
पर्सा । वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरी बसेका तरकारी, फलफूल तथा कपडा व्यापारीलाई स्थानान्तरणका लागि दुई विकल्प दिएको छ ।
महानगरले दोस्रो पटक सार्वजनिक सूचना जारी गरेर उद्यान परिसरमा रहेका अस्थायी घर–टहरा, तरकारी तथा फलफूलको बजार हटाउनका लागि विकल्प प्रस्ताव गरेको हो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले बिपी उद्यान संरक्षण गर्दै व्यापारीलाई व्यवस्थित गर्न लागिएको बताउनुभयो । ‘उद्यान परिसरमा व्यापार तथा व्यवसाय गर्दै आएका फलफूल तथा तरकारी व्यापारीलाई वडा नम्बर १६ नगवास्थित कृषि बजारमा राख्ने व्यवस्था मिलाएका छौँ’ उहाँले भन्नुभयो– ‘दोस्रो विकल्पमा वडा नम्बर २ छपकैयाँमा ३२ कठ्ठा क्षेत्रफलमा सेड तयार पार्ने काम भइरहेको छ ।’
कर्णले सेडमा अत्यावश्यक पूर्वाधार निर्माण पू्रा भएपछि बिपी उद्यान खाली गर्ने अभियानले सार्थकता पाउने बताउनुभयो । ‘अहिले सेड निर्माणसँगै खाल्डाखुल्डी पुर्ने र विद्युत् जडानलगायतका काम भइरहेको छ, सेडको अत्यावश्यक संरचना तयार हुनेबित्तिकै बिपी उद्यान खाली गराउँछौँ’ उहाँले भन्नुभयो ।
महानगरले गत पुस २० गते बिपी उद्यानमा रहेका अस्थायी घरटहरा बनाएर बसेका डोमबस्तीको संरचना भत्काएको थियो । यद्यपि अहिले पनि तरकारी, फलफूल तथा कपडा व्यापार भने त्यहीँ व्यापार गरिरहेका छन् । प्रमुख प्रशासकीय अधिकृत कर्णले बिपी उद्यानका अतिक्रमण गरी निर्माण गरिएका सबै पसल हटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महानगरले यसअघि गत मङ्सिर २६ गते १५ दिने सार्वजनिक सूचना जारी गरी बिपी उद्यानमा राखिएका तरकारी तथा फलफूल बजार हटाउनका लागि निर्देशन दिएको थियो । त्यो म्याद गत पुस १० गते सकिएको थियो । तर, सो अवधिमा तरकारी तथा फलफूल व्यापारीले बिपी उद्यानको ठाउँ खाली गर्न अटेरी गरेपछि महानगरले दोस्रो पटक गत पुस १२ गते सात दिने म्याद राखेर सार्वजनिक सूचना जारी गरेको थियो ।
दोस्रो पटक सार्वजनिक सूचना जारी गर्दा पनि खाली नगरेपछि महानगरले गत पुस २० गते डोजर लगाएर बिपी उद्यान परिसरमा अस्थायी घरटहरा बनाएर बसेका डोम समुदायको टहरा भत्काएको थियो ।
बिपी उद्यान व्यवस्थित गरी पर्यटकीय गन्तव्य बनाउने महानगरको तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश