकुवा गर्न सक्ने युरोपेली सङ्घका उच्च कूटनीतिज्ञ काजा कल्लासले बताउनुभएको छ ।
साउदी अरबले सन् २०१२ मा असदको सरकारसँग सम्बन्ध तोडेको थियो र लामो समयदेखि उहाँलाई सत्ताच्युत गर्ने अभियानमा खुलेर वकालत गर्दै आएको थियो । तर सन् २०२३ मा उसले अरब लिगको बैठक आयोजना गरेको थियो जसमा असदलाई क्षेत्रीय तहमा स्वागत गरिएको थियो।
यसै महिना खाडी मुलुकले सिरियामा जमीन र हवाई जहाजमार्फत खाद्यान्न, आवास र स्वास्थ्य सामग्री पठाएको छ । रियादले अहिले युद्धग्रस्त देशको सङ्क्रमणलाई कसरी समर्थन गर्ने भन्ने विषयमा छलफल गरिरहेको छ ।
वासिङ्टनस्थित अरब गल्फ स्टेट्स इन्स्टिच्युटका गैरआवासीय फेलो अन्ना जेकब्सले भन्नुभयो– ‘यो शिखर सम्मेलनले सिरियाको पुनरुत्थानमा सहयोग गर्न क्षेत्रीय प्रयासको समन्वय गर्न साउदी अरबले नेतृत्व लिन चाहेको सन्देश दिएको छ । तर ठूलो प्रश्न यो हो कि साउदी अरबले यो प्रयासमा कति समय र कति स्रोत खर्च गर्नेछरु अनि धेरै प्रतिबन्ध बाँकी रहँदा के सम्भव छ ?’
– सतर्क दृष्टिकोण –
जोर्डनमा गत महिना भएको असदपछिको सिरियासम्बन्धी वार्ताको निरन्तरतालाई लिएर आइतबारको बैठकले प्रतिनिधित्व गर्ने साउदी अधिकारीले बताएका छन् ।
अकाबामा भएको वार्तापछि कूटनीतिज्ञहरूले ‘पारदर्शी प्रक्रियाबाट गठन भएको समावेशी, गैरसाम्प्रदायिक र प्रतिनिधिमूलक सरकार निर्माण गर्न’ सिरियाली नेतृत्वमा सङ्क्रमणका लागि संयुक्त वक्तव्य जारी गरेका थिए। वक्तव्यमा ‘मानव अधिकारको सम्मान’ र ‘आतङ्कवाद र अतिवाद’ विरुद्ध लड्नुपर्ने महत्वमा जोड दिँदै सिरियामा सबै पक्षलाई शत्रुता अन्त्य गर्न माग गरिएको छ ।
टर्कीएका विदेशमन्त्रीले आइतबारको बैठकमा आफू सहभागी हुने पुष्टि गर्नुभएको थियो । इराकका उच्च कूटनीतिज्ञ पनि बैठकमा सहभागी हुन रियादमा आइपुग्नुभएको छ भने जर्मनीका विदेशमन्त्री पनि सम्मेलन स्थलमा पुग्नुभएको छ ।
टर्कीएको भ्रमणमा रहनुभएका अमेरिकी उपविदेशमन्त्री जोन बास पनि टर्कीएबाट बैठकका लागि रियाद जाने कार्यक्रम तय भएको छ । बैठकलाई आंशिक रूपमा ‘क्षेत्रीय स्थिरताको महत्व, सिरियालाई आतङ्कवादको अखडाको रूपमा प्रयोग हुनबाट रोक्न र इस्लामिक स्टेट समूहको स्थायी पराजय सुनिश्चित गर्न’ आयोजना गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
‘असदको पतनपछि दमास्कसमा दूतावासहरू खोल्ने पहिलो देश टर्कीए र कतारलेभन्दा सिरियाको नयाँ प्रशासनप्रति साउदी अरब बढी सतर्क दृष्टिकोण राख्ने मुलक हो’ बर्मिंघम विश्वविद्यालयका साउदी राजनीतिका विशेषज्ञ उमर करिमले भन्नुभयो ।
‘रियादले सिरियाका नयाँ नेताहरूसँग ‘सकारात्मक दृष्टिकोण’ लिइरहेको छ र उनीहरूले स्थिरता ल्याउन सक्छन् कि सक्दैनन् वा ‘उनीहरूका समूहका अतिवादी तत्वलाई नियन्त्रण गर्न सक्छन् कि सक्दैनन्’, भन्ने हेरिरहेको छ’ करिमले भन्नुभयो । शराले नेतृत्व गरेको समूह हयात तहरीर अल–शाम अल–कायदाको सिरियाली शाखाका रूपमा चिनिन्छ, यद्यपि, उसले वर्षौंअघि यो सम्बन्ध तोडेर आफ्नो छविलाई नरम बनाउने प्रयास गरेको छ ।
आइतबारको भेलाले रियादलाई नयाँ सिरियाली सरकारसँग आफ्नो प्रभाव बढाउने र टर्की र कतारको बढी प्रभुत्व रहेको देशमा बढी प्रभाव जमाउने अवसर प्रदान गरेको जेकब्सले बताउनुभयो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल