
म्याग्दी । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले म्याग्दीका विकास आयोजनालाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
नेपाली कांग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको कार्यकर्ता भेटभाटका क्रममा देउवाले जिल्लाको सडक, नदी नियन्त्रण, स्वास्थ्य पूर्वाधार, धार्मिक पर्यटकीयस्थलको विकासमा पार्टीको साथ रहेको र प्रधानमन्त्री केपी शर्मा ओलीसँग समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सभापति देउवासमक्ष कांग्रेस म्याग्दीका सभापति तथा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले जिल्लाका प्राथमिकता प्राप्त आयोजनाका लागि बजेट व्यवस्थापन गरिदिने सम्बन्धमा मागपत्र बुझाउनुभएको थियो । मागपत्र बुझ्दै सभापति देउवाले प्रधानमन्त्री र मन्त्रीहरुसँग छलफल गरी योजना कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
मागपत्रमा बेनी–दरवाङ–मुना–ढोरपाटन सडकलाई मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प बनाउन स्तरोन्नति गर्नुपर्ने, बेनी–दरवाङ सडकको फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज जडान गर्नुपर्ने, बेनी बजारमा कटान नियन्त्रण आयोजना, बेनी–पाखापानी–मल्कवाङ चक्रीय सडक, पोखरेबगर–घोडेपानी–कास्कीलाई सडकले जोड्न, बृहत् चिमखोला पिप्ले भगवती खानेपानी आयोजना र अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्गमा पूर्वाधार निर्माणको विषय समावेश गरिएको थियो ।
रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले राखुको गुठी जग्गासम्बन्धी समस्या समाधानका लागि सभापति देउवाको ध्यानाकर्षण गराउनुभयो । नेपाली कांग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी र पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाँले पार्टीको गतिविधि र जिल्लाको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।
त्यस अवसरमा देउवाले बेनी अस्पतालको निर्माणाधीन ५० शय्या क्षमताको भवनको पनि निरीक्षण गर्नुभएको थियो । विसं २०७४ मा शुरु भएको भवन निर्माणले पूर्णता नपाउँदा बेनी अस्पतालको सेवा प्रभावकारी हुन सकेको छैन ।
शहरी विकास मन्त्रालयमार्फत सञ्चालित अस्पतालको भवन निर्माणलाई तीव्रता दिनका लागि दबाब दिन उच्च तहका राजनीतिक नेतृत्वको अनुगमन गराइएको नेपाली कांग्रेस म्याग्दीका सचिव भरत रकालले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव