
तनहुँ । नयाँ शहर आयोजना डुम्रे भन्सारले ८ वर्षमा ९५ करोड रुपैयाँ बढी लगानी गरेको छ । जिल्लाको भानु नगरपालिका–१ मा स्थापना भएको कार्यालयले आर्थिक वर्ष २०७२/७३ देखि गत आवसम्म विभिन्न योजनामा ९५ करोड ८७ लाख रुपैयाँ लगानी गरेको हो ।
कार्यालयले भौतिक पूर्वाधार, सामाजिक पूर्वाधार, सांस्कृतिक तथा पर्यटन, आर्थिक पूर्वधारलगायत क्षेत्रमा बजेट लगानी गर्दै आएको कार्यालयका निमित्त प्रमुख अभिषेक अधिकारीले बताउनुभयो । आव २०७२÷७३ मा ३ करोड ७४ लाख रुपैयाँ विनियोजन भएकामा २ करोड ३६ लाख, आव २०७३÷७४ मा १३ करोड २६ लाख विनियोजन भएकामा ८ करोड ८० लाख, आव २०७४÷७५ मा २० करोड ६१ लाख रुपैयाँ विनियोजन भएकामा १९ करोड २४ लाख रुपैयाँ खर्च भएको अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आव २०७५÷७६ मा ४ करोड ९१ लाख, आव २०७६÷७७ मा १० करोड २९ लाख, आव २०७७÷७८ मा १३ करोड ४९ लाख, आव २०७८÷७९ मा १० करोड ८५ लाख, आव २०७९÷८० मा १० करोड ४४ लाख र गत आवमा १७ करोड ३७ लाख विनियोजन भएकामा १५ करोड ४४ लाख रुपैयाँ खर्च भएको छ ।
कार्यालयमार्फत हालसम्म भौतिक पूर्वाधारतर्फ सडक सञ्जाल तथा यातायातअन्तर्गत सडक कालोपत्र, ढल निर्माण, ग्राभेल र कच्ची सडक निर्माण भएको छ । यस कार्यमा ६३ करोड रुपैयाँ लगानी भएको छ । ढल व्यवस्थापनतर्फ ४३ किलोमिटर नाली निर्माण गरिएको अधिकारीले जानकारी दिनुभयो । बिजुली तथा सञ्चारतर्फ सोलार बत्ती जडानमा २ करोड ९० लाख रुपैयाँ लगानी भएको छ ।
सामाजिक पूर्वाधारतर्फ हरित उद्यान, किरियापुत्री भवन, ज्येष्ठ नागरिक भवन, सिँढी, मञ्च र शौचालय निर्माणमा भएको अधिकारीले बताउनुभयो । सांस्कृतिक तथा पर्यटनतर्फ सिद्धगुफामा पूर्वाधार, तालपार्कको विस्तृत अध्ययन प्रतिवेदन र स्टोन पार्क निर्माणमा २ करोड लगानी भएको छ ।
कार्यालयले ३४.७८ किमी सडक ग्राभेल, १.२४ किमी ढलान, २०.३० किमी कालोपत्र, ४४.६२ किमी नाला निर्माण, तीनवटा सामुदायिक भवन, एउटा सरकारी कार्यालय भवन, एउटा खेलमैदान, दुईवटा मनोरञ्जन पार्क र एउटा खानेपानी योजना निर्माण गरेको जनाएको छ ।
कार्यालयले डुम्रे भन्सार जग्गा एकीकरण आयोजनाको प्रक्रिया सुरु गरेको छ । त्यसका लागि ६ सय ४३ रोपनी जग्गा पहिचान गरिएको अधिकारीले जानकारी दिनुभयो । विसं २०७४ पुस १० गते आयोजनाको चारकिल्लासहित नेपाल राजपत्रमा सूचना प्रकाशित भएको थियो । विसं २०७७ पुस १२ मा अन्तिम प्रतिवेदन बुझाइएको भन्दै बाटोको किल्ला तोक्ने कार्य सकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘नगर विकास समितिबाट स्वीकृत भई जग्गा अधिग्रहण र जग्गाको कित्ता कायम गर्न बाँकी छ ।’
गत आवमा कार्यालयबाट बाह्रपिर्के हाट बजारको परिसर स्तरोन्नतिमा ८० प्रतिशत प्रगति हासिल भएको छ । पालुङटार स्मार्ट सिटीमा स्मार्ट डिजिटल जडान गर्नका लागि ७६ लाख ६५ हजार ६ सय ४७ मा सम्झौता भएकामा शत्प्रतिशत प्रगति हासिल भएको अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ सहर आयोजनाको अपूरो भवन निर्माण गर्न २ करोड १९ लाख ९९ हजार रुपैयाँमा सम्झौता भएमा शत्प्रतिशत प्रगति भएको छ ।
नयाँ शहर आयोजनाका निमित्त प्रमुख अधिकारीले पालुङटार स्मार्ट सिटीमा शिवमन्दिर, खोप्लाङ, लुङ्गी, ज्योतिचौतारा, सडक स्तरोन्नतिका लागि १ करोड ७० लाख तीन हजार ६ सय चारमा सम्झौता भएकामा श्तप्रतिशत प्रगति भएको उल्लेख गर्नुभयो ।
डुम्रे भन्सार नारेश्वरटार सडक स्तरोन्नतिका लागि ७१ लाख सात हजार तीन सय चारमा सम्झौता भएकामा ६० प्रतिशत भौतिक र ५७ दशमलव सात प्रतिशत वित्तीय प्रगति भएको छ ।
बन्दीपुर–४ तल्लो डुम्रे चुनेढाड, खहरे, बिरुवा, आलेगाउँ हुँदै शिखरडाँडा जोड्ने कच्ची मोटरमार्ग र ढाप्रेबाट बन्दीपुर केबलकारको स्टेसनसम्म जोड्ने सडक स्तरोन्नतिमा शत्प्रतिशत प्रगति हासिल भएको अधिकारीले जानकारी दिनुभयो ।
आन्तरिक बसाइँसराइलाई व्यवस्थित गर्न मध्यमहाडी लोकमार्गको वरिपरि १० नयाँ शहर स्थापना गर्ने सरकारको नीतिअनुरुप विसं २०९० सम्ममा व्यवस्थित बस्तीसहितको पूर्वाधार तयार गर्न तनहुँमा साबिकको भानु गाविस–१, २, ३, ४ र साबिकको बन्दीपुर गाविस–१, २, ३ र ४ समेटी नयाँ सहर आयोजना डुम्रे भन्सारको शुरुवात भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक