
काठमाडौँ । सहिद सप्ताहअन्तर्गत आज छैटौँ दिन सहिद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । काठमाडौँ महानगरपालिकाले आज सहिद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गर्नुभएको स्थान विष्णुमती नदी किनारा शोभा भगवतीमा स्मृतिसभा गरी उहाँहरुलाई स्मरण गरेको हो ।
स्मृति सभामा कामपाका उपप्रमुख सुनिता डङ्गोलले सहिदहरुको योगदानको गाथा पुस्तान्तरण गर्नुपर्ने धारणा राख्नुभयो । “आज हामीलाई स्वतन्त्र बनाउन उहाँहरुले दिनुभएको प्राणको आहूति नयाँ पुस्तालाई बुझाउनुपर्छ”, उहाँले भन्नुभयो ।
आमनागरिकको स्वतन्त्रताका लागि सम्पूर्ण सहिदहरुले गर्नुभएको त्यागबाट प्राप्त उपलब्धिहरु हामीले कसरी पाएका छौँ । यस्ता कुरा हामी जनप्रतिनिधिले स्वमूल्याङ्कन गर्ने बेला आएको छ”, कामपा–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले भन्नुभयो ।
हुकुमी शासनको विरुद्धमा काम गरेको, जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा विसं १९९७ माघ १५ गते दशरथचन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनारा शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो । तत्कालिन समयमा एकअर्काले देख्ने गरेर गोली हानेर कायल गराउन खोजिएको थियो । ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रका लागि गोली खान तयार भएका उहाँहरुलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो । त्यति गर्दा पनि हार नमानेपछि ज्यान जाने गरी गोली हानेर मृत्युदण्ड दिइएको थियो ।
बैतडीमा जन्मिनुभएका दशरथ चन्दले, भारतमा माहात्मा गान्धीले सुरु गर्नुभएको सत्याग्रहमा पनि सक्रियतापूर्वक भाग लिनुभएको थियो । रामेछापको भङ्गेरीमा जन्मिनुभएका गङ्गालाल श्रेष्ठले त्रिचन्द्र कलेज पढ्दै गर्दा राणा शासन विरोधी आन्दोलनमा सहभागिता जनाउनुभएको थियो ।
श्रेष्ठ र चन्दलाई मृत्युदण्ड दिइएको स्थानमा स्तम्भ, अर्धकद र पूर्ण कदका सालिक राखिएका छन् । तत्कालीन काठमाडौँ नगर पञ्चायतले विसं २०३६ माघ १५ गते शिलान्यास गरेर विसं २०३७ माघ १७ गते उक्त स्तम्भ अनावरण गरेको थियो ।
कामपाले २०७६ सालमा दुवै सहिदको पूर्ण कदका सालिक राखेको छ । राष्ट्रको स्वाधिनता र नेपाली जनताको स्वतन्त्रताका लागि एक सय चार वर्षको हुकुमी शासन र तत्कालिन शासकलाई चुनौती दिँदै उहाँहरुले स्वीकार गर्नुभएको मृत्युदण्डलाई चिरस्मरणमा राख्न र पुस्तालाई इतिहासका बारेमा जानकारी दिइराख्न कामपाले सदाहत प्राप्त गरेको स्थानमा सालिक बनाएर संरक्षण गरिरहेको छ ।
माघ १० अर्थात पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गर्नुभएको स्थान टेकुको पचलीमा, १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिइएको स्थान सिफलमा स्थापना गरिएको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै स्मृतिसभा सम्पन्न भइसकेको छ ।
सहिद सप्ताहको अन्तिम दिन भोलि बिहान ८ बजे रत्नपार्क शान्तिबाटिकाबाट प्रभातफेरी हुनेछ भने ९ बजे सहिद स्मारक लैनचौर स्मृतिसभा हुनेछ । सभामा प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारी सहभागी हुने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध