
हुम्ला । सिमकोट गाउँपाकिा–४ हिल्दुम गाउँका पूरै किसान यतिबेला तरकारीखेतीमा व्यस्त छन् । करिब ५६ घरधुरी रहेको हिल्दुम गाउँका किसानले केही वर्ष यतादेखि गाउँमै तरकारी राम्रो फलाउँदै आएका छन् ।
शुरुमा गाउँका एक–दुई किसानले प्लास्टिकको घर (ग्रिनहाउस) निर्माण गरी तरकारीखेती गर्दै आएका थिए । पछिल्ला केही वर्षमा पूरै गाउँ नै तरकारी खेतीमा आकर्षित भएर राम्रो उत्पादन गर्दै आएको गुणनेवर इन्टरनेसनलका कृषि प्राविधिक जङ्गबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘अहिले आफ्नो संस्थाले नौजना हिल्दुम गाउँका किसानलाई तरकारीखेतीका लागि प्लास्टिक, हजारी, रबरको पाइप, तरकारीको बीउ सहयोग गरेको छ ।’
हिल्दुम गाउँका किसानलाई विस्तारै तरकारीमा आत्मनिर्भर बनाउनेतर्फ लाग्ने भएको शाहीले बताउनुभयो । व्यावसायिक कृषि अँगालेका किसान मेहनत अनुसारको कमाईबाट सन्तुष्ट छन् । कृषि गर्नेमा अधिकांश पाका उमेरका छन् । बेलाबखत पाइने तालिम, अनुदान र उपकरण सहयोगले पनि किसानलाई तरकारीखेतीमा प्रोत्साहन मिल्ने गरेको शाहीले बताउनुभयो ।
हिल्दुम गाउँमा उत्पादित तरकारी खपत हुने मुख्य बजार सदरमुकाम सिमकोट हो । तरकारीसँगै अन्नबाली, खेत खनजोत, गाईवस्तु, र मौरीपालनमा समेत किसान व्यस्त छन् । तरकारीखेतीबाट आफ्नो परिवारको जीविका चलेको स्थानीय महिला धुनसुब्बा सुनारले बताउनुभयो । तरकारीमा साग, काउली, बन्दा, धनीया लगायत उत्पादन गर्दै आएको सुनारले जानकारी दिनुभयो ।
कृषक सुनारले भन्नुभयो– ‘एक डोको साग र धनियाँ सदरमुकाम सिमकोटमा बिक्री भयो भने एक हजार २ सय रुपैयाँदेखि एक हजार ५ सय रुपैयाँसम्म आम्दानी हुने गर्दछ ।’ दैनिक बिक्री गर्न पाए आम्दानी राम्रो हुने सुनारको भनाइ छ । हप्ताको तीन–चार दिन तरकारी बिक्री गर्न सदरमुकाम सिमकोट पुग्ने गरेको उहाँले बताउनुभयो ।
बालबच्चाको कापीकलमदेखि घरमा नुन, तेल किन्न पुगेको सुनारले बताउनुभयो । तरकारीखेती गर्दा रोग लागेमा स्थानीय प्रविधिबाट औषधि बनाएर रोग नियन्त्रण गर्ने गरेको बताउनुभयो । स्थानीय सकुन्तला शाही पनि कृषि काममा व्यस्त हुनुहुन्छ । उहाँ यतिबेला ग्रिनहाउसमा तरकारी फलाउनमा व्यस्त देखिनुभएको छ । हिउँदको समयमा गाउँमा उत्पादित तरकारीले बजार राम्रो पाउने गरेको कृषक शाहीको भनाइ छ ।
वर्षायाममा सबैले तरकारी खेती गरेर उत्पादन गर्ने हुने हुँदा खपत कम हुने गरेको शाहीले बताउनुभयो । हिउँद याममा आफूजस्ता किसानका लागि आम्दानीको स्रोत राम्रो हुने गरेको उहाँले बताउनुभयो । ‘ सदरमुकाममा लिएर एक मुठा साग र धनियाँको ३० र काउली तथा बन्दाको ४० रुपैयाँमा बिक्री गर्दै आएको’ उहाँको भनाइ छ । एक दिनमा रु दुई हजारसम्म आम्दानी हुने गरेको शाहीले बताउनुभयो ।
हिल्दुम गाउँका किसानले कसैले विभिन्न कृषिसम्बन्धी काम गर्ने सङ्घसंस्थाबाट प्लास्टिकका पाल सहयोग पाएका छन्भने कसैले आफ्नै व्यक्तिगत खर्चमा लगानी गरेर पाल किनेर तरकारीखेती गरेका छन् । गाउँका सबैले यतिबेला आफ्नो घर अगाडि रहेका खेतबारीमा तरकारी फलाउँदै आएका छन् । गाउँमा फलाएको तरकारी बिक्री गर्न सदरमुकाम सिमकोट लैजान ३० मिनेट समय लाग्ने गरेको छ ।
गाउँमा सडकले नछोएको भए पनि डोकोमा बोकेर तरकारी बिक्री गर्न किसान सिमकोट पुग्ने गर्दछन् । युवा पुस्तामा तरकारीखेतीको आकर्षण नदेखिए पनि गाउँमा रहेका उम्मेर छिपिएका महिला तथा पुरुषले यो व्यवसाय गर्दै आएका छन् । गाउँमा सिँचाइ नभए पनि वर्षायाममा यहाँका किसानले आकाशे पानीको भरमा तरकारी फलाउँदै आएका छन् ।
कृषकले हिउँदयाममा भने प्लास्टिकको घर निर्माण गरी तरकारी फलाउँछन् । जिल्लाका अन्य बस्तीमा कमै मात्र किसान तरकारीखेतीमा लागेको पाइन्छ । हिल्दुम गाउँका ५६ घरधुरी सबै तरकारी फलाउँछन् । गाउँमा फलेको साग, धनियाँ, काउली, बन्दाले सदरमुकाम सिमकोटमा राम्रो बजार पाउनाका साथै बिक्री हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह