
इलाम । माईजोगमाई गाउँपालिका–४ नामसालिङका पुजन र लक्ष्मी प्रधानको जोडी वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै स्वरोजगार बन्नुभएको छ ।
६ वर्ष साइप्रस बसेर गाउँ फर्किनुभएका उहाँहरुले ३० लाख रुपैयाँ लगानीमा बङ्गुरपालन शुरु गरेको सात महिना भयो । ‘लक्ष्मी पशुपालन बङ्गुर फार्म’ दर्ता गरेर शुरु गरिएको व्यवसायमा आम्दानी सुरु हुन अब तीन महिना लाग्छ ।
‘अहिले ४२ बङ्गुर छन् । पाठा हालेको सात महिना भयो । अब तीन महिना पालेपछि बिक्री गर्न सकिन्छ’ लक्ष्मीले भन्नुभयो, ‘पाठा हुर्किदै जाँदा लगानी बढ्दै गएको छ तर, बजार भाउ राम्रो छ । बेच्न समस्या हुँदैन’ राम्रो स्याहार पुगेको एउटा बङ्गुर सामान्यतया एक क्विन्टल (एक सय केजी) हुने उहाँले बताउनुभयो । इलामका बजारमा बङ्गुरको मासु हाल प्रतिकिलो र पाँच सयदेखि ६ सयसम्म बिक्री भइरहेको छ ।
पशुपालन मात्रै होइन । पुजनका दुई वटा यात्रु गाडी छन् । फार्ममा लक्ष्मीसहित अन्य दुईजना खट्नुहुन्छ भने पुजन गाडी लिएर जानुहुन्छ । ‘नामसालिङबाट सदरमुकाम हुँदै झापासम्म जाने र फिक्कल बजारसम्म जाने दुई वटा प्यासेन्जर गाडी छन्’ पुजनले भन्नुभयो– ‘एउटाचैँ आफैँ चलाउँछु । अर्को चलाउने साथी हुनुहुन्छ ।’ एउटा नभए अर्को त पक्कै हुन्छ भनेर पशुपालनसँगै यातायात व्यवसाय पनि थालिएको उहाँ बताउनुहुन्छ । ‘बङ्गुरपालन असफल भए गाडी चलाएर जिउन सकिन्छ । तर, हाल दुवै व्यवसाय सफल नै छन् । विदेश जान मन छैन । स्वदेशमै राम्रो गर्न सकियोस् भन्ने लागेको छ ।’
गत वर्ष गाउँमा आमा बिरामी परेपछि दुवैजना स्वदेश फर्किएको लक्ष्मीले बताउनुभयो । ‘रोगले आमा बित्नुभयो । त्यसपछि विदेश जाने मन भएन । गाउँमै स्वरोजगार बन्ने सोचले पशुपालन सुरु गरेका हौँ’ उहाँले भन्नुभयो– ‘पुर्खाले पनि बङ्गुर त पालेकै हुन् । तर, व्यावसायिक बन्न नसक्दा सधैँ निर्वाहमुखी हुनुपर्यो । विदेशमा पैसा कमाएर सहरमा घर किन्नुभन्दा गाउँमै व्यवसाय गर्दा अरुलाई पनि प्रोत्साहन मिल्छ भन्ने लाग्छ ।’
स्थानीय तहमै उद्यम गर्न चाहनेलाई प्रोत्साहन तथा सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेको भनाइ छ । पुजन र लक्ष्मीले शुरु गर्नुभएको बङ्गुरपालन कर्मले गाउँलाई व्यावसायिक बन्नुपर्छ भन्ने कुरामा प्रोत्साहित गरेको भन्दै गाउँपालिका अध्यक्ष थेबेले सकेसम्म आर्थिक तथा प्राविधिक सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ । ‘पालिकाभित्र व्यवसाय सञ्चालन गरी व्यवसायी र आत्मनिर्भर बन्न चाहेमा सहयोग गर्छौं ।’ उहाँले भन्नुभयो । जिल्लामा पशु तथा पशुजन्य पदार्थको माग बढिरहेको अवस्थामा खाद्य सुरक्षा तथा पौष्टिक आहाराको सुनिश्चितताका लागि एकीकृत रूपमा पशुपालन व्यवसायको विकास अपिहार्य भएको गाउँपालिका उपाध्यक्ष प्रवीना राईले बताउनुभयो ।
पाल्तु पशुमध्ये मासु उत्पादनका लागि बङ्गुरपालन व्यवसायबाट छोटो अवधिमा उच्चस्तरको मासु उत्पादन गर्न सकिने माईजोगमाईका पशु प्राविधिक प्रदीप गुरुङले बताउनुभयो । ‘बङ्गुरपालन व्यवसायबाट अन्य पशुपन्छीको दाँजोमा मुनाफाको प्रतिफल सबैभन्दा बढी पाइएकोे छ । उदाहरणका लागि दुग्ध व्यवसायमा लगानीको दाँजोमा मुनाफाको प्रतिफल १० प्रतिशत, कुखुरामा ३० प्रतिशत, खसीबाख्रामा २५ प्रतिशत हुने गरेको छ जबकी बङ्गुरपालन व्यवसायबाट लगानी गरेको प्रतिफलको ६० प्रतिशतसम्म पाइएको छ ।’ गुरुङले भन्नुभयो ।
मासुको रूपमा बङ्गुुरको प्रायः सबैजसो अङ्गको परिकार बनाएर खाइने गरेको छ । बङ्गुुरको मासुबाट बनाइने विभिन्न परिकारमा ससेज, ब्याकन, ह्याम आदि बनाइने होटल व्यवसायी सोम सुनुवारले बताउनुभएको छ ।
बङ्गुरको मासुमा उच्च श्रेणीको प्रोटिन, भिटामिन, खनिज, फ्याट र मेटाबोलिक इनर्जीको मात्रा धेरै भएकाले मासु एक सन्तुलित आहारा भएको चिकित्सक सरोज दर्नालले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा
- राप्रपाको प्रदर्शनका कारण भोलि शिक्षक आन्दोलन बिहानलाई सारियो
- ‘विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि गोली प्रहार’
- निषेधित क्षेत्र नतोड्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- राप्रपाले आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने
- बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल
- धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
- वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय