+

मन्त्रीहरु दशैंमा चिरिच्याट्ट निवासमा सर्ने

ललितपुर ।  सङ्घीय सरकारका सबै मन्त्री आउने दशैंमा चिरिच्याट्ट निवासमा सर्ने भएका छन् । 

मन्त्रीहरुलाई उपलब्ध गराउने उद्देश्यले ललितपुर–१८ भैँसेपाटीमा निर्माणाधीन भवन अन्तिम चरणमा पुगेको छ । भवन निर्माणअन्तर्गत पहिलो चरणको काम सकिएको छ ।  दोस्रो चरणको केही काम बाँकी छ ।

दशैँसम्म सबै काम पूरा गर्ने लक्ष्य राखेर तीव्र गतिमा काम भइरहेको आयोजना प्रमुख मचाकाजी महर्जनले बताउनुभयो । मन्त्री आवास निर्माणका लागि विसं २०७६ कात्तिक २७ गते हनुमान कन्स्ट्रक्सनले ठेक्का लिएर पहिलो चरणको काम शुरु गरेको थियो । 

पहिलो चरणअन्तर्गत भवन निर्माण काम सकिए पनि स्वीमिङपुल, पाकिङ, हेलिप्याड लगायत दोस्रो चरणको काम भइरहेकाले आउने दशैँसम्म पूर्णता दिने योजना रहेको आयोजना प्रमुख महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षसहित सङ्घीय मन्त्रीका लागि २७ वटा भवन बस्न मिल्नेगरी सम्पन्न भएका छन् । 

‘भवन निर्माण र भवनभित्रको काम सबै सकिएको छ, अब बाहिरको सजावट बाँकी छ’ महर्जनले भन्नुभयो, ‘हामीले यथाशीघ्र कामलाई पूर्णता दिने प्रयास गरिरहेका छौँ ।’  भैँसेपाटीमा ९६ रोपनी १० आना जग्गामा फैलिएको मन्त्री आवास निर्माणका लागि सरकारले १ अर्ब ३ करोड ४६ लाख ८३ हजार रुपैयँँ छुट्टयाइएको छ । 

आयोजनाका सहइञ्जिनीयर राजीव यादवले मन्त्री आवास क्षेत्रभित्र जिम हल (व्यायाम शाला), स्वीमिङ पुल, सामुदायिक भवन, किराना पसल तथा सुरक्षा निकायका लागि बस्ने व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रत्येक भवनको माथिल्लो तलामा योगका लागि कोठा छुट्टयाइएको  छ ।

निर्माण व्यवसायीले भवन निर्माण पूर्ण रुपमा आउने दशैँसम्म सकिने भन्दै सम्पन्न भएका भवनमा मन्त्री बस्न मिल्ने जनाएको छ । हालसम्म अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, खानेपानीमन्त्री प्रदीप यादव, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी र राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे नयाँ आवासमा सरिसक्नु भएको छ । 

प्रदेश प्रमुख र प्रदेश मुख्यमन्त्रीका लागि २४ रोपनी जग्गामा भैँसेपाटीमा निर्माण गरिएका सातवटा भवन निर्माण सकिएर उद्घाटन भइसकेको आयोजना प्रमुख महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश मुख्यमन्त्री र प्रदेश प्रमुख काठमाडौँ आउँदा बस्न ती आवास निर्माण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट