
चितवन । भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र रूपमा अघि बढेको छ । महानगरले सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा निर्माण शुरु गरेको रङ्गशालाको हालसम्म करिब १५ प्रतिशत काम सम्पन्न भएको हो ।
महानगरका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार हाल एक सय ५० मजदुरले दैनिक काम गरिरहेका छन् । दुई दिनपछि कामदार थप गरी दुई सय १० पुर्याइने जनाउँदै उहाँले चाडपर्वका समयमा निर्माणमा केही ढिलाइ भए पनि मजदुर थप गरेर लक्ष्यअनुरुप कामलाई तीव्र बनाइएको बताउनुभयो ।
प्याराफिटको ढलानका लागि डण्डी बाध्ने, दुईवटै टावरमा पिल्लर राख्ने, नालाको ढकनी बनाउनेलगायत काम भइरहेका इन्जिनियर आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘हामीले १५ प्रतिशत हाराहारी काम गरेका छौँ । बजेटको समस्या नभएमा तोकिएको समयमा निर्माण सम्पन्न हुनेछ । हालसम्म निर्माण कम्पनीलाई ६ करोड ६० लाख रुपैयाँ अग्रिम भुक्तानी गरिएको छ ।’
महानगरप्रमुख रेनु दाहालले प्रदेश सरकारले १० करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो । सङ्घीय सरकारले चालु आर्थिक यस वर्ष विनियोजन गरेको २५ करोड रुपैयाँ भने आइनसकेको उहाँले बताउनुभयो । शहरी विकास मन्त्रालयबाट फाइल अर्थमन्त्रालयमा पुगिसकेकाले यथाशीघ्र बजेट निकासा हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
महानगरप्रमुख दाहालले भन्नुभयो– ‘दुई महिना अघि अर्थमन्त्रालयमा फाइल पुगेको छ । अर्थमन्त्री र सचिवसँग यो विषयमा छलफल भइसकेको छ । केही दिनमा बजेट निकासा हुने आश्वासन पाएको छु ।’ प्रदेश र सङ्घीय सरकारबाट बजेट निकासा समयमा हुने प्रतिबद्धता आएकाले बजेटका कारण काम नरोकिने उहाँले बताउनुभयो ।
आर्थिक अभावका कारण धुर्मुस सुन्तली फाउण्डेशनले काम स्थगित गर्दै स्वामित्व हस्तान्तरण गरेपछि बागमती प्रदेश र सङ्घीय सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माण अगाडि बढाएको हो । रङ्गशाला निर्माणको जिम्मा पाएको हिमालयन कालिञ्चोक बिबिआर जेभीले दुई वटा भिआइपी टावर, १० हजार क्षमताको प्याराफिट, मैदान र पीच निर्माण शुरु गरेको छ ।
धुर्मुस सुन्तली फाउण्डेशनले यसअघि पाँच हजार क्षमताको प्याराफिट निर्माण गरिसकेकाले यो काम सकिएपछि रङ्गशालाको कुल क्षमता १५ हजार पुग्ने महानगरका सिनियर डिभिजनल इन्जिनियर आचार्यले जानकारी दिनुभयो । गत असार २३ गते ७८ करोड ५० लाख रुपैयाँमा ३० महिनाभित्रमा काम सक्नेगरी भरतपुर महानगर र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । सम्झौता मितिभन्दा अगाडि काम सक्ने निर्माण कम्पनीको दाबी छ । रङ्गशाला बनेसँगै अन्तर्राष्ट्रियस्तरका खेल यहाँ खेल्न सकिने छ ।
महानगरप्रमुख दाहालले सङ्घ, प्रदेश र स्थानीय सरकारको सहकार्य र समन्वयमा बन्न लागेको रङ्गशालालाई यथाशीघ्र सम्पन्न गरी खेलकुदका प्रतियोगिता सञ्चालन गर्ने महानगरको योजना रहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश