+

अत्रौलीवासीले १५ वर्षपछि पाए खानेपानी

सर्लाही  । सर्लाहीको चुरेक्षेत्रमा पर्ने अत्रौलीका स्थानीयले डेढ दशकको प्रतीक्षापछि खानेपानीको सुविधा पाएका छन् । निर्माण आरम्भ भएको १५ वर्षपछि हरिवन नगरपालिका–२, अत्रौलीका २ सय ७५ घरधुरीले खानेपानी सुविधा पाएका हुन् । 

चुरेको काखमा रहेको साविक अत्रौली गाविसका आधा दर्जन गाउँका स्थानीय पानीको चरम अभाव झेल्न बाध्य थिए । खानेपानीको सुविधा नहुँदा खोलाको पानी पिउनु परेको स्थानीय नवराज मैनालीले बताउनुभयो ।

‘पानीको कुनै विकल्प थिएन, १५ वर्षदेखि पानी खान पाइन्छ कि भन्ने आशामा थियौँ, घरघरमै धाराबाट पानी आउन थालेपछि भने सुविधा भएको छ’ उहाँले भन्नुभयो । 

यसभन्दा पहिले वर्षामा खहरे खेलाको धमिलो पानी पिउने गरेको अर्का स्थानीय पशुपति शर्माले सुनाउनुभयो । हिउँदमा खोला समेत सुक्दा पानीको चरम अभाव भएको उहाँले बताउनुभयो । 

तर अहिले भेन घरघरमै खानेपानीको धाराबाट पानी झरेपछि स्थानीय हर्षित भएका छन् । सङ्घीय सरकारको लगानीमा २०६६ साल देखि खानेपानी आयोजना सुरु भएको थियो । तर, पर्याप्त बजेट नपाउँदा अलपत्र पर्दै आएको आयोजना १५ वर्षपछि सम्पन्न भएको हो । यहाँका नागरिकलाई पानी खुवाउन शुरु भएको आयोजना ढिलोगरी पूरा भएको वडाध्यक्ष अर्जुनकुमार योञ्जनले जानकारी दिनुभयो ।

्जनप्रतिनिधिको पहलमा नयाँ बोरिङ र पाइप लाइन विस्तार भएपछि करिब पौने तीन सय घरधुरीले तत्काल पानी उपभोग गर्न शुरु गरेका छन् । हरिवन नगरपालिका–२, का वडाध्यक्ष योञ्जनका अनुसार यस आयोजनालाई आर्थिक वर्ष २०७९/८० मा डिभिजन खानेपानी कार्यालय मलङ्गवाबाट नयाँ बोरिङका लागि बजेट प्राप्त भएको थियो ।

आर्थिक वर्ष २०८०÷८१ मा वडाको  २० लाख र नगर उपप्रमुख हरिमाया घलानको योजनाबाट  १० लाख रुपैयाँ विनियोजन गरी पाइपलाइन विस्तार गरिएको वडाध्यक्ष योञ्जनले बताउनुभयो । आयोजनाअन्तर्गत दुई हजार लिटर बढी क्षमताको खानेपानी ओभरहेड ट्याङ्की यसअघि नै सङ्घीय सरकारको बजेटबाटै निर्माण सम्पन्न भएको छ ।

समयमै आयोजना निर्माण सम्पन्न नहुँदा एउटा बोरिङ निर्माण भएर काम नलाग्ने भएर खेर गएको थियो । पुनः नयाँ बोरिङ बनाएर पानी वितरण गरेको अत्रौली खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिवजी महतोले बताउनुभयो । हाल धमाधम घर–घरमा धारा जडान गरिरहेका उहाँले जानकारी दिनुभयो ।

यस आयोजनाबाट हरिवन नगरपालिका–२ का मिलनचोक, नयाँबस्ती, जिम्दार टोल, चिसापानी, थाङसिङ्गे टोल र तिनतले गाउँमा खानेपानीको सुविधा पुगेको छ । खानेपानीको समस्याबाट मुक्ति पाउँदा सारा गाउँलेले खुसी भएका स्थानीय हरि बहादुर क्याप्छाकीले बताउनु भयो । 

हरिवन नगरपालिका–२, अन्तरगतको चुरेगाउँ खोरगाउँ र लालिभत्ती क्षेत्रमा समेत वडा कार्यालयले पाइपलाइन विस्तार गरिदिएपछि लालबन्दी खानेपानी तथा सरसफाई संस्थाबाट करिव डेढ सय घरधुरीमा खानेपानी सुविधा पुगेको छ । 

खानेपानीको दिगो व्यवस्थापन हुँदा खानेपानीको समस्याबाट मुक्ति पाएको खोरगाउँ र लालभित्तीका स्थानीयको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट