
सिरहा । राजविराज–छिन्नमस्ता सडक दुई वर्षदेखि निर्माणाधीन अवस्थामा छ । सप्तरीको प्रसिद्ध पवित्र धार्मिकस्थल छिन्नमस्ता भगवती शक्तिपीठसम्म पुग्ने सडक गत असारमै निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । तर हालसम्म सडकको २९ प्रतिशत मात्र काम सकिएको छ ।
ठाउँ ठाउँमा सडक भत्किएर पैदल हिँड्न समेत सकिने अवस्था छैन । जताततै खाल्डाखुल्डी मात्रै छन् । सडकमा पानी जमेर पोखरी बनेको छ । मोटरसाइकल गुडाउन पनि समस्या भएको शक्तिपीठ दर्शन गर्न गएका बोदे बर्र्साइन नगरपालिका–३ का २८ वर्षीय धिरज यादवले बताउनुभयो । “सडकको बेजोग छ, पैदल हिँड्न समेत नमिल्ने अवस्था छ”, उहाँले भन्नुभयो ।
टेम्पो व्यवसायी सत्यनारायण चौधरी ठूलो सङ्ख्यामा आउने दर्शनार्थीलाई छिन्नमस्ता भगवती मन्दिर पुग्न कठिनाइ हुने गरेको बताउनुहुन्छ । “कुनै पनि बेला दुर्घटना हुनसक्ने खतरा छ, जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो ।
हाल सडकखण्डमा बस सेवा बन्द छ । अटोरिक्सा मात्र चल्ने भएकाले उनीहरुले यात्रुबाट मनपरी भाडा लिने गरेको ललापटीका रामप्रित यादवले बताउनुभयो । बाटो बिग्रिएका कारण १० किलोमिटर यात्रा तय गर्न एक घण्टाभन्दा बढी समय लाग्ने गरेको उहाँको भनाइ छ ।
.सडक मर्मतको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीसहितको टोलीले लहानस्थित सडक डिभिजन कार्यालयमा धर्ना समेत दिएको थियो । “सडक मर्मतका लागि सडक डिभिजन कार्यालय लहानलाई पटक–पटक आग्रह गर्दैआएका छौँ, धर्ना पनि बस्यौँ, तर केही पहल भएको छैन”, उहाँले भन्नुभयो । सडककै कारण पछिल्लो समय छिन्नमस्ता शक्तिपीठ आउने भक्तजनको सङ्ख्यामा कमी आएको उहाँको भनाइ छ ।
स्थानीयले अविलम्ब उक्त सडक स्तरोन्नतिको माग गरेका छन् । राजविराज–छिन्नमस्ता–नेउर बोर्डर सडकखण्ड निर्माण कार्यको शिलान्यास २०७८ चैतमा गरिएको थियो । उक्त सडक निर्माणका लागि सडक डिभिजन कार्यालय लहानले रु २५ करोड ८८ लाखमा साह इन्जिनियरिङ प्रालि शम्भुनाथ सप्तरीलाई ठेक्का दिएको हो ।
सडक निर्माण गर्न २०७९ असारमा निमार्ण कम्पनी र सडक डिभिजन कार्यालयबीच सम्झौता भएको थियो । सम्झौताअनुसार निर्माण कार्य गत असारमा सक्नुपर्ने थियो । उक्त सडक अब २०८२ असारसम्ममा निर्माण गरिसक्नुपर्ने सडक डिभिजन कार्यालय लहानका सूचना अधिकारी अश्विनी यादवले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक