
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आजदेखि परीक्षासम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत दिन सुरु गरेको छ । विद्यार्थीले परीक्षाका प्रमाणपत्र लिनका लागि घरबाटै आवेदन गर्नसक्ने भएका छन् ।
त्रिभुवन विश्वविद्यालयले स्थापनाको ७४औँ वर्षमा पहिलो पटक अनलाइन सेवामा प्रवेश गरेको हो । विश्वविद्यालयका कार्यवाहक उपकुलति शिवलाल भुसालले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्प्युटरमा क्लिक गरी सेवाको शुभारम्भ गर्नुभएको थियो । उद्घाटनपछि उहाँले परीक्षाका सबै कार्यलाई अनलाइनमार्फत गर्ने विश्वविद्यालयको अभियान आज सुरु भएको र यो सफलतामा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यसअघि प्रमाणपत्र प्राप्त गर्न बल्खुस्थित कार्यालयमा नै गएर आवेदन दिनुपर्ने व्यवस्था थियो । अनलाइन सेवा प्रारम्भ भएपछि विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, मूल प्रमाणपत्र, पुनर्योग र प्रमाणपत्र सच्याउनेजस्ता कार्यका लाग घरैबाट अनलाइन निवेदन दिन सक्नेछन् ।
सोका लागि विद्यार्थीले आफ्नै कम्प्युटरबाट tuexam.edu.np मा लग इन गरी तोकिएको प्रमाण संलग्न गर्ने र नेपाल बैंक वा ग्लोबल आइएमइ बैंकमा तोकिएअनुसारको शुल्क तिरेर निवेदन दिनसक्ने जानकारी कार्यक्रममा दिइयो । चौबिसैँ घन्टा चल्ने सो प्रणालीमा निवेदन दिएपछि विद्यार्थीको उक्त निवेदन स्वीकृत वा अस्वीकृत भएको जानकारी कार्यालय समयभित्र विद्यार्थीले पाउनेछन् । उहाँका अनुसार अस्वीकृत भएमा त्यसको कारणसमेत खुलाइ सच्याएर वा नपुग विवरण राखेर पुनःआवेदन गर्नसमेत विद्यार्थीलाई आग्रह गरिनेछ ।
यसरी दिइएको निवेदनमा सबै प्रमाण पुगेको वा मिलेको छ भने निवेदन दिएको एक साताभित्र प्रमाणपत्र तयार हुने छ । यसरी तयार भएको प्रमाणपत्र लिन सम्बन्धित परीक्षार्थी उपत्यकाको हकमा परीक्षा नियन्त्रण कार्यालय बल्खुमै जानुपर्नेछ । उपत्यका बाहिरका विद्यार्थीले भने प्रमाणपत्र लिनका लागि सम्बन्धित क्षेत्रीय शिक्षा निर्देशनालय जानुपर्ने हुन्छ ।
त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार परीक्षाका जुनसुकै कामका लागि पनि बल्खु नै जानुपर्ने अवस्थाको अन्त्य गरी समयअनुसार त्रिविका शैक्षिक क्यालेन्डरलाई व्यवस्थित गर्न अनलाइन सेवा सुरु गरिएको हो । आगामी दिनमा प्रमाणपत्र वितरणलगायत सबै कार्य अनलाइनमै गर्ने गरी तयारी भइरहेको पनि परीक्षा नियन्त्रक जोशीले जानकारी दिनुभयो ।
कार्यालयले अबको करिब एक महिना अनलाइन र आफैँ बल्खु आएर निवेदन दिनेगरी दुईवटै प्रणाली राखिने जानकारी पनि उहाँले दिनुभयो । अनलाइन सेवा चलाउनका लागि अझै पनि कार्यलयले दक्ष र पर्याप्त जनशक्तिको अभाव भोग्नुपरेकोसमेत उहाँले बताउनुभयो । दोस्रो चरणदेखि यस्ता प्रमाणपत्र सम्बन्धित क्याम्पसबाट विद्यार्थीले पाउने जानकारी कार्यक्रममा दिइयो । “फागुन १ गतेदेखि यसलाई पूर्णतः अनलाइन प्रणालीमा लगिनेछ”, उहाँले भन्नुभयो ।
अनलाइन सेवामा २०५४ सालपछिका प्रमाणपत्रको काममात्र समेट्ने जानकारी परीक्षा नियन्त्रक जोशीले दिनुभयो । त्यसभन्दाअघिका प्रमाणपत्र कम्प्युटर अभिलेखमा नरहेका कारण त्यसअघि परीक्षा दिएकाहरुले प्रमाणपत्रसम्बन्धी सेवा लिन बल्खु नै पुग्नुपर्ने उहाँले जानकारी दिनुभयो । यद्यपि यस्ता सेवाग्राही अत्यन्त थोरै सङ्ख्या महिनामा एक÷दुई जना आउने गरेको उहाँले बताउनुभयो ।
परीक्षा सुधारको मागसहित आन्दोलनरत त्रिविका विद्यार्थी नेताले त्रिविको यस कार्यलाई सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । रासससँग कुरा गर्दै त्रिवि स्ववियुका उपसभापति अनोज कार्कीले आफूहरुको १० सूत्रीय मागमध्येको एउटा महत्वपूर्ण माग पूरा भएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध