
रामेछाप । रामेछाप नगरपालिका–६ ओख्रेनीका शेरबहादुर तामाङलाई जुनार बेच्न भ्याइनभ्याइ छ । जुनार खरिद गर्न व्यापारी र सर्वसाधारण बारीमै आउने गरेको उहाँले बताउनुभयो। तामाङले भन्नुभयो– ‘बजारको समस्या छैन ।’ व्यापारीले गत वर्ष नै खरिदका लागि रकम दिएको उहाँको भनाई छ ।
जुनारको जुस बनाउने व्यापारीले पनि किसानसँग सोझै सम्पर्क गर्ने गरेका छन । धेरैजसो व्यापारी बगैँचामै आएर खरिद गरेर लैजान्छन् । मागअनुसार जुनार उपलब्ध गराउन नसकिएको तामाङको भनाई छ ।
सुन्तला बगैँचाबाटै प्रतिकिलो एक सय रुपैयाँ र जुनार प्रतिकिलो ५० देखि ६० रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ । पहेँलपुर बगैँचा अवलोकन गर्न विभिन्न समूह तथा संस्था एवं बिद्यालयका विद्यार्थी आउने गरेका तामाङले बताउनुभयो ।
रामेछापमा विगत वर्षभन्दा यस वर्ष जुनारको उत्पादन बढेको छ । यसअघि प्रतिहेक्टर २० टन उत्पादन हुने गरेकामा यस वर्ष प्रतिहेक्टर ३० टनका दरले उत्पादन बढेको हो ।
जिल्लामा विगत वर्षको तुलनामा यस वर्ष जुनार उत्पादन बढ्नुको कारण बेलैमा रोग किरा नियन्त्रण गर्नु र प्राविधिक सहयोग प्राप्त हुनु हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले रामेछाप नगरपालिकामा जुनार जोनका रुपमा विभिन्न कार्यक्रम सञ्चालन गरेका कारण उत्पादन वृद्धि भएको कृषक बताउँछन् ।
जुनार किलोका हिसाबले भन्दा पनि बगैँचामा फलेका आधारमा बिक्री गर्ने गरिएको तामाङले बताउनुभयो । अमिलो जातको फलफूलमा पर्ने जुनारको यो वर्ष उत्पादनसँगै बजार मूल्य पनि बढेको छ । गत वर्ष जुनार बगैँचाबाट प्रतिकिलो ३० देखि ४० रुपैयाँमा बिक्री हुने गरेको थियो ।
केही वर्ष यहाँको जुनारमा फल कुहाउने औसा किराको प्रकोपका कारण बगैँचामा पाक्ने समयसम्म जुनार झरेर नास हुने गरेको थियो । थोरै बाँकी रहे पनि त्यसमा किरा भेटिन्थे । यस पटक भने त्यस्तो नभएको कृषक लालबहादुर तामाङले बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख थिरलाल गैरेका अनुसार यस वर्ष रामेछापमा जुनारको उत्पादन ह्वात्तै बढेको छ । उहाँका अनुसार प्रतिहेक्टर ३० मेट्रिक टनसम्म उत्पादन पुगेको छ । यो उत्पादन अहिलेसम्मकै उच्च हो । कम स्याहार भएका बगैँचामा पनि प्रतिहेक्टर २० मेट्रिक टन उत्पादन हुने गरेको पाइएको छ । परियोजना र रामेछाप नगरपालिकाको सहयोगमा जुनार मुख्य उत्पादन हुने क्षेत्र सुकाजोर, ओख्रेनी, रामेछाप, रामपुरलगायतको क्षेत्रमा अभियानको रुपमा विषादी छर्ने काम गरेकाले किसानको बगैँचामा पर्याप्त जुनार फलेको पनि प्रमुख गैरेले बताउनुभयो ।
घिल्ला वर्षमा बोटमा भन्दा भुइमा बढी झर्ने गरेको जुनार यस वर्ष र अघिल्लो वर्ष गरी दुई वर्ष औँसाले फल कुहाएर झारेको नदेखिएको प्रमुख गैरेले बताउनुभयो । फल कुहाउने औँसाबाट जुनार जोगाउनका लािग १० पटकसम्म विषादी छरेको उहाँको भनाई छ ।
जुनार जोगाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मागे जति विषादी उपलब्ध गराएको थियो भने रामेछाप नगरपालिकाले जनशक्ति उपलब्ध गराएको थियो । रामेछाप नगरापालिकामा मात्र हैन मन्थली नगरपालिका र दोरम्बा शैलुङ गाउँपालिकाको जुनार हुने क्षेत्रमा पनि रोगकिरा नियन्त्रण भएका कारण पर्याप्त जुनार फलेका छन् । विगतका वर्षहरुमा जस्तो अवस्थामा जुनार देखिएको थियो त्यो अवस्थाका यस वर्ष नभएको कृषक हिमाल तामाङ बताउनुहुन्छ ।
रामेछापको ओख्रेनी र सुकाजोरका बगैँचामा जुनार पाकेर पहेँलपुर देखिन थालेका छन् । कृषि ज्ञान केन्द्र रामेछापका अनुसार जिल्लामा सात सय २१ हेक्टर जमिनमा जुनार खेती गरिएको छ । गत वर्ष १५ हजार मेट्रिक टन उत्पादन भएकोमा य वर्ष भने १८ हजार मेट्रिक टन पुग्ने अनुमान गरिएको छ । जिल्लाको रामेछाप, रामपुर , सुकाजोर ओखे्रनी, फुलासी सालु, भलुवाजोर, हिमगंगा, लखनपुरलगायतका क्षेत्रमा जुनारको व्यावसायिक उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्र रामेछापका प्रमुख मीनबहादुर पुन जिल्लामा कृषिउपज र फलफूलको यकिन तथ्यांक संकलन भइरहेको बताउनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- द न्यूयोर्क टाइम्सले छाप्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार
- दिगो विकास कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब आवश्यक
- मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग
- सिंहदरबार आसपास प्रहरीको ब्यारिकेड, सवारी संचालनमा पूर्ण रोक
- अध्यक्षसहितका नेताहरु पक्राउ परेपछि राप्रपाद्वारा आकस्मिक बैठक आव्हान
- राप्रपा अध्यक्ष लिङ्देनसहित शीर्ष नेताहरु सिंहदरबारबाट पक्राउ
- तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किँदा २ जनाको मृत्यु, १४ घाइते
- ‘पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनःराजनीतिमा फर्कन बन्देज छैन’
- एकीकृत समाजवादीले सम्झिँदै सुखानी
- आन्दोलनका कारण सर्वसाधारणलाई सास्ती