
कञ्चनपुर । सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व धुमधामका साथै मनाइँदै छ ।
गौरा पर्वको दोस्रो दिन आज धुमधामका साथ गौरादेवीलाई घर घरमा भ्यिाइएको छ । सुदूरपश्चिमका पहाडी जिल्लादेखि तराईको कैलाली र कञ्चनपुरमा यतिबेला गौराको रौनकता छाएको छ । प्राचीन कालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान शिवकी अर्धाङ्गीनी पार्वती (गौरी)लाई गौरा देवीको रुपमा पूजा अर्चना गरिँदै आएको संस्कृतिका जानकार बताउँछन् ।
डोट्याली लोकसाहित्यमा विद्यावारिधी गरिरहनुभएका महेन्द्रनगरका साहित्यकार कविराज भट्ट भाद्र शुक्ल वा कृष्णपक्ष पञ्चमीदेखि सुरु हुने गौरा पर्व परम्परागत रीतिअनुसार मनाइने गरेको बताउनुहुन्छ । विवाहित नारीले आफ्नो परम्पराअनुसार पुरुष जस्तै यज्ञोपवित्रताका रुपमा दुवधागो लगाउने चलन यस क्षेत्रमा छ ।
नारीले पुरुष जस्तै यज्ञोपवित्रताका रुपमा दुवधागो लगाउने र त्यसमै लक्ष्मीको वैदिकमन्त्र जप्ने गरिएको उहाँले बताउनुभयो । “गौराको पूजा अर्चनाले विशेष गरी श्रीमान् तथा घरपरिवारका सदस्यहरु निरोगी, दीर्घायु हुने, परिवारमा सुख समृद्धि हुने जनविश्वास छ”, भट्टले भन्नुभयो, “गौरामा देउडा, ढुस्को धुमारी खेलेर रमाइलो गरिन्छ ।”
घरमा गौरादेवीलाई भ्यिाएर गौरादेवीमा चढाएको दुवधागोलाई भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन व्रतालु महिलाले धारणा गर्ने गर्दछन् । यसका साथै साँझको समयमा व्रतालु महिलाले कुण्ड स्नान गर्ने परम्परा पनि रहेको व्रतालु सरस्वती भट्ट बताउँछन् ।
“गौराको मुख्य दिन भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन गौरालाई गौराघरबाट मन्दिर अर्थात् गौराखलामा लगेर पूजा गर्छौ ।” भट्टले भन्नुभयो, “गौरादेवीमा चढाएको दुवधागो धारण गर्छाँै र बिरुडाले आफन्तको टाउँको पुजन गरेर आशिर्वाद दिन्छाँै ।”
दुर्वाष्ठमीको दिन गौराको महत्वपूर्ण दिन हो । यसलाई अँठेवाली पनि भन्ने गरिन्छ । यो दिन महिलाले सगुन फागसहित गौरादेवीलाई आँगनमा लगेर राख्छन् । सबै महिला जम्मा भइ अँठेवाली गायनसँगै बिरुडाले गौराको पूजा गर्दछन् । अँठेवालीकै बीचमा प्रसङ्गअनुसार एउटा धर्मकथा प्रस्तुत गरिन्छ । यो कथा सबै महिलाले सुन्ने सुनाउने गर्दछन् ।
त्यसपछि मङ्गल गीत (सगुन, फाग) सहित तामाको ताउलीलाई गाईको गोबर, दुबो र जौँ तिलले सजाउने परम्परा छ । पाँच अन्न बिरुडा (मास, गहत, गहू, कलौँ र गुरुस) तामाको भाँडोमा हाली सुगन फाग गायनसँगै गौरा भ्यिाइन्छ । बिरुडालाई देवीको प्रतीकका रुपमा मानी चन्दन, अक्षता, फूल, धुप, दीप, फललगायत चढाएर पूजा गर्ने गरिन्छ । उक्त भिगाएका बिरुडा भएको ताउलीलाई टाउकोमा राखी सगुन, फाग गायनसँगै महिलाले पानीको मुहानमा लगेर सगुन गायनसँगै पाँच पल्ट धुने प्रचलन छ ।
धारामा साँवाधानको गौरादेवीको मूर्ति बनाएर स्थापना गरी बिरुडा तथा चन्दन, अक्षता, पाती, धुप, दीप, फल आदिले पूजा गरी पुनः फाग गायनसँगै घरमा भित्रयाउने चलन रहेको शास्त्री जनार्जन अवस्थी बताउँछन । सप्तमीको दिन चेलीबेटीले खेतबाट धान, साँवाधान, कुर्जो आदि हालेर रातो कपडा वा घुम्टीमा बेरेर गौराको मूर्ति बनाइ गौरा घरमा ल्याउँछन् । गौरालाई डालोमा राखेर शुद्ध आसनमा स्थापित गरिन्छ । एउटा काठको पिर्कोमा पहेलो कपडा बनाएर महेश्वर पनि स्थापना गरिन्छ ।
उहाँका अनुसार अँठेवालीको दोस्रो दिनदेखि विभिन्न देवालयमा पुरुषको देउडा खेल सुरु हुन्छ । देवीदेवता तथा पौराणिक कथावस्तुमा आधारित ढुस्को, धुमारी, ठाडोखेललगायत प्रस्तुत गरिन्छ । गौरा धार्मिक, सामाजिक, सांस्कृतिक, साहित्यिक, पौराणिक, ऐतिहासिक तथा अन्य विविध दृष्टिकोणले महत्व बोकेको पर्व हो ।
“गौरा नारीको विषेश पर्व हो यो पर्वमा उपासना गरी नारीले गौरीको दुवधागो लगाउँछन्”, व्रतालु निर्मला जोशीले, “जसरी व्रतबन्धपछि जनै धारण गरी पुरुष यज्ञोपवित्र हुन्छन् । त्यसगरी गौरामा नारी यज्ञोपवित्र हुन्छन् ।”
देउडा गौराको अवसरमा रमाइलोका लागि खेलिने खेल भएको उहाँको भनाइ छ । सप्तमी र अष्टमीलाई गौराका विशेष दिनका रुपमा लिइने गरिन्छ । गौरा पर्व मनाउन भारत तथा अन्य मुलुकमा भएका सुदूरपश्चिमेली घर फर्किन्छन् । गौराको अवसरमा कञ्चनपुरको महेन्द्रनगरमा विभिन्न सङ्घ संस्थाले गौरा पर्वको अवसरमा देउडा प्रतियोगिता आयोजना गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’