
सुनसरी । भारी वर्षाका कारण खहरे खोलामा आएको बाढीले लगातार खोला कटान गर्न थालेपछि धरान उपमहानगरपालिका–१३ खहरे खोला नजिकका बस्ती उच्च जोखिममा परेका छन् ।
धरान–१३ की राधिका लिम्बू घरभित्र पानी पसेपछि घर सफा गर्न दुई दिन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “पानी पर्न थालेपछि राति घरमा सुत्न सकिँदैन कतिबेला बाढी आएर बगाउँछ भन्ने डरले जाग्राम बस्नुपर्छ । कहिलेकाहीँ आफन्तकामा राति बास बस्न जाने गरेका छौँ ।”
“खहरे खोलामा बाढी आएपछि ज्यान जोगाउन नै सास्ती हुने लिम्बूले बताउनुभयो । “घर होचो छ, खहरे खोला माथिबाट आउनसाथ सिधैँ घरभित्र छिर्छ, एकदमै त्रासमा रात बिताउने गरेका छौँ”, उहाँले भन्नुभयो । खहरे खोलामा बस्तीमाथिबाट लगातार बाढी आउने गरेपछि यहाँका स्थानीय रातभर सुत्न नसकेर जाग्राम बस्नुपरेको बस्तीका बासिन्दा बताउँछन् ।
सोही स्थानकी कमला राईले भन्नुभयो, “घरमा बस्न नसकिने अवस्था भएर केही दिनदेखि बेलुका अर्काको घरमा जाने गरेका छौँ । पानी पर्न सुरु भएपछि घर छोडेर सुरक्षित ठाउँ खोज्दै जानुपर्ने अवस्था छ ।”
स्थानीय कौशिला श्रेष्ठले खोला नजिकै घर भएकाले उच्च जोखिममा रहेको बताउनुभयो । “घरमा केटाकेटी, बूढाबूढी बाबाआमा हुनुुहुन्छ । बेलुका बाढी आइहाले कहाँ जाने भन्ने चिन्ताले रातभर निन्द्रा नलागेर जाग्राम बस्नु परेको छ”, उहाँले भन्नुभयो ।
खहरे खोलामा आउने पानीको भर नहुने भन्दै कुनबेला कस्तो वितण्ड मच्चाउँछ थाहै नहुने धरान–१३ का स्थानीय लाक्पा शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय सरकारले आधुनिक प्रविध र दक्ष प्राविधिक लगाएर खहरे खोलामा आउने बाढीको दीर्घकालीन समाधानका लागि पहल गर्नुपर्छ । स्थानीय कतिदिनसम्म यसरी त्रासमा रातभर जाग्राम बस्ने ?”
आज दिउँसोको वर्षासँगै आएको बाढीले एउटा घरमा आशिंक क्षति भएसँगै परिवारलाई आफन्त कहाँ सर्न आग्रह गरिसकिएको धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले बताउनुभयो । उहाँले भन्नुभयो, “खहरे खोलामा आएको बाढीले कही बिजुलीका खम्बामा क्षति हुने सम्भावना छ, तत्काल खोला नियन्त्रण गर्न सकिएकाले अहिलेसम्म क्षति हुन पाएको छैन ।”
धरान–१३ का सात घरमा क्षति भएको छ भने करिब १० घर बढीको उच्च जोखिममा परेका वडाध्यक्ष काफ्लेले जानकारी दिनुभयो । “खहरेमा आएको बाढीले पूरै खोला कटान गर्न सुरु भएपछि स्थानीय सरकार, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले ग्याबिन लाउने काम सुरु गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “खोला आउँदा कटान गर्दै लाने भएपछि तत्कालै जेसिभी ल्याएर बस्ती जोगाउने काम भएको छ ।”
यही भदौ १३ गते र १७ गते दिउँसो आएको वर्षाका कारण करिब तीन करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको वडाध्यक्ष काफ्लेले बताउनुभयो । क्षतिको यकिन विवरण सङ्कलन गरिने बताउँदै उहाँले तत्काल समस्या समाधान गर्न ग्याबिन जाली लगाउने काम भइरहेको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक