+

ओखलढुङ्गामा आगलागीका घाइते बोकेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

खोटाङ । ओखलढुङ्गामा आगलागीका घाइते बोकेको जीप दुर्घटना एकै परिवारका ३ जनाको मृत्यु भएको छ । दिक्तेलबाट आगलागीका घाइते लिएर काठमाडौँ जाँदै गरेको सुमो जीप ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलस्थित भँडारेखोलामा दुर्घटना हुँदा ३ जनाको जीवन गुमेको हो । 


केपिलासगढी गाउँपालिका–३ बास्पानीकी ५६ वर्षीया माया गुरुङ, उहाँका छोरा २८ वर्षीय पुजन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा निवासी मायाकी बहिनी ४५ वर्षीया तारा गुरुङ गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय खोटाङले दिएको जानकारीअनुसार पूर्व खोटाङ यातायात प्रालिको ना १ ज ६४२१ नम्बरको सुमो दिक्तेलबाट बुधबार साँझ करिब ७ः३० बिरामी लिएर काठमाडौँ हिँडेको थियो । आगलागीमा परी गम्भीर घाइते हुनुभएकी माया गुरुङलाई लिएर काठमाडौँ जाँदै गरेको सुमो बुधबारराति दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । 

मध्यपहाडी लोकमार्गमा पर्ने भँडारेखोलामा आज बिहान करिब ६ः३० बजेको समयमा सुमो दुर्घटनाग्रस्त अवस्थामा स्थानीयले देखेपछि ट्राफिक प्रहरी कार्यालय हर्कपुरलाई जनकारी दिएका थिए । सुमो चालक सुनसरी जिल्ला इनरुवा नगरपालिका निवासी २२ वर्षीय अनिल पण्डित भने भेटिएका छैनन् । उनी फरार रहेको हुनसक्ने प्रहरीको अनुमान छ । 

सुमोमा चालकसहित चारजना मात्रै सवार रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिनुभयो । ‘सुमो दुर्घटनाका बारेमा आज बिहानमात्र जानकारी प्राप्त भयो । घटनाको बारेमा थप अनुसन्धान गर्न जिल्लाबाट प्रहरी टोली परिचालन गरिएको छ’ उहाँले भन्नुभयो, चालक भेटिएका छैनन् । दुर्घटनाको कारण खुल्न सकेको छैन ।’

उपचारमा पठाइएका बिरामीसहित एकै परिवारका तीनैजनाको मृत्यु भएको खबरले आफन्त तथा गाउँले शोकमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै