+

खुला व्यायामशालमा आकर्षण

तनहुँ ।  व्यास नगरपालिका–३ सेतीमादी नदी किनारमा निर्माण गरिएको खुला व्यायामशालामा सर्वसाधारणको घुइँचो लाग्न थालेको छ । 

वडावासीलाई स्वस्थ र तन्दुरुस्त बनाउन तथा व्यायाम गर्ने बानीको विकास गर्न वडा कार्यालयले सेतीमादी सामुदायिक वनभित्र खुला व्यायामशाला निर्माण गरेको हो । 

व्यायामशालामा दैनिक सर्वसाधारणको घुइँचो लाग्छ । स्वस्थ जीवनका लागि व्यायाम अतिआवश्यक रहेको र वडाले निर्माण गरेको खुला व्यायामशाला सर्वसाधारणको ध्यान खिच्न सफल भएको व्यास नगरपालिका–३ सिर्जनाटोलका त्रिभुवन श्रेष्ठले बताउनुभयो । 

स्थानीय प्रेमप्रसाद पौडेलले खुला व्यायामशालाको संरक्षण महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सर्वसाधारणको बाक्लो उपस्थितिले यसको संरक्षणमा चुनौती थपिएको छ । यहाँ टिकट प्रणाली लागू गरेर यसको संरक्षणमा ध्यान दिनुपर्छ ।’

शारीरिक स्फूर्ति र शरीरका लागि आवश्यक व्यायामका लागि बनाइएको खुला व्यायामशाला वडावासीले निःशुल्क प्रयोग गर्न सक्ने वडाध्यक्ष अनुप रानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘नगरमा खुला व्यायामशालाको आवश्यकता थियो, त्यसका लागि कहाँ बनाउने भन्ने छलफलपछि यो ठाउँ उपयुक्त देखियो ।’ उहाँका खुला व्यायामशालामा बालबालिका, युवा र वृद्धवृद्धा व्यायाम गर्न  आउने गरेका छन् ।

जिम हाउसमा पैसा तिर्नपर्ने तर खुला व्यायामशाला निःशुल्क प्रयोग गर्न सकिने भएकाले यसतर्फ आकर्षण बढ्ने विश्वास गरिएको छ । १३ लाख रुपैयाँको लागतमा खुला व्यायामशाला निर्माण गरिएको हो । यहाँ विभिन्न १६ प्रकारका व्यायाम सामग्री जडान गरिएका छन् । व्यायामशाला क्षेत्रलाई सुरक्षित बनाउन तारबारसहित सिसी क्यामेरा जडान गरिएको छ । 

व्यायामशालाको नजिकै प्रसिद्ध व्यास गुफा क्षेत्र रहेकाले धार्मिक तथा पर्यटकीय हिसाबले पनि यो ठाउँ उपयुक्त रहेको वडा सदस्य दधिराज घिमिरेले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट