
बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झीं गाउँमा आयातित मदिरालाई निषेध गरिएको छ । युवा कुलतमा फस्ने र धनराशि गाउँबाट बाहिर जाने समस्यालाई हटाउन गाउँभेलाबाट झीं गाउँमा आयातित मदिरा बिक्री वितरणमा रोक लगाइएको हो ।
विसं २०७९ मङ्सिर १६ गते झीं गाउँमा जनप्रतिनिधि, आमा समूह, युवा क्लब, सङ्घसंस्था, स्थानीय व्यवसायीलगायत सरोकारवालाहरुको भेलाले सर्वसम्मत रुपमा आयातित मदिरालाई पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार गाउँमा रहेका सबै होटल तथा पसलले सहरबाट मदिरा गाउँमा लैजान बन्द गरेका छन् । परीक्षणका रुपमा एक वर्षअघि देखि लागू गरिएको उक्त नियमका कारण गाउँमा मदिरा भित्रिएर बाहिरिने लाखौँ रुपैयाँ जोगिएको स्थानीयवासी बताउँछन् ।
विभिन्न कम्पनीका रक्सी र बियर गाउँमा भित्रँदा युवा कुलतमा फस्ने र धनराशिसमेत मासिने भएपछि गाउँमा उक्त नियम बनाइएको रघुगङ्गा गाउँपालिका–५ का वडाअध्यक्ष मनबहादुर शेरमञ्जाले बताउनुभयो । “बाहिरबाट आयात गरिएका कतिपय रक्सीको गुणस्तर नहुँदा धेरै जनालाई विभिन्न रोग पनि लाग्यो, महँगा मदिरा सेवन गर्दा ठूलो धनराशि गाउँबाट बाहिरियो, गाउँमा सामाजिक सुधारअन्तर्गत यो नियम बनाएर लागू गरेको एक वर्षमै यसले धेरै सकारात्मक प्रभाव पारेको छ”, उहाँले भन्नुभयो ।
सबैभन्दा कमजोर आर्थिक अवस्था भएकाहरुले बजारबाट आउने करुवा लगायतका गुणस्तर नभएका मदिराजन्य पेयपदार्थको प्रयोग गर्दा धेरैको स्वास्थ्यमा समेत जटिल रोगहरु लगेपछि स्थानीयवासी मदिरा नियन्त्रणमा सक्रिय भएका थिए । मदिरा सेवन गर्नेहरुलाई गाउँमै स्तरीय घरेलु मदिरा बनाएर सेवन गर्न पाउने सुविधा दिइएको छ ।
मगर समुदायको बाहुल्य बसोबास रहेको झीं गाउँमा करिब ३ सय ४० घरधुरी रहेका छन् । धौलागिरि सेन्चुरी पदमार्गको पहिलो पर्यटकीय गाउँका रुपमा परिचित झीं गाउँमा घरबाससमेत सञ्चालनमा छ । यहाँ आउने पर्यटकहरुलाई स्थानीय कोदो, मकै, जौ, गहुँ लगायतको अन्नबाट परम्परागत विधिबाट बनाइएको मदिराको प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ । यसअघि म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङमा स्थानीय आमा समूहले आयातित मदिराको बिक्री तथा सेवनमा रोक लगाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै मुस्ताङ
- वर्षाका कारण विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन