+

बिक्न छाडे चोयाका सामान

म्याग्दी । बालाचतुर्दशीका दिन म्याग्दीको गलेश्वरमा बाग्लुङको काठेखोला–४ तङग्रामबाट डाला नाङ्ला बोकेर गलेश्वर आउनुभएकी अमृता पुन ल्याएका सामग्री नबिकेपछि चिन्तित हुनुभएको छ । 

पुन मात्रै होइन, बागलुङकै बडिगाड गाउँपालिकाका धनबहादुर बूढा, तनहुँको बन्दीपुर गाउँपालिका–५ की तिलिमाया भुजेल र बागलुङको अमलाचौरका टेकनाथ चापागाइँले पनि आफूले ल्याएका सामान बिक्री नभएपछि सामान बोकेर गाउँ फर्किनुभयो ।

म्याग्दीको गलेश्वरमा शतबीज छर्न र दर्शन गर्न आएका भक्तजनलाई नाङ्लो, डालो र ठेकाठेकी बिक्री गर्ने उद्देश्यले उहाँहरु हस्तकलाका सामग्री बोकेर गलेश्वर आउनुभएको थियो । विगत एकदशक अघिसम्म बालाचतुर्दशीमा  लाग्ने गलेश्वर मेलामा डाला, नाङ्ला, ठेकाठेकी, भकारी र थुन्सेको व्यापार खुब हुने गर्दथ्यो । तर पछिल्लो समय सस्तो मूल्यमा पाइने प्लास्टिक र स्टिलका सामानको प्रयोग बढ्दै गएपछि बाँस र निगालोबाट बनाइएका सामानको बिक्री घट्दै गएको हस्तकला सामग्रीका व्यापारी अमृता पुनले बताउनुभयो ।

‘हस्तकलाका सामग्री बनाइ बिक्री गरेरै जीविका चलाउँदै आएका थियौंँ’ उहाँले भन्नुभयो– ‘कोरोना महामारीमा व्यापार घट्यो, गुजारा चलाउन गाह्रो भयो ।’ अहिले निगालो र बाँसको चोयाबाट बनाइएका डालो, नाङ्लो, थुन्से, भकारी, मान्द्रो आरीलगायत सामान बिक्री हुन छाडेका पुनले बताउनुभयो । उहाँले हरेक वर्ष बालाचतुर्दशी पर्वमा म्याग्दीको गलेश्वर, माघेसङ्क्रान्तिमा गुल्मीको रिडी र चैतेदसैँमा बागलुङमा पुगेर नाङ्लो, डालो र हस्तकलाका सामग्री बिक्री गर्दै आएको बताउनुभयो । 

पुनका अनुसार एक पाथी जाने डाला ३ सय रुपैयाँदेखि ६ सय, दुई पाथीभन्दा बढी अन्न अट्ने डालो ६ सय रुपैयाँदेखि  एक हजार सयसम्म तथा नाङ्लो ६ सय रुपैयाँमा बिक्री हुँदैआएको छ । बाँस र निगालोबाट बनाइएका नाङ्लो, डालो र पाथी बिक्री हुन छाडेको अर्का व्यापारी अमानबहादुर विकले बताउनुभयो । युवा जनशक्ति विदेश पलायन हुने र सीप हस्तान्तरण नहुँदा पुख्र्यौली पेशा लोप हुने अवस्थामा पुगेको उहाँको भनाई छ ।

बाँसको चोयाबाट बुनेर गोलाकार रूपमा बिट राखी बनाइने नाङ्लो ठूलो थालजस्तै आकारको हुन्छ । यसमा अन्न निफन्ने ९केलाउने० गरिन्छ । बाँस र निगालोको चोयाको सहायताबाट बुनिने फराकिलो मुख भएको गहिरो भाँडो डालो हो । यसमा पनि अन्नपात राख्ने गरिन्छ । गाउँघरमा नाङ्लो र डालोको प्रयोग गर्ने चलन धेरै भए पनि अहिले यी सामानको प्रयोगमा कमी आउन थालेको छ ।

विकास र प्रविधिको पहुँचसँगै संरक्षणमा चासो नदिँदा म्याग्दीका ग्रामीण भेगबाट रैथानै सीप र प्रविधिको प्रयोग गरी निर्माण गरिएका यस्ता सामग्री र यीसँग सम्बन्धित मौलिक सम्पदा लोपहुँदै गएका छन् । एक दशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा अत्यधिकरुपमा प्रयोग हुने गरेका यस्ता हस्तकलाका सामग्रीलगायत, ढिँकी, जाँतो र पानीघट्ट पनि अहिले लोप हुँदै गएका छन् । 

ढिँकी, जाँतो र पानीघट्ट अन्न कुट्ने र पिस्ने परम्परागत प्रविधि हुन् । गाउँ–गाउँमा पानी तथा बिजुलीमार्फत सञ्चालन हुने मिल पुगेपछि यस्ता प्रविधि पनि लोपहुँदै गएका बेनी नगरपालिका– २ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट