
जनकपुरधाम । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत बागमती मनुस्मारा झाँझ सिँचाइ व्यवस्थापन कार्यालय कर्मेया, सर्लाहीको स्वामित्वमा रहेको सात कट्ठा सरकारी जमिन अतिक्रमणको चपेटामा परेको छ ।
स्थानीय हरिनारायण झाका छोराहरुले त्यो जग्गा आफ्नो रहेको दाबी गरेपछि सो कार्यालयले जमिनको सुरक्षाको माग गरेको हो । सर्लाहीको साविक गाविस सुन्दरपुर चौहडवा–८ हाल बरहथवा नगरपालिका–१३ स्थित किता नम्बर १८५ र १८८ को सात कट्ठा जमिनमा स्व झाका छोरा गङ्गाधर झा, प्रमोद झा, चन्द्रमोहन झा, चन्द्रवंशी झा र राजवंशी झाले आफ्नो भनी दाबी गरिरहेकोले बिवाद उत्पन्न भएको कार्यालय प्रमुख रामदुलारी शरण भगतले जानकारी दिनुभएको छ।
उनीहरुले त्यो जमिनमा दाबी गरेपछि अख्तियार दुरुपयोग आयोगको कार्यालय बर्दिबास तथा जिल्ला प्रशासन कार्यालय सर्लाही मलगङ्वामा सिँचाइ व्यवस्थापन कार्यालयले आफ्नो प्रमाण तथा दाबीसहित सुरक्षाका लागि लिखित निवेदन पेस गरेको उहाँले उल्लेख गर्नुभयो ।
३ करोड रुपैयाँ मूल्य बराबरको सो जमिन विसं २०४० मा मन्त्रालयले सिँचाइ कार्यका लागि मुआब्जा वितरण गरेर अधिग्रहण गरेको थियो । जमिनको मूल्य बढेपछि ४० वर्षपछि त्यो जमिनमा विवाद शुरु भएको स्थानीय बताउँछन् ।
्विसं २०४० अगाडि स्थानीय जमिन धनीहरुलाई मुआब्जा दिएर जग्गा अधिग्रहण गरिएको थियो । त्यसमा स्थानीय धेरैले आआफ्नो जमिन सिँचाइ कार्यालयको पूर्वाधार निर्माणका लागि बिक्री गरेर मुआब्जा लिएका थिए ।
त्यही क्रममा स्व हरिनारायण झाले पनि बिक्री गरेका कार्यालय प्रमुख भगतले बताउँदै विसं २०५० मा बागमती नदीमा आएको बाढीले त्यो कार्यालयका सम्पूर्ण कागजात नष्ट भएको जानकारी दिनुभयो । मालपोत कार्यालय बरहथवामा त्यो किता नम्बरको जमिनको स्रेस्ता पाना च्यातिएकाले स्व झाका छोराहरुले जमिन आफ्नो भनी दाबी गरेका कार्यालयका कर्मचारीहरुले बताएका छन् ।
विवाद समाधानका लागि नापी कार्यालय बरहथवाको नापी टोली, सशस्त्र प्रहरी र नेपाल प्रहरीका साथै स्थानीय जनताको भेलाले सो जमिनका सम्बन्धमा मुचुल्का तयार गरिएको छ ।
त्यस क्रममा एक सयबढी स्थानीय, जल उपभोक्ता र सिँचाइका पुराना कर्मचारीको उपस्थिति थियो । मुचुल्का तयार गर्ने क्रममा उपस्थितले त्यो जमिन सिँचाइ कार्यालयको रहेको लिखितपत्रमा हस्ताक्षर गरेका प्राप्त विवरण निवेदनमा जनाइएको प्रमुख भगतले जानकारी दिनुभयो ।
अधिग्रहण भएको जमिनमा निर्मित जस्तापाताको छानाले छाएको दुईतले इँटा लगाएको जीर्ण पक्की घर र गार्डकोठा प्रमाणका रुपमा रहेका जनाइएको छ । स्व झाका छोराहरुले उच्च अदालत जनकपुरमा आफ्नो जमिन भएको दाबी गर्दै मुद्दा दायर गरेका छन् । साथै मालपोत कार्यालय बरहथवामा पनि आफ्नो हो भनि निवेदन दिएको मालपोत कार्यालयले जनाएको छ ।
सिँचाइ आयोजनाको निर्माण २०३९ र ४० देखि शुरु भई २०४ र ४५ मा कार्यान्वयनमा आएको थियो । कार्यालयअन्तर्गत हीरापुर व्यारेज मनुस्मारा सिँचाइ प्रणाली प्रथमबाट दुई हजार आठ सय हेक्टर तथा मानपुर व्यारेज मनुस्मारा सिँचाइ प्रणाली दोस्रोबाट ३ हजार २ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याइँदै आइएको कार्यालय प्रमुख भगतले जानकारी दिनुभएको छ।
उहाँका अनुसार त्यो सिँचाइ आयोजनाबाट छ हजार सात सय परिवारका ५० हजार जनता लाभान्वित भएका छन् । आयोजनाको निर्माणले हाल ४० हजार दुई सय ४४ मेट्रिकटन खाद्यान्न उत्पादन शुरु भएको भगतले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक