
बागलुङ । बागलुङको ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी शहरबजार झर्नेको सङ्ख्या ठूलो छ । सेवासुविधा र अवसरका कारण बसाइँ सर्दा गाउँ रित्तो बन्दै छन् ।
वनमाराले खेतबारी ढपक्कै ढाकिएका छन् । वरपरका रूखबिरुवा बढेर गाउँ नै छेकिन थालेको छ । युवा शक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्रमा ज्येष्ठ नागरिक मात्रै बाँकी छन् ।
दशक अगाडिसम्म रमाइला गाउँबस्ती अचेल रित्तिएर उराठलाग्दा छन् । झाडी पलाएर बाटो ढाकिएका छन् । घरसम्म झाडी पलाएपछि अहिले गाउँमा वन्यजन्तुको आतङ्क बढ्दै गएको छ । घरमै बाँदर, ब्वाँसो र स्याल आएर दुःख दिन थालेपछि स्थानीय त्रसित छन् । जिल्लाको गलकोट, जैमिनी, काठेखोला र बरेङका अधिकांश गाउँमा बाँदर आतङ्क बढी छ ।
बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बारदलीमा झुन्ड्याएर राखिएका सामान नष्ट गरिदिने गरेको जैमिनी नगरपालिका–५ का कूलबहादुर थापाले बताउनुभयो । गाउँमा जनसङ्ख्या कम हुँदै जाँदा बाँदर आतङ्क भने बढ्दै गएको उहाँको भनाइ छ । पहिले जङ्गलमा मात्रै भेटिने बाँदर, स्याल र अन्य हिंस्रक जन्तु हिजोआज घरमै आएर सास्ती दिने गरेको थापाले दुःखेसो पोख्नुभयो । ‘गाउँमा वन्यजन्तुले धेरै दुःख दिन थाले, बारीमा लगाएको तरकारीदेखि खाद्यबाली बाँदरले सखाप पारिदिन्छ, गोठमा पालेको गाई, बाख्रा र पाठापाठी ब्वाँसोले खाइदिन्छ’ उहाँले भन्नुभयो– ‘कुन बेला मान्छेलाई नै आक्रमण गर्छ भन्ने चिन्ता बढेको छ । यो समस्या बढ्दै गएको छ, बसाइँसराइ गरेर जाने त गइहाल्छन्, गाउँमा बस्नेलाई त सरकारले जोगाइदिनु दिनुपर्यो ।’
काठेखोला गाउँपालिका–५ का नन्दराम कँडेलले वन्यजन्तुले बालीनाली खाई दिने र पशुचौपाया मारी दिँदा वर्षेनी लाखौँको नोक्सानी बेहोर्नुपरेको गुनासो गर्नुभयो । हरेक वर्ष गाउँबाट बागलुङ बजार, पोखरा, काठमाडौँ र चितवन बसाइँसराइ हुने र वन्यजन्तु भने गाउँ पस्ने समस्यालाई रोक्न सरकारले ध्यान दिनुपर्ने र बसाइँसराइ गरेर जानेले घरबारीलाई बाँझो राख्न नपाइने नीति ल्याउनुपर्ने उहाँको भनाइ छ ।
गाउँमा विकास हुँदै गए पनि धेरैले शहर रोज्दा गाउँमा वन्यजन्तुको आतङ्क बढ्न थालेको कँडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी धेरै पीडित बन्यौँ, न गाउँ छोडेर बजार जान सक्छौँ, न गाउँमा ढुक्कले बस्न सकेका छौँ । यसतर्फ राज्यले ध्यान दिनुप¥यो, गाउँमा सबै ठीक छ, वन्यजन्तु व्यवस्थापन रोक्न सके हामी यहीँ खुशी छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश