
चितवन । नारायणगढ–मुग्लिन सडक दैनिक ४ घण्टा सवारी बन्द हुने भएको छ । सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो ।
बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गर्न लागिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी ई कृष्ण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा ३ साताको लागि सडक रोकेर भित्तो काटिने छ ।
गत वर्ष यही ठाउँमा पुल निर्माणका लागि भित्तो काटिएको भए पनि कडा चट्टान भएकाले काम कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो । विस्फोटको अन्तिम तयारी हुँदै गर्दा पुनः एकपटक सडक रोकेर काट्ने तयारी गरिएको हो । शनिबार कुरिनटारमा चितवन, गोरखा र धादिङका प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा बसेको अन्तर जिल्ला बैठकले सडक रोकेर काम गर्ने निर्णय गरेको हो ।
सूचना अधिकारी आचार्यका अनुसार ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको छ । बाँकी ३५ मिटर ‘रक स्पिलटर’ र ‘हाइड्रोलिन ज्याक हेम्भर’ प्रयोग गरेर फोर्ने तयारी गरिएको छ । उहाँले भन्नुभयो, “टनेल, खानीलगायतमा प्रयोग गरिने विधि प्रयोग गरेर अन्तिम प्रयास गर्दैछौँ ।” यसबाट पनि फोर्न नसकिएमा अन्तिम विकल्पका रूपमा विस्फोट गराइने उहाँले जानकारी दिनुभयो ।
सडकका १९ पुलमध्ये ४ पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । अन्य कतिपय निर्माण सम्पन्न भएका छन् भने कतिपय अन्तिम चरणमा छन् । यो पुल भित्तो भत्काउन नसक्दा काम थाल्न सकिएको छैन ।
उहाँका अनुसार काली, नम्सी, रिग्दी, सिमलताल, भोर्ले, खोर, खहरे र जुगेडी पुल दुई महिनाभित्रमा सञ्चालनमा आउनेछन् । उहाँका अनुसार चारवटा एक महिनामै सञ्चालनमा आउँछ । आठवटै पुल सञ्चालनमा ल्याउन दुई महिना लाग्छ । ती पुलको पहुँचमार्ग बनाउने र रङरोगनलगायतका काम भइरहेको छ ।
गत मंसिररमा डुम्रे, चिसेन्जी, तोपे र लामो बालुवाको पुल सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो । थप ८ पुल सञ्चालनमा आएपछि नयाँ बन्दै गरेका १५ पुलमध्ये २ वटा मात्र बन्न बाँकी रहन्छन् । आचार्यका अनुसार खहरेको पुल छ महिनाभित्रमा सञ्चालनमा आउने छ । यसपछि एउटा पुलमात्रै बाँकी रहने छ ।
गतको हिउँदमा सडक रोकेर २ वटा पुल बनाउन ढिस्को भत्काउन थालिएको थियो । सँगै भत्काउन थालिएको चिसेन्जी खोलाको आडको ढिस्को भत्काएर पुलसमेत निर्माण गरिसकिएको छ । यो ठाउँमा ४० मिटर अग्लो ढिस्को भत्काएर पुल बनाइएको हो ।
तुइनखोलाको ढिस्को भत्काउन नसकिएपछि विस्फोटका लागि प्रक्रियागत काम पूरा गर्न समय लागेकाले गत हिउँदमा नै विस्फोट गर्ने गृहकार्य गरिएको भए पनि काममा ढिलाइ भएको थियो । उहाँका अनुसार ढिस्को भत्काउन विस्फोटक पदार्थ ल्याउनका लागि अनुमतिप्राप्त भइसकिएको छ । आयोजनाले विभाग हुँदै गृह मन्त्रालय, रक्षा मन्त्रालय, पुनः गृह मन्त्रालय भएर अन्तिम अनुमति भारतीय राजदूतावासबाट पाएको जनाइएको छ । विस्फोटक पदार्थ ल्याउन केही ढिलाइ हुने भएपछि अन्तिम प्रयासको रूपमा भत्काउने तयारी गरिएको हो ।
२०७६ साल चैत १० गतेबाट पुलको निर्माण थालिएको हो । पुलको लागत एक अर्ब २८ करोड रुपैयाँ छ । पछिल्लो पटक थप गरिएको म्याद पुस १० गते सकिँदैछ । अनक कन्सट्रक्सनले पुलको ठेक्का पाएको थियो । यो राजमार्गलाई एसियाली विकास बैंक ९एडिबी०को सहयोगमा एसियन मापदण्डअनुसार बनाइएको हो । पुल ११ मिटर चौडा छन् ।
सडक विस्तार गरेसँगै ९ देखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रूपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजार भन्दा बढी सवारीसाधन आवतजावत गर्छन् ।
–––
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा
- दिगो विकास कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब आवश्यक
- मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग
- सिंहदरबार आसपास प्रहरीको ब्यारिकेड, सवारी संचालनमा पूर्ण रोक
- अध्यक्षसहितका नेताहरु पक्राउ परेपछि राप्रपाद्वारा आकस्मिक बैठक आव्हान
- राप्रपा अध्यक्ष लिङ्देनसहित शीर्ष नेताहरु सिंहदरबारबाट पक्राउ
- तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किँदा २ जनाको मृत्यु, १४ घाइते
- ‘पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनःराजनीतिमा फर्कन बन्देज छैन’
- एकीकृत समाजवादीले सम्झिँदै सुखानी
- आन्दोलनका कारण सर्वसाधारणलाई सास्ती