
काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ विश्वविद्यालय (केयू) मा रहेको ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ सेन्टरको उद्घाटन गर्नुभएको छ ।
विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहका अवसरमा प्रधानमन्त्रीले आज हाइड्रोजनबाट सञ्चालन हुने बा १ झ ११११ नम्बरको कारको समेत उद्घाटन गर्नुभयो । उहाँ त्यही कार चढेर दीक्षान्त समारोहस्थल जानुभएको थियो ।
त्यस अवसरमा उहाँले विश्वविद्यालयले सञ्चालन गरेको ग्रीन हाइड्रोजन उत्पादन र रिफ्यूलिङ स्टेसन निर्माण अनुकरणीय कार्य भएको बताउनुभयो । ‘काठमाडौँ विश्वविद्यालयमा मात्र होइन, यस प्रकारको नवीनतम काम अन्य स्थानमा पनि सञ्चालन हुनुपर्छ’ कूलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले आफू यसअघि प्रधानमन्त्री भएका बेला ग्रीन हाइड्रोजन तथा हावाबाट बिजुली उत्पादनबारे छलफल एवं अध्ययनको शुरुवात गरेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो– ‘अहिले राम्रो कामको शुरुवात भएको छ, यसलाई अन्यत्र बिस्तार गर्दै जानुपर्छ, विशेषगरी पहिलो प्राथमिकता सवारी साधनलाई दिनुपर्छ ।’
विश्वविद्यालयको नेपाल हाइड्रोजन इनिसिएटिभ्सका प्रमुख एवं सहप्राध्यापक विराजसिंह थापाले बिजुली र पानीलाई प्रशोधन गरी हाइड्रोजनमा परिणत गरिएको जानकारी दिनुभयो । दुई वर्षदेखि ग्रीन हाइड्रोजन फ्युल उत्पादन तथा प्रयोगसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्दै आएको विश्वविद्यालयले पहिलो पटक २०७९ साल चैत १९ गते ग्रीन हाइड्रोजन उत्पादन गरेको थियो ।
विश्वविद्यालयलाई हाइड्रोजन उत्पादन तथा हाइड्रोजनबाट सवारी साधन सञ्चालनका लागि नेपाल आयल निगमले आर्थिक सहयोग गरेको छ । निगमकै सहयोगमा गत कात्तिकमा दक्षिण कोरियाबाट हुण्डाइ कम्पनीको कार भित्र्याइएको थियो । साथै कोरियन हाइड्रोजन उत्पादन कम्पनीका प्राविधिकको सहयोगमा विश्वविद्यालयमा हाइड्रोजन रिफ्युलिङ सेन्टर स्थापना गरिएको जनाइएको छ ।
यसका लागि निगमले विश्वविद्यालयलाई ५ करोड उपलब्ध गराएको हो । त्यो सहयोगबाट विश्वविद्यालयले ३३ हजार अमेरिकी डलरमा कार, १ करोड ३० लाख रुपैयाँको लागतमा रिफ्युलिङ सेन्टर स्थापना गरेको जनाइएको छ ।
सहप्राध्यापक थापाका अनुसार हाइड्रोजन रिफिल सेन्टरमा प्रशोधित पानीबाट हाइड्रोजन उत्पादन र उत्पादित हाइड्रोजनलाई सुक्खा बनाउन, शुद्धीकरण गर्ने र लो प्रेसर ट्याङ्कीमा भण्डार गर्ने र त्यासमा रहेको हाइड्रेजनलाई हाइप्रेसर ट्याङ्कीमार्फत कारमा रिफिल गरिन्छ ।
अध्ययन तथा अनुसन्धान (परीक्षण)का लागि विश्वविद्यालय परिसरमा स्थापित हाइड्रोजन रिफिल सेन्टरबाट दैनिक औसत दुई किलोग्राम हाइड्रोजन उत्पादन हुने विश्वविद्यालयले जनाएको छ । एक किलोग्राम हाइड्रोजन उत्पादन गर्न १० लिटर पानी र ४० देखि ४५ यूनिट बिजुली खपत हुन्छ ।
विश्वविद्यालयमा ल्याइएको हुण्डाइको कारमा ६ किलोग्राम हाइड्रोजन भर्न सकिने र पूर्ण क्षमतामा ६ सय ५० किलोमिटर दुरीको यात्रा गर्न सकिने जनाइएको छ ।
विश्वविद्यालयले ३० देखि ३५ वटासम्म हाइड्रोजन गाडीलाई रिफ्युलिङ गर्न सकिने गरी हाइड्रोजन रिफ्युलिङ सेन्टर स्थापना गर्न पाइलट प्रोजेक्ट तयार गर्ने लक्ष्यसमेत राखेको छ । यातायात सञ्चालन गर्न हाइड्रोजन उत्पादन गरिएको यो नेपालको पहिलो प्रयास भएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक