
नुवाकोट। माघेसङ्क्रान्ति पर्वको अवसरमा आज नुवाकोटको तारुका, बेत्रावतीलगायतका स्थानमा गोरु जुधाई प्रदर्शनी आयोजना गरिएको छ ।
माघेसङ्क्रान्तिका दिन विभिन्न इतिहाससँग जोडेर मनाइने गरिएको गोरु जुधाई प्रदर्शनीको क्रममा यस वर्ष नुवाकोटको तारुकामा १३ हल, बेत्रावतीमा ११ हलसहित जिल्लाका विभिन्न स्थानमा यस्तो कार्यक्रम आयोजना गरिएको हो ।
तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा आयोजित गोरु जुधाईमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ, बागमती प्रदेशसभा सदस्य रमेशकुमार महतसहितले अवलोकन गर्नुभयो । यसअघि दर्ता भएर जुधाउन १४ हल तयारी अवस्थामा राखेको भए पनि एउटा गोरुको स्वास्थ्यमा समस्या देखिएसँगै १३ हल गोरु जुधाइएको हो ।
गोरु जुधाईको अवलोकनपश्चात् मुख्यमन्त्री तामाङले पशु अधिकारको रक्षा गर्दै संस्कृतिको जगेर्ना, पर्यटन प्रवर्द्धन र खेलकुदको एक विधाको रूपमा गोरु जुधाईलाई व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभयो । त्यसका लागि विषयगत मन्त्रालयसँगको सहकार्यमा आवश्यक कार्य अगाडि बढाइने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
गोरु जुधाई प्रदर्शनीमा विजेता र उपविजेता भएका गोरुका धनी (किसान)लाई प्रोत्साहनस्वरुप नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । जुधाईमा संलग्न भएका गोरुको प्रस्तुति, जुधाईको कलाकौशल गराएका र विजेता भएका सबै गोरुका धनीलाई भिन्नभिन्न विधामा सम्मान गरिएको माघे सङ्क्रान्ति गोरु जुधाई महोत्सव समितिका संयोजक मदन श्रेष्ठले जानकारी दिनुभयो ।
यसै अवसरमा आज नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीमा ११ हल गोरु जुधाइएको छ । गोरु जुधाई प्रदर्शनी कार्यक्रमका संयोजक सुरज लवटले किसानले पालेका मध्येबाट छनोट गरेर जुधाई प्रदर्शनी गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा विदुरका नगरप्रमुख राजन श्रेष्ठले कला, संस्कृति र इतिहाससँग जोडिएको गोरु जुधाई संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले पछिल्ला वर्षमा नगरपालिकाको आर्थिक सहयोगसहित सहआयोजकको रुपमा भूमिका निर्वाह गर्दै आएकामा आगामी दिनमा वार्षिक नीति तथा कार्यक्रममा समावेश गरेर थप सहयोग गरिने बताउनुभयो ।
माघेसङ्क्रान्ति पर्वको अवसरमा नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुईपिपल, लिखु गाउँपालिका–३ सूर्यमती, पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडा र नुवाकोटसँग सीमा जोडिएका धादिङका विभिन्न स्थानमा समेत गोरु जुधाई प्रदर्शनी गरेर किसानले माघेसङ्क्रान्ति पर्व हर्षोल्लासका साथ मनाएका छन् ।
गोरु जुधाई प्रदर्शनीको सुरुआत विभिन्न इतिहाससँग जोडेर उल्लेख गरे पनि त्यसको कहीँकतै यकिन तथ्य भने नभएकाले धेरै वर्ष पहिलादेखि नुवाकोटका विभिन्न गाउँठाउँमा यस परम्पराको थालनी भएको पाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सिद्धार्थ राजमार्ग सुचारु, पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी