
काठमाडौँ । संयुक्त राज्य अमेरिकाका ४७औँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले आज शपथ लिँदै हुनुहुन्छ । राष्ट्रपति ट्रम्पको शपथ अमेरिकाको समयअनुसार सोमबार बिहान हुनेछ । त्यो समय नेपालको अहिले साँझ हो ।
उहाँ गत नोभेम्बर ५ मा सम्पन्न निर्वाचनबाट राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो । अमेरिकामा निर्वाचित राष्ट्रपतिले जनवरी २० देखि सत्ता सम्हाल्ने प्रचलन छ । शपथ समारोहपश्चात् सत्ता हस्तान्तरणको प्रक्रिया शुरु हुनेछ ।
लाखौँ नागरिक सहभागी भएर गरिने शपथ ग्रहण कार्यक्रमलाई यसपटक प्रतिकूल मौसमका कारण बन्द कोठाभित्र गरिने जनाइएको छ । सन् २०१६ मा व्यापारिक पृष्ठभूमिका साथ अमेरिकाको राष्ट्रपति निर्वाचित हुनुभएका ट्रम्पले सन् २०२४ मा आप्रवासनसम्बन्धी नीतिको व्यापक सुधारको वाचासहित दोस्रोपटक राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो । उहाँले जलवायु परिवर्तन, आप्रवासन, स्वास्थ्य समस्या, विदेशी उत्पादनमाथिको कर वृद्धिलगायतका नीति लागू गर्ने उल्लेख गरिसक्नुभएको छ ।
ट्रम्पको शपथ ग्रहणसँगै उपराष्ट्रपतिमा जेडी भ्यान्स, विदेशमन्त्रीमा मार्को रुवियोले कार्यभार सम्हालनुहुनेछ । लामो समयदेखि अमेरिकामा बस्दै आउनुभएका कानुन व्यवसायी खगेन्द्र जिसी चुनावको बेला ट्रम्पले प्रतिबद्धता जनाउनुभएका विषयमै राष्ट्रपतिको ध्यान केन्द्रित हुने बताउनुहुन्छ । “अमेरिकाको अर्थतन्त्र राम्रै चलिरहेको थियो, रोजगारी पनि सृजना भइरहेको थियो, तर बढ्दो आप्रवासनको समस्या समाधानका लागि नागरिकले मतदान गरेको पाइएको छ, आगामी दिनमा पनि सोहीअनुसार नीति आउने अपेक्षा गर्न सकिन्छ ।”
सामूहिक निकाला
राष्ट्रपति ट्रम्पले चुनावी अभियानका क्रममा भन्नुभएको ‘मास डिर्पोटेसन’को अर्थ प्रक्रियाअनुसार एकैपटक धेरैजनालाई अमेरिकाबाट सम्बन्धित देश पठाउने भन्ने हो । गत अक्टोबर २७ मा न्यूयोर्कमा आयोजित यालीलाई सम्बोधन गर्दै ट्रम्पले भन्नुभएको थियो– ‘मैले सत्ता सम्हालेको पहिलो दिनमै देश निष्कासनको कार्यक्रम ल्याउने छु, जसले अपराध गर्नेहरुलाई अमेरिकाबाट बाहिर पठाउनेछ ।’
अमेरिकाको एक अनुसन्धान कम्पनी पाओ रिसर्चका अनुसार अमेरिकामा सन् २०२२ मा कूल तीन करोड ६९ लाख आप्रवासीसँग बसोबासको अनुमति छ । त्यसमध्ये दुई करोड ३४ लाखले नागरिकता लिइसकेका छन् । त्यसैगरी एक करोड १५ लाख आप्रवासीले स्थायी बसोबासको सुविधा ९ग्रीनकार्ड० प्राप्त गरेका छन् । साथै २० लाखले अस्थायी बसोबासको सुविधा ९विभिन्न वर्गका भिसा० प्राप्त गरेका छन् ।
अमेरिकामा करिब एक करोड १० लाख आप्रवासीसँग यहाँ बस्नका लागि वैधानिक अधिकार नभएको अनुमान छ । त्यसमध्ये करिब पाँच लाख आप्रवासीहरु अमेरिकाका विभिन्न न्यायिक एकाइमा आपराधिक क्रियाकलापमा संलग्न भएर सजाय पाएको तथ्याङ्क छ । यिनीहरुलाई देश निकाला गर्ने पहिलो प्राथमिकता रहनसक्ने धेरैको अनुमान छ ।
यसको तथ्याङ्क र जानकारी सरकारी निकाय युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट ९आइस०ले राखेको हुन्छ । सोही निकायले देश निकालाका लागि गिरफ्तार, हिरासतमा राख्ने र निकालाको व्यवस्था मिलाउने गर्छ । यो विषयमा ट्रम्प प्रशासनले कार्यभार सम्हालेको पहिलो दिन नै कार्यकारी अधिकार प्रयोग गरेर सम्वोधन गर्न सक्ने धेरैको अनुमान छ ।
अमेरिकाका विभिन्न एकाइमा आप्रवासनका लागि बसोबास गर्न निवेदन दिएका छन् । तर निवेदन स्वीकृत नभए उनीहरु पनि देश निकालको सूचीमा पर्न सक्नेछन् । कानून व्यवसायी जिसी पनि आपराधिक पृष्ठभूमि भएका र पहिला नै अदालतले निवेदन स्वीकृत नगरेर देश छोडेर जान आदेश दिइसकेका व्यक्तिलाई पठाउने कार्यक्रम आउनसक्ने आकलन गर्नुहुन्छ ।
नेपालीहरुको हकमा विगतमा अदालतले निवेदन अस्वीकृत गरेर देश छाड्न आदेश दिए पनि अमेरिका नछोडी बसेका केही हजारको सङ्ख्यामा देश निकालाको सूचीमा पर्नसक्ने उहाँको अनुमान छ ।
वैदेशिक सम्बन्ध
निर्वाचित राष्ट्रपति ट्रम्पले इरायल र हमासबीचको युद्ध अन्त्य गर्ने, रुसले–युक्रेनबीचको आक्रमणलाई वार्तामार्फत अन्त्य गर्ने पनि बताउनुभएको छ । यद्यपि उहाँको शपथ ग्रहणअघि नै इजरायल र हमासबीच युद्धविराममा सहमति भए आइतबारदेखि सम्झौता कार्यान्वयनमा आइसकेको छ । अब शपथ ग्रहणपश्चात् रुस–युक्रेनबीचको समस्याले कस्तो रुप लिन्छ त्यो हेर्न बाँकी छ ।
अमेरिकाले विश्वव्यापी रुपमा ठूलो धनराशि खर्च गर्दै आएको छ । तर नागरिकले तिरेको कर परिचालनसम्बन्धी उहाँले नयाँ नीति बनाइ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । यससम्बन्धमा पनि उहाँको नयाँ नीति कस्तो हुन्छ धेरैको पर्खाइका विषय बनेको छ । यदि सोहीअनुसार नयाँ नीति आएमा अमेरिकाको सहयोगी निकायहरुले सञ्चालन गर्ने विभिन्न विकास तथा मानवअधिकारसम्बन्धी कार्यक्रमहरु प्रभावित हुनसक्ने आकलन गर्न सकिन्छ ।
अमेरिकासँग व्यापार गरिरहेका केही मुलुकको हकमा वस्तु आयातमा २५ प्रतिशतले कर लागू गर्ने योजनाले भने उनीहरुलाई अमेरिकी बजारमा टिक्न चुनौतीपूर्ण हुने देखिन्छ ।
साथै स्वास्थ्य क्षेत्रमा पनि प्रभाव पर्ने देखिएको छ । विश्वव्यापी रुपमा अमेरिका स्वास्थ्य क्षेत्रमा धेरै रकम खर्च गर्नेमध्येको देशमा पर्छ । अमेरिकाले विश्वव्यापी मानव स्वास्थ्यसँग सम्बन्धित कार्यक्रममा वार्षिक करिव १० अर्ब डलर खर्च गर्दै आएको छ । यसमा पनि ट्रम्प प्रशासनले अनुदारवादी सोच राख्ने सम्भावना रहेको बुझाइ छ ।
अमेरिकामा ५० वर्षदेखि बस्दै आउनुभएका फर्मासिष्ट डा श्याम कार्कीले भन्नुभयो, “अमेरिकाले विश्वभरिका मानिसहरुलाई स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रममार्फत सहयोग गर्दै आएको छ । खर्च कटौती गरेको खण्डमा त्यसको असर नेपालजस्ता मुलुकलाई पनि पर्नसक्छ, स्वास्थ्यभन्दा पनि आप्रवासी र करसम्बन्धी विषय राष्ट्रपति ट्रम्पको प्रशासनको प्राथमिकतामा पर्ने सम्भावना छ ।”
कार्कीले ‘टेम्पोरेरी प्रोक्टेटेड स्टाटस’बाट लाभ लिएका करिब दस हजार नेपाली आप्रवासीहरुको वैधानिक बसोबासको सुविधा अन्त्य हुनसक्ने बताउनुहुन्छ ।
अमेरिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएका तीर्थराज पाण्डेय ट्रम्पको पुनरागमनसँगै लगानीका अवसर सृजना हुने सम्भावना देख्नुहुन्छ । उहाँले भन्नुभयो, “राष्ट्रपतिका रुपमा ट्रम्पलाई यहाँको पुँजीबजारले स्वागत गर्ने अपेक्षा छ, लगानीकर्ताको मनोबल बढाउन राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँ न्यूयोर्क स्टक एक्सचेञ्जको भ्रमण पनि गर्नुभएको थियो ।” एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री