+

गोकुलेश्वरमा बसपार्क नहुँदा पार्किङको समस्या जटिल बन्दै

  • २ पुष २०८०, सोमवार

दार्चुला। दार्चुलाको दोस्रो मुख्य ठूलो बजार तथा शैल्यशिखर नगरपालिकाको सदरमुकाम गोकुलेश्वरमा बसपार्क नहुँदा पार्किङको समस्या जटिल बन्दै गएको छ । बढ्दो शहरीकरण अनुसार सवारी साधनको चाप बढदै जान थालेपछि अहिले पार्किङका लागि बसपार्क नहुँदा समस्या भएको हो ।

जिल्लाको प्रमुख र एक मात्र प्रवेशद्धार भएको यस बजारमा दिनहु साना ठूला गरी सयौंको संख्यामा सवारी साधन आवतजावत गर्छन् । तर, सवारीसाधन पार्किङका लागि ठाउँ नहुँदा समस्या छ । नगरपालिका भएका स्थानहररुमा नगर क्षेत्रलाई केन्द्रित गरी अनिवार्य रुपमा बसपार्क निर्माण गर्नुपर्ने व्यवस्था भए पनि शैल्यशिखर नगरपालिकाले बसपार्क निमार्ण गर्न नसक्दा सवारी साधनहरु सडकमै पार्किङ गर्नुपर्ने बाध्यता छ ।

सवारी साधनहरु सडकमै पार्किङ गर्दा दुर्घटनामा हुने सम्भवना बृद्धि भएको छ । दिनहुँ तराई तथा काठमाण्डौंका लागि छुट्ने र आउने बसहरु र छोटो दूरीमा सञ्चालन हुने जीप,अटोहरु बसपार्क नहुँदा सडक किनारामा पार्किङ गर्नुपर्ने बाध्यता छ ।  बसपार्क नहुँदा बजारको चोकमै दैनिक दर्जनौं गाडीको लाम हुन्छ । जसले बजारलाई कुरूप त बनाएको छ नै सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै बढाएको छ । साँघुरो सडक छ । बजारका चारैतिर अव्यवस्थित पार्किङ हुन्छ । पैदल हिड्नेलाई पनि समस्या छ । सडकको दायाँ र बायाँ किनारमा जिप, बस र अटोहरू पार्किङ गरिएका हुन्छन् । मानिसलाई हिँड्नै अप्ठ्यारो भएको छ ।

सडकमा बस पार्किङ गर्दा सवारी आवागमनमा समस्या हुने गरेको छ ।गोकुलेश्वरमा स्थानीयले पार्किङको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । सडकमा सवारी साधनले पार्किङ स्थल बनाउँदा यस क्षेत्रका व्यवसायीले मर्कामा परेकाको गुनासो गर्दै आएका छन् ।व्यवसायीको पसल अगाडी नै सवारी साधन रोकिदिनाले व्यवसायमा कमी आएको व्यवसायीकाको गुनासो छ ।  पटक पटक बसपार्क निमार्णका लागि शैल्यशिखर नगरपालिकालाई आग्रह गरेको भएपनि पालिकाले चाँसो नदेखाएको यहाँका स्थानीयको आरोप छ । 

बसपार्क निमार्णको बिषयमा नगरपालिकाले गम्भिरताका साथ लिई गोकुलेश्वर आसपासकै २,३ ठाउँमा बसपार्क निमार्णका लागि जग्गा हरेको र कुन ठाउँ उपयुक्त हुन्छ भन्नेबारेमा अब छिट्टै सरोकारवाला सबैसंग छलफल गरि निमार्ण कार्य अगाडी बढाइने शैल्यशिखर नगरपालिकाका उपप्रमुख शान्ति खडायतले बताउनुभयो ।

गोकुलेश्वरमा सवारीसाधन पार्किङका लागि बसपार्क नहुँदा सवारीसाधन व्यवस्थापनमा निकै समस्या भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्चार्ज एवं प्रहरी निरीक्षक मानसिंह ऐरीले बताउनुभयो ।‘बसपार्क नहुँदा हामीलाई सवारीसाधन व्यवस्थापनमा निकै समस्या भएको छ’, उहाँले भन्नुभयो, ‘सडक किनारमा बस,जीप,अटोहरु रोकेर राखिएको हुन्छ । मानिसलाई हिँड्नै अप्ठ्यारो भएको छ । दुर्घटनाको जोखिम पनि बढेको छ ।’ 

महाकाली राजमार्गसँग जोडिएको यो क्षेत्रमा बसपार्कको उचित व्यवस्थापनको थालनी तत्काल नगर्ने होे भने यसले ठूलो दुर्घटना निम्त्याउने जोखिम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट