
भोजपुर । भोजपुरको पौवादुङमा बाह्य पेय पदार्थ बेचबिखनमा रोक लगाइएको छ ।
दोस्रो पौवादुङमा गोल्ड कप र बृहत् माघी मेलामा आयातित खानेकुरा निषेध गरिएको हो । स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने लक्ष्यले आयातित पत्रु खानेकुरामा रोक लगाइएको पौवादुङमा गाउँपालिकाले जनाएको छ ।
मेलामा स्थानीय उत्पादन कोदो, मकै, गहुँ फापर, भुटेको मकै मुन्द्रुक, इस्कुसको तरुल, घर तरुललगायतका परिकार मात्र बिक्री वितरणको लागि खुला गरिएको छ । त्यस्तै बाह्य पेय पदार्थलाई निषेध गरेर स्थानीयस्तरमा पाइने मही, दही, एभोकाडोको जुस, सुन्तलाको जुस मात्र बिक्री वितरण भइरहेको छ ।
प्रतियोगिता तथा माघी मेलामा पत्रु खाना (जङफुड) निषेध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । गाउँपालिकाले पत्रुखानालाई निरुत्साहित गर्ने लक्ष्यका साथ काम गरिरहेकाले यस्ता खालका खानाको बिक्री वितरणमा रोक लगाइएको उहाँको भनाइ छ ।
‘प्रतियोगिता र मेला अवधिभर आयातित खानेकुराको बेचबिखनमा रोक लगाएका छौँ’ उहाँले भन्नुभयो– ‘हामीले स्थानीयस्तरमा पाइने खानेकुरालाई मात्र बिक्री वितरणका लागि अनुमति दिएका छौैँ । यसले स्थानीय उत्पादनको प्रवद्र्धनमा टेवा पुग्ने छ ।’ स्थानीय उत्पादनको प्रवद्र्धन विकास र बजारीकरण गर्ने लक्ष्यले विगतका वर्षबाट नै बृहत् माघी मेलासँगै पौवादुङमा गोल्ड सञ्चालन भइरहेको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो ।
खेल क्षेत्रको विकाससँगै आन्तरिक पर्यटनमा टेवा पु¥याउने लक्ष्यले बृहत् माघी मेलासँगै गोल्ड कपको आयोजना गरिएको उहाँको भनाइ छ । ‘हामीले यहाँका स्थानीय उत्पादनको विकास तथा प्रवद्र्धन जोड दिन आवश्यक छ’ अध्यक्ष राईले भन्नुभयो– ‘मेला महोत्सवमा बाह्य वस्तुले बढी महत्व पाउँदा स्थानीय उत्पादन ओझेलमा परेका धेरै उदाहरण छन् । हामीले भने महोत्सवमा आयातित खानेकुराको बेचबिखनमा रोक लगाएका छौँ ।’
गोल्डकप तथा मेलाको उद्घाटन गर्दै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले गोल्ड कप तथा माघी मेला सञ्चालनले खेल क्षेत्रको विकाससँगै आन्तरिक पर्यटनमा टेवा पुग्ने बताउनुभयो । साथै उहाँले निर्माणाधीन रङ्गशालालाई पूर्णता दिन बजेट व्यावस्थापनमा पहल गर्ने बताउनुभयो । सङ्घीयता कार्यान्वयनपश्चात् विकासले गति लिएको उहाँको भनाइ छ ।
पौवादुङमा गाउँपालिकाले पूर्वमुख्यमन्त्री राईलाई सम्मान गरेको छ । गाउँपालिकाको विकासमा टेवा पुर्याएको भन्दै गाउँपालिकाले सम्मान गरेको हो । त्यस्तै गोल्ड कप तथा माघी मेला सञ्चालनमा आर्थिक सहयोग गर्ने श्याम श्रेष्ठलाई पनि सम्मान गरिएको छ । उहाँले प्रतियोगिता सञ्चालनको लागि १ लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले ३ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने द्वितीय हने टिमले २ लाख रुपैयाँ मेडल र प्रमाणपत्र पाउने पौवादुङमा आयोजक समितिका अध्यक्ष चोलप्रसाद आलेले जानकारी दिनुभयो ।
प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ । मेला र प्रतियोगिता माघ १० गतेसम्म सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश