
बझाङ । सामाजिक सञ्जालको देखासिकीमा चिनजान । कलिलैमा विवाह । त्यसपछि श्रीमान्को दिनचर्या मदिरामा । बिरामीले थला परेकी दुईजीउकी श्रीमती धामीको शरणमा । स्वास्थ्यचौकी पुग्दा बच्चा मर्नु, परिवार तथा गाउँलेको रुवावासी र पछुतो ।
बालविवाहमा परेकी बालिकाले खेप्नुपरेको दुःख र भोग्नुपरेको पीडा समेटेर खप्तड छेडेदह गाउँपालिका–१ काँडा वडा कार्यालयमा प्रदर्शन गरिएको सडक नाटक हेरेका स्थानीयका आँखा रसाए । बालविवाहलाई मलजल गरिरहेको सामाजिक सञ्जाल र मदिरा सेवनबारे कलात्मक रूपमा प्रस्तुत गरिएको थियो । नाटकमा सानै उमेरमा गर्भवती भएर बच्चा जन्माउनु, पढाइ छाड्नु, पारिवारिक बेमेलले तहसनहस भइरहेको परिवारमा विवश किशोरीले भोगेका सास्ती देखाइयो ।
नाटकमा श्रीमतीको भूमिका निर्वाह गर्नुभएकी जानकी रावलको बालविवाहले पढाइ छुटेको, घरमा खाना पकाउन नजानेर घरपरिवारले गालीगलौज गर्दै हेला गरेको, सानैमा गर्भवती बनेर बच्चा जन्माउन नसकेर बच्चा खसेको, अत्यधिक रक्तश्राव भएर मृत्युको मुखमा पुगेको घटनाले बालविवाह गर्न बाध्य किशोरकिशोरीको चित्र नाटकमा उतार्दा आँसु नरोकिएको स्थानीय रमिला रोकायाले बताउनुभयो ।
नाटकमा देखाएकै कुरा धेरैका जीवनमा मेल खाएको उहाँले बताउनुभयो । काँडामा उच्च रहेको बालविवाह न्यूनीकरणका लागि यो नाटकले धेरै नै सहयोग पुग्ने रमिलाले विश्वास व्यक्त गर्नुभयो । दुर्गा भवानी आधारभूत विद्यालयकी शिक्षिका यशोदा रावलले गाउँमा भइरहेको बालविवाहलाई न्यूनीकरण गर्न सबैलाई जानकारीस्वरुप तिज कार्यक्रममा मौका छोपेर नाटक प्रदर्शन गरेको बताउनुभयो ।
एघारजना बालिकाले बेहुला, बेहुली, बेहुलाका आमा बुबा, धामी, पुरोहित, डाक्टर, छिमेकी, मदिरा पसले भएर अभिनय गरेका थिए । ‘हरेक गाउँमा आफ्नै उमेरका केटमकेटीले पनि विवाह गरेर अलपत्र परेका देखिन्छन्’ कक्षा ८ मा अध्ययनरत बालिका जानकी रावलले भन्नुभयो– ‘बालविवाह गरेर सानै उमेरमा बच्चा पाउँदा दुवैको ज्यान गएका घटना पनि छन् । त्यसैले उमेर नपुग्दै विवाह नगरुन् भनेर नाटक देखाएका हौँ ।’ यसले वडावासी केही सचेत हुनेछन् भन्ने विश्वास लिएको उहाँले बताउनुभयो ।
नाटकको सन्देशले तीज कार्यक्रममा घेरिएका महिला–पुरुष निकै सोचमग्न भएका थिए । नाटक हेरिरहनुभएका स्थानीय सचिन रोकायाले भन्नुभयो– ‘यहाँ बालविवाह भन्ने कुनै मतलब हुँदैन । तर, त्यसको असर भने घरपिच्छे देखिन थालेको छ, धेरैले भोगिरहेका पनि छन् ।’
पहिले बुबाआमाले बिहे गराइदिने गरेका थिए भने आजभोलि आफैँ फोन गरेर बिहे गर्न थालेको सचिनले बताउनुभयो । ‘नयाँ पिँढीमा नयाँ कुरा सिक्नुपर्नेमा मोबाइल फोन तथा फेसबुकले धेरै बिगारेका छन्’ उहाँले भन्नुभयो– ‘विभिन्न गाउँमा १२ पास गरेर बिहे गर्ने धेरै कम छन् । एसइई पुग्दानपुग्दै बिहेवारी गर्ने र पछि हिंसाको सिकार भइरहेका छन् । अहिले यो रोक्न हामी सबै लागिपरेका छौँ ।’ यस्तो अवस्था कम होस् भन्नका लागि नानीहरूले गरेको नाटक निकै सन्देशमूलक रहेको उहाँले बताउनुभयो ।
काँडामा बालविवाह धेरै नै भएको हुँदा त्यसलाई रोक्न सरकारी निकायमात्रै नभई विभिन्न सङ्घसंस्थाले पनि काम गरिरहेका छन् । वडाध्यक्ष वीरबहादुर रावलले भन्नुभयो– ‘बालविवाह रोक्न सबैजना आ–आफ्नो ठाउँबाट लाग्नुपर्छ । हामीले कहिले छुट्टै त कहिले सङ्घसंस्थासँगको समन्वयमा गाउँगाउँमा सचेतनामूलक कार्यक्रम गर्दै आएका छौँ ।’ केही हदसम्म कम भएको उहाँले बताउनुभयो ।
तीज प्रतियोगितामा साविकको काँडा गाविसका सबै वडाबाट महिलाले संस्कृति जोगाउन नृत्य प्रदर्शन गर्नुभएको थियो । वडा कार्यालय र गरिमा परियोजनाद्वारा सञ्चालित ग्रीन तारा नेपालको सहयोगमा तीज प्रतियोगिता गरिएको ग्रीन ताराकी सामाजिक परिचालक मनिता सुनारले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सिद्धार्थ राजमार्ग सुचारु, पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी