+

दार्चुलाका किसान व्यवसायीक स्याउ खेतीतर्फ आकर्षित हुँदै

  • २ पुष २०८०, सोमवार

दार्चुला। दार्चुलाको अपिहिमाल,नौगाड,व्याँस र दुहु गाउँपालिकाका किसान व्यवसायीक स्याउ खेतीतर्फ आकर्षित हुँदै गएका छन् । वर्षमा दुईबाली खेती हुने पाखो जमिनमा लगाएको अन्नबालिले ६ महिना पनि खान नपुग्ने भएपछि पुर्खौदेखि खेती गरिदै आएका यी ठाउँका किसान अहिले स्याउखेतीतर्फ आकर्षित भएका हुन् । 

परम्परागत खेतीपाती भन्दा स्याउ खेतीबाट जीविकोपार्जन चलाउने आधार बनाएर किसानहरू आकर्षित भएका हुन् । अपि हिमाल,व्याँस, नौगाड र दुहुमा स्याउ खेती निकै फस्टाएको छ ।अपिहिमाल गाउँपालिकाको वडा नम्बर १, ४ र ५ र व्याँस गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा व्यवसायीक स्याउ खेती विस्तार गरिएको छ ।

त्यस्तै, नौगाड गाउँपालिकाको वडा नम्बर १ र २ तथा दुहु गाउँपालिकाको वडा नम्बर १ र २ मा व्यवसायीक स्याउ खेती विस्तार गरिएको छ । २०७५ सालमा सरकारले यी ठाउँहरुलाई समेटेर स्याउ जोन घोषणा गरेको हो । यी ठाउँहरुमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना दार्चुलाले बिरुवा दिएर किसानलाई सघाउँदै आएको छ ।

अपिहिमाल गाउँपालिका—४ खण्डेश्वरी देउरुखकी बलकुमारी बोहराले विगत ४ वर्ष देखि व्यवसायीक स्याउखेति गर्दै आउनुभएको छ । १५ रोपनी जमिनमा गालाफुजी र रेड गोल्डेन स्याउ लगाएको उहाँले बताउनुभयो । ‘विगत ४ वर्ष देखि गालाफुजी र रेड गोल्डेन स्याउ फलाएकी छु ।’उहाँले भन्नुभयो,‘वार्षिक स्याउ विक्री गरेर साढे २ लाख कमाउछु । चार वर्षअघि लगाएको स्याउको बोटले अहिले फल दिन थालेको छ । उत्पादित स्याउ बजारसम्म पु¥याउन समस्या भएको छ । यो वर्ष मात्रै ३० क्विन्टल स्याउ उत्पादन गरिसकेकी छु । विगतका वर्षहरूको तुलनामा यो वर्ष स्याउ उत्पादन निकै राम्रो भएको छ ।’

स्याउ जोन सञ्चालन समन्वयन समिति संयोजक समेत रहनुभएकी बोहराले उत्पादित स्याउ बजारसम्म पु¥याउने व्यवस्था भए यहाँको स्याउ अन्य जिल्लाहरूमा पु¥याउन सहज हुने उहाँको भनाइ छ । गत वर्ष बोहराले अपिहिमालको मकरीगाड, मार्मा गाउँपालिकाको लटिनाथ बजार हुँदै जिल्लाको मुख्य दोस्रो बजार गोकुलेश्वरका पुगाउनुका साथै नेपालगञ्ज सम्म स्याउ पुर्याउनुभएको थियो । 

त्यस्तैै, अपिहिमाल—३ थुम्कीका अन्नतराम मन्यालले पनि विगत चार वर्षदेखी व्यवसायीक स्याउ खेती गर्दै आएका छन् । उहाँ चार वर्षदेखी प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना दार्चुलासँग जोडिएका छन् । अपि हिमालमा स्याउ खेतीका लागि सुहाउँदो हावापानी भएकाले १३,१४ वर्षअघि गाउँकै धेरैले भारतको हिमाञ्चल प्रदेश र सिम्लाबाट स्याउको बिरुवा ल्याएर रोपेको उहाँले बताउनुभयो । 

‘मेरो बुबाले पनि भारतको हिमाञ्चलबाट स्याउका बोट ल्याएर रोपेका थिए । अहिले ती बोटबाट स्याउ फलेको छ । ’उनले भने,‘२०७५ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउ खेती गर्न चाहने कृषकलाई इटालियन स्याउको बिरुवा बाँडेपछि स्याउ खेतीलाई नै व्यवसायीक रूपमा विस्तार गर्ने मनशाय बनाए ।यहाँ उत्पादित स्याउ बजारसम्म पु¥याउन समस्या छ । उत्पादनले भने आकर्षित भएका छौं । अहिले यहाँका अधिकांश किसानले परम्परागत खेतीलाई विस्थापित गर्दै स्याउ खेतीतर्फ लागेका छन् ।’

उहाँले जोनमार्फत सुरुकै वर्ष ५० वटा बिरुवा रोप्नुभएको थियो । उहाँसँग अहिले नयाँ र पुराना गरी ६ सयको हाराहारीमा स्याउका बोट रहेका छन् । जति चिसो त्यति नै सप्रिने स्याउको बिरुवा भएकाले अनुकूल वातावरण भएमा एउटै बोटबाट १५/२० किलोसम्म स्याउ उत्पादन हुने उहाँको भनाई रहेको छ ।

अपिहिमाल,नौगाड,व्याँस र दुहु गाउँपालिकाका अधिकांश कृषकले स्याउ खेतीलाई अनुसरण गर्दै आएका छन् ।उत्पादन वृद्धि हुँदा आयस्तरमा पनि बढ्ने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको हो। परम्परागत खेतीबाट मेहनतअनुसारको आयआर्जन नभएपछि अहिले यहाँ किसानले स्याउ खेती गर्न थालेका हुन् । यहाँका स्थानीय तहले बाँझो जमिन सदुपयोग गर्ने गरी किसानलाई स्याउ खेतीमा लाग्न प्रोत्साहित गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट