
दाङ । तुलसीपुर उपमहानगपालिका–६ मा रहेको कमलपोखरीको पुनःनिर्माण एक वर्षदेखि रोकिएको छ । पहिलोचरणको निर्माण काम सम्पन्न भएको एक वर्ष वितिसक्दा पनि पूर्णता पाउन सकेको छैन । पहिलो चरणको काम सम्पन्न भएको एक वर्ष बितिसक्दा पनि पोखरीलाई उत्खनन गरिएको छैन । अहिले चारैतिर पर्खालले घेरी पानी बिना पुरिएको अवस्थामा पोखरीको रुप देख्न सकिन्छ ।
थप निर्माणको काम कहिलेदेखि सुरु हुने हो कुनै जानकारी छैन । अहिले पोखरीलाई दोहोरो पर्खालको घेरामा राखिएको छ । पोखरीको उत्खननदेखि पानी भर्नेलगायतका काम बाँकी छन् । बजेट अभावका कारण योजना अधुरै रहेको स्थानीयवासी बताउँछन् । पोखरी पुनःनिर्माणलाई निरन्तरता दिई यसलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न स्थानीयवासीले माग गरेका छन् । उनीहरुले पछिल्लो समयमा पोखरीको पुनःनिर्माणका लागि विभिन्न निकायबाट १ करोड ५० लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ । योजना अझै अपूरो रहेकाले यसलाई पूर्णता दिई छिटो सम्पन्न गर्न सम्बन्धित निकायसँग स्थानीयवासीले माग गरेका हुन् ।
पोखरी निर्माणका लागि गठित उपभोक्ता समितिका अध्यक्ष डिल्लीप्रसाद रजौरेले हालसम्म पोखरीको संरक्षणका लागि बाहिरी भागमा इँटाको पर्खाल निर्माण, तालक्षेत्रको पानी सङ्कलन गर्न पोखरीको चारैतिर भित्री भागमा ढुङ्गाको पर्खाल, सिँढी र पर्खाल माथिबाट पाइप रेलिङको निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । ती संरचना निर्माणका लागि उपमहानगरपालिकाबाट २५ लाख, लुम्बिनी प्रदेश सरकार पर्यटन मन्त्रालयबाट ४६ लाख रुपैयाँ प्राप्त भएको थियो ।
युएसएआइडीको तयार नेपाल विपद् जोखिम परियोजनाबाट ८० लाख पाँच रुपैयाँ हजार रकम पनि पुनःनिर्माणमा खर्च भएको इन्जिनीयर कमल थापाले जानकारी दिनुभएको छ । युएसएआइडीको तयार नेपाल विपद् जोखिम परियोजनाबाट लोकमणि विल्डर्स निर्माण कम्पनीले त्यहाँको निर्माणको जिम्मा प्राप्त गरेको र उसले पोखरीको भित्री भागको चारैतिर ढुङ्गाको पर्खाल, सिँढीलगायतका पूर्वाधार निर्माण गरेको पनि इन्जिनियर थापाले बताउनुभयो । उहाँले दोस्रो चरणका लागि पनि उपभोक्ताबाट बजेट माग भइरहेकाले छिट्टै नै प्रक्रिया अगाडि बढाइने बताउनुभयो । पोखरीमा पानी सङ्कलन गरी विपद्को समयमा प्रयोग गर्न सहज हुने उहाँ बताउनुहुन्छ ।
‘अझै थुप्रै निर्माणका काम बाँकी छन् । पोखरी उत्खनन, त्यसमा पानी सङ्कलन गर्न बाँकी छ’ उपभोक्ता समिति अध्यक्ष रजौरे भन्नुहुन्छ– ‘पोखरीलाई आकर्षक बनाउन पोखरीको बाहिरी भागमा चारैतिर बगैँचा, अवलोकन गर्न आउने पर्यटकको सुविधाका लागि बस्ने ठाउँ, सिँढी, शौचालय, धारा जडान, बिजुली बत्ती जडानलगायतका काम बाँकी छन् । यसका लागि बजेट माग गरिरहेका छौँ ।’
करिब ९० वर्ष पहिले निर्माण गरिएको सो तालको संरक्षण स्थानीयवासीले गर्दै आएका थिए । बजेट अभावका कारण यसअघि ताललाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न नसकेको स्थानीयले जनाएका छन् । अहिले पोखरी पुनःनिर्माणले भने धेरै आशा पलाएको जनाइएको छ । त्यहाँ निर्माण गरिएका पूर्वाधारले अब पोखरीको अस्तित्व सुरक्षित हुनेमा विश्वस्त हुनुहुन्छ यसको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका समाजसेवी तथा रजौरा निवासी ७५ वर्षीय गोविन्दप्रसाद रजौरे ।
‘थप निर्माणका लागि बजेट नआएकाले निर्माणमा ढिलाइ भएको छ । समयमा बजेट उपलब्ध भएमा यसलाई पर्यटकीय क्षेत्रमा विकास गर्न सकिनेछ’ उहाँ भन्नुहुन्छ । तुलसीपुर बजार नजिकमा यस्तो पोखरी कहीँकतै छैन । यसमा पूर्वाधार निर्माण गर्नसके यहाँ धेरै पर्यटक भित्र्याउनुका साथै बजार क्षेत्रमा कुनै आगलागीका घटना भएमा त्यही पोखरीको पानी प्रयोग गर्न सजिलो हुने रजौरे बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ– ‘यति पुरानो पोखरीको हामी स्थानीयवासीले संरक्षण गरेर राखेका छौँ, संरक्षण नगरेको भए सो जमिन अतिक्रमण भइसक्थ्यो ।’ अर्का स्थानीय ५१ वर्षीय रोमहर्ष रजौरेले स्थानीयको लामो प्रयास र सरकारी निकायको सहयोगबाट पोखरी पहिलो चरणको पुनःनिर्माण सम्पन्न भएको छ । लामो समय बितिसक्दा अहिलेसम्म यो योजनाले पूर्णता नपाएर आफूहरु दुःखित भएको उहाँले बताउनुभयो ।
पहिलो चरणमा महत्वपूर्ण पूर्वाधार निर्माण भएको छ । अब बाँकी पूर्वाधार निर्माण गर्नसके यसक्षेत्रलाई पर्यटकीय केन्द्र बनाउन सकिने स्थानीयवासी रजौरे बताउनुहुन्छ । पोखरी संरक्षण गरेर त्यस क्षेत्रमा माछापालन, जलविहार तथा त्यहाँ जीवजन्तुको अवलोकन गर्न सकिने र यसबाट गाउँको मुहार नै फेर्न सकिने पनि उहाँले बताउनुभयो । उपमहानगरपालिकाका इन्जिनियर पवनकुमार योगीले यसपटक पोखरीका लागि कुनै बजेट विनियोजन नभएको बताउनुभयो । उपमहानगरपालिकाबाट बजेट नभए पनि युएसएआइडीको तयार नेपाल विपद् जोखिम परियोजनाबाट बजेट विनियोजन भएको भन्ने जानकारीमा आएको स्थानीयवासीले बताएका छन् ।
तालको आफ्नै ऐतिहासिक पृष्ठभूमि छ । ९० वर्ष पहिला रजौराका स्थानीयवासीले रजौरा, गोलौरा, डुम्रीगाउँलगायत गाउँका गाईवस्तुलाई गर्मीयाममा पानी खुवाउन एक बिघा जमिनमा आफैँ श्रमदान गरी मानवनिर्मित जलभण्डारको व्यवस्था गरेका थिए । त्यस समयमा पानीको अभाव भएपछि गाउँलेले सोही तालमा नुहाउने, कपडा धुने र भाँडाकुँडा सफा गर्ने गरेको थारु अगुवा सीताराम चौधरी बताउनुहुन्छ ।
त्यसैलाई पछि पोखरीमा परिणत गरिएको थियो । पोखरीमा कमलको फूल फुल्ने गर्दथ्यो । त्यो दृश्यले सबैलाई लोभ्याउने गरेकाले कमलफूल हेर्न र टिप्न गाउँगाउँबाट मानिस आउने गर्दथे । त्यसैले त्यस पोखरीको नाम कमलपोखरी राखिएको बताइएको छ । कमलपोखरी ताल तुलसीपुर बजारबाट डेढ किलोमिटर दक्षिणमा पर्ने रजौरा गाउँबाट पाँच सय मिटर पश्चिममा पर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा
- दिगो विकास कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब आवश्यक
- मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग
- सिंहदरबार आसपास प्रहरीको ब्यारिकेड, सवारी संचालनमा पूर्ण रोक
- अध्यक्षसहितका नेताहरु पक्राउ परेपछि राप्रपाद्वारा आकस्मिक बैठक आव्हान
- राप्रपा अध्यक्ष लिङ्देनसहित शीर्ष नेताहरु सिंहदरबारबाट पक्राउ
- तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किँदा २ जनाको मृत्यु, १४ घाइते
- ‘पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनःराजनीतिमा फर्कन बन्देज छैन’
- एकीकृत समाजवादीले सम्झिँदै सुखानी
- आन्दोलनका कारण सर्वसाधारणलाई सास्ती