+

नापतौलमा ठग्ने १७ सय व्यवसायीलाई कारबाही

जनकपुरधाम । मधेश प्रदेशमा नापतौलमा अनियमितता गरी ठगी गर्ने १ हजार ७ सय १७ व्यवसायी कारबाही र जरिवानामा परेका छन् । 

गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले तोकिएको मापदण्ड विपरीत जथाभावी ढक र तराजुको प्रयोग गर्ने तथा नापतौलमा  ठगी  व्यवसायीलाई कारबाही र जरिवानासमेत गरेको हो ।

कार्यालयले गत आर्थिक वर्ष २०८०र८१मा एकल एवम् संयुक्त अनुगमन गर्दा कैफियत पाइएपछि कारबाही गरेको जनाएको छ । धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली तथा  रामेछापमा गरी कूल पाँच जिल्ला कार्यक्षेत्र रहेको त्यो कार्यालयले गत आर्थिक वर्षमा उक्त कारबाही गरेको कार्यालय प्रमुख मुकुन्द चौहानले जानकारी दिनुभयो ।

त्यस अवधिमा कार्यालयले व्यावसायिक कारोवार गर्न ४ सय ४५ जना व्यवसायीलाई नयाँ नापतौलसम्बन्धी अनुमतिपत्र प्रदान गरेको छ ।

कार्यालयबाट प्राप्त विवरणअनुसार गत आर्थिक वर्षमा २ हजार ३ सय ६८ व्यवसायीको नापतौल यन्त्रको जाँच गरेको, १३ जना व्यवसायीलाई नापतौल यन्त्रसम्बन्धी (ढक र काँटा बिक्री) इजाजतपत्र प्रदान गरेको, एक सय ४० पेट्रोलियम पदार्थ बिक्री गर्ने पम्पको जाँच तथा चार सय ९४ पेट्रोलियम पम्पको नोजल जाँच गरेको कार्यालयका सूचना अधिकारी मनोजकुमार साहले जानकारी दिनुभयो ।

कार्यालयले सो अवधिमा एक सय १६ बेलिब्रिजको  जाँच गरेको, १७ पटक डोर सञ्चालन गरेको, एकल अनुगमन ७२ पटक, एकल अनुगमन (फार्म सङ्ख्या) चार सय ६५, संयुक्त अनुगमन १३ पटक तथा संयुक्त अनुगमन (फार्म सङ्ख्या)  एक सय नौ वटा भएको सूचना अधिकारी साहले बताउनुभयो । 

कारवाही र नापतौल यन्त्रको इजाजतपत्र प्रदान तथा नविकरण बापत् कार्यालयले  ४० लाख ६७ हजार दुई सय ४२ राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षमा त्यो कार्यालयको वित्तिय प्रगति ८२ प्रतिशत तथा भौतिक प्रगति ९४ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट