+

दक्षिण एशियाका साझा समस्याबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले दक्षिण एशियामा देखा परिरहेका जलवायु परिवर्तनको असर लगायत विविध साझा समस्याको अनुसन्धान गरी समाधानका उपाय सुझाउन प्राज्ञहरुलाई आग्रह गर्नुभएको छ । 

भारतको औपचारिक भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री राणाले  दक्षिण एसियाली विश्वविद्यालयका प्राज्ञहरुलाई यस्तो आग्रह गर्नुभएको हो । आज नयाँ दिल्लीमा परराष्ट्रमन्त्री राणासँग शिष्टाचार भेटवार्ता गर्न पुग्नुभएका दक्षिण एशियाली विश्वविद्यालयका अध्यक्ष प्राध्यापक केके अग्रवालसँग उहाँले संयुक्त रुपमा अनुसन्धान गरी समस्या समाधानका उपाय सुझाउन आग्रह गर्नुभएको हो ।

अध्यक्ष अग्रवालसहितको टोलीसँग मन्त्री डा राणाले भन्नुभयो– ‘जलवायु परिवर्तन अहिले यस क्षेत्रको प्रमुख समस्या भएको छ । दक्षिण एसियाली क्षेत्रका अन्य कैयौँ साझा समस्या छन् । ती समस्याको समाधान गर्न यस विश्वविद्यालयका अनुसन्धानदाता एवं प्राज्ञले संयुक्त रुपमा अनुसन्धान गरी समाधानका उपाय सुझाउँदा प्रभावकारी कार्यान्वयनमा सहजता हुनेछ ।’

भेटवार्तामा विश्वविद्यालयका अध्यक्ष प्रा अग्रवालले विश्वविद्यालयका क्रियाकलाप बारे जानकारी गराउँदै यसअन्तर्गत नेपालमा क्याम्पस स्थापना गर्न प्रस्ताव गर्नुभयो ।  विश्वविद्यालय दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन, सार्कका सदस्य राष्ट्रहरुको सहभागितामा सञ्चालित छ । सार्क सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरु यो विश्वाविद्यालयको पदेन चान्सलर रहने व्यवस्था छ ।  

नयाँ दिल्ली पुग्नुभएकी परराष्ट्रमन्त्री डा राणाले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्नाका साथै विदेशमन्त्री एस जयशङ्करसँग द्विपक्षीय वार्ता गर्नुभएको थियो । मन्त्री डा राणासँग भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख डा विजय चौथाइवालेले पनि भेटवार्ता गर्नुभएको छ ।

भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुग्नुभएकी परराष्ट्रमन्त्री डा राणा आज  स्वदेश फकँदै हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट