+

चिकित्सक हत्या मैनबत्ती जुलुस, भारतीयद्वारा न्याय माग

काठमाडौँ । चिकित्सकको बलात्कार र हत्या भएको करिब एक महिनापछि न्यायको माग गर्दै भारतीयको विशाल भीडले मैनबत्ती लिएर बिहीबार बिहानै कोलकाताका सडकमा जुलुस निकालेको छ । 

अगस्ट ९ मा कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले लतपतिएको शव फेला परेपछि महिलाविरुद्ध हिंसाको दीर्घकालीन समस्यालाई लिएर मुलुकभर आक्रोश बढेको छ । चम्किरहेको मैनबत्ती र माटोको दियोमा लेखिएको एक सन्देशमा भनिएको छ, ‘हामी न्याय चाहन्छौँ’ । प्रदर्शनकारीहरूले बोकेका प्रतीकमा लेखिएको थियो, ‘उज्यालो होस्, न्याय होस्’ । त्यो नृशंस हत्याले सम्पूर्ण भारतमा विरोध प्रदर्शन शुरु भयो र महिलाहरूको सुरक्षा अवस्थाको माग गर्दै चिकित्सकले बारम्बार हडताल गरिरहेका छन् ।

बाँकी भारतमा धेरै विरोध प्रदर्शन र हडताल शान्त भए पनि कोलकाता जस्तो विशाल सहरमा नियमित प्रदर्शनहरू जारी छन् ।  कोलकोताको जुलुसमा करिब एक लाख मानिसले भाग लिएको प्रहरीले बताएको छ । राजधानी नयाँदिल्लीमा पनि यस्तै सानो जुलुस आयोजना गरिएको छ । प्रदर्शनकारी रुबिना मुखर्जीले भन्नुभयो– ‘सम्पूर्ण मुलुकको हृदय छियाछिया भएको छ ।’ 

बुधबार साँझ अबेरसम्म हडतालमा रहेका सयौँ चिकित्सकसँगै हजारौँ मानिस भेला भएर विरोधमा मानव शृङ्खला बनाउन एकअर्काको हात समाइरहेका थिए । एक घन्टाका लागि बत्ती निभाइयो । सहरको एउटा ठूलो हिस्सा अँध्यारो भयो । प्रदर्शनकारीहरूले बलिरहेको मशाल बोकेर सहरको अँध्यारो आकाशलाई उज्यालो बनाइरहेका थिए । ‘न्याय नमिलेसम्म हामी बारम्बार रात बिताउनेछौँ’ ३५ वर्षीया गृहिणी स्मिता रायले भन्नुभयो । 

महिलाले भारतीय झन्डा फहराउँदै सामूहिक धर्ना दिएर सडक अवरुद्ध गरेकाले कोलकाताका सामान्यतया व्यस्त हुने मुख्य सडकमा यातायात रोकिएको थियो । कहिलेकाहीँ भीडले क्रोधमा चिच्याउँदै ‘वि वान्ट जस्टिस’ भन्ने नारा लगाउँथे । तर मैनबत्ती जलाउन शुरु गरेपछि त्यो नारा विस्तारै नरम गीत गाउनुअघि शान्त प्रतिबिम्बमा रोकिए । 

हत्या गरिएकी चिकित्सकका पिताले पनि शव फेला परेको अस्पतालबाहिरको जुलुसमा कुराकानी गर्नुभयो । उहाँले छोरीको हत्यापछि आफ्नो परिवारको ‘छियाछिया भएको हृदय’ र हत्याले कसरी ‘मानसिक रूपमा स्तब्ध बनायो’ भन्नेबारेमा बताउनुभयो । प्रदर्शनकारीले हत्या गरिएकी चिकित्सकलाई ‘अभया’ उपनाम दिएका छन् । यसको अर्थ निडर हो ।

हत्याको आरोपमा एक व्यक्तिलाई हिरासतमा लिइएको छ तर अनुसन्धानको तरिकालाई लिएर पश्चिम बङ्गाल सरकारले सार्वजनिक आलोचनाको सामना गर्नुपरेको छ । आफ्नो परिवारमाथि छोरीको शवलाई चाँडोभन्दा चाँडो अन्त्येष्टि गर्न ‘धेरै दबाब’ दिइएको भन्दै पिताले आक्रोश व्यक्त गर्नुभयो । ‘हामी उनको शव राख्न चाहन्थ्यौँ, उनको अन्त्येष्टि गर्न के हतार थियो ? उनको मृत्यु रहस्यले ढाकिएको छ’ उहाँले भन्नुभयो । 

बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने मङ्गलबार पारित राज्यको एक कानुनलाई पनि उहाँले ‘लोकप्रिय देखावटी’ बाहेक केही नभएको भन्दै खारेज गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै