
पाल्पा । कालीगण्डकी नदीको किनारमा अवस्थित वशिष्ठ गुफा क्षेत्रलाई आकर्षक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने भएको छ । यसका लागि विभिन्न संरचना बनाएर व्यवस्थित गरिन लागिएको छ ।
पाल्पाको रामपुर नगरपालिका–४ स्थित भुलादीखोलाको भुद्रङ्गघाटमा रहेको गुफालाई स्थानीय सरकारले व्यवस्थित गर्न पछिल्लो समय विभिन्न पूर्वाधार निर्माणमा जोड दिएको छ । भुलादीखोलाको किनारमा करिब एक दर्जन बढी गुफा रहेका छन् । यसमध्ये यहाँ दुई गुफा ठूलो ओढार आकारमा छन् । गुफाभित्र शिवलिङ्ग, हात्तीका चित्र, शङ्ख, विभिन्न भगवान्का आकृतिलगायत आश्चर्यजनक चित्र छन् ।
गुफासम्म पुग्ने पैदलमार्ग, पैदलमार्ग छेउमा फलामको बारबन्देज, भुलादीखोलामा झोलुङ्गे पुल, गुफाको बाहिरी भागमा ढोका, गुफाभित्र बिजुली बत्तीलगायतका पूर्वाधार निर्माणकार्य गरिएको रामपुर–४ का वडाध्यक्ष रामबहादुर रानाले बताउनुभयो ।
“पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेको यस क्षेत्रमा आन्तरिक पर्यटक मात्र नभई बाहिरी पर्यटक भित्रिनेछन्”, उहाँले भन्नुभयो, “भौगोलिक हिसाबले प्राकृतिकरूपमा अवलोकनयोग्य ठाउँ रहेको हुँदा गुफालाई व्यवस्थित गर्दै पर्यटन विकासका कार्यमा हामी अग्रसर भएर काम गरिरहेका छौँ ।”
रामपुर नगरपालिकाले गुफा व्यवस्थित गर्दै माथिल्लो गुफामा पूर्णकदको रामको मूर्ति निर्माण गरेको छ । गुफामा रामको मूर्ति निर्माण गरिएपछि पर्यटकीय आकर्षण थपेको छ । गुफाभित्र पस्नेबित्तिकै भगवान् रामको मूर्तिले त्यहाँ पुग्ने जोकोही पनि तस्वीर खिचाउन, भिडियो खिच्न उत्साहित हुन्छन् । यस गुफाभित्र करिब दुई सय मानिस अट्ने क्षमता छ ।
सोही गुफा नजिकै तल्लो भागमा रहेको गुफा करिब पाँच सय बढी मानिस अट्ने क्षमताको छ । सो गुफाभित्र पसेपछि ठूलो ओढारमा गुफा फैलिएको देखिन्छ । भगवान्का विभिन्न अनौठा प्रकृतिका चित्रले सबैलाई लोभ्याइरहेको हुन्छ । तल्लो स्थानमा रहेको गुफा तीन तला आकृतिमा रहेको छ । यहाँ रामसीता, वशिष्ठ ऋषि, लक्ष्मण, हनुमानको मूर्ति बनाएर राख्ने तयारी छ । गुफा अवलोकनमा अहिलेसम्म निःशुल्क व्यवस्था गरिएको छ । अवलोकन गर्न जाने व्यक्तिले वडा कार्यालयमा सम्पर्क गरेर जाने गरेका छन् ।
वशिष्ठ ऋषिले तपस्या गरी बसोबास गरेको र त्रेतयुगमा भगवान् रामचन्द्र वनबास जाने क्रममा कालीगण्डकी नदीको तटमा अवस्थित रामघाटमा नुहाउने र कालीगण्डकी नदी नजिकै रहेको वशिष्ठ गुफामा तपस्या गरेर बसेको पौराणिक किंवदन्ती रहेको छ । रामपुर नगरपालिका–४ र ५ को सिमानामा परेकाले दुवै वडाको पर्यटन विकासमा यस गुफाले टेवा पुर्याउनेछ । गुफालाई व्यवस्थित गर्दै यहाँ पानीपोखरी, रोपवे, घरबास ९होमस्टे०लगायतका पूर्वाधार विकासका कार्य थप गर्दै जाने योजना रहेको रामपुर–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले बताउनुभएको छ ।
“गुफामात्र नभई यस क्षेत्रमा आवश्यक पूर्वाधार विकासका काम गर्दै जाने योजनाअनुसार अगाडि बढेका छौँ, प्राकृतिक वातावरणमा रमाउनका लागि हिजोआज युवायुवतीको आकर्षण बढ्दै जाँदा यो क्षेत्र पर्यटकीय गन्तव्यस्थल बन्नेछ”, उहाँले भन्नुभयो ।
वडाध्यक्ष पोखरेलका अनुसार गुफानजिकै रहेको कालीगण्डकी नदीको रामघाट क्षेत्रमा तीनमुखे झोलुङ्गे पुल निर्माण गर्ने योजना रहेको छ । तीनमुखे पुल बनेपछि यहाँको धार्मिक क्षेत्र रामघाट, कोप्चेघाट, नदीपारि स्याङ्जाको चापाकोट नगरपालिकामा अवस्थित रामजानकी मन्दिर जोडिने भएकाले महत्त्वपूर्ण धार्मिक पर्यटनको गन्तव्यस्थल बन्ने समाजसेवी मोहन राना बताउनुहुन्छ ।
२०७५ सालको वैशाख तेस्रो हप्ता फेला परेको अनौठो प्रकृतिको गुफा हेर्नेको धेरै मानिसको आकर्षण बढ्यो । गुफा फेला परेपछि अवलोकन गर्न जानेको भीड बढ्न थालेपछि रामपुर नगरपालिकाले सुरक्षा व्यवस्थालाई मध्यनजर राख्दै गुफा बन्द गरेर राखेको थियो । विज्ञबाट अध्ययन अनुुसन्धान भएपछि गुफालाई व्यवस्थित गर्दै ढोका लगाएर राख्ने गरिएको छ । पहिला यहाँ गुफा छ भन्ने सामान्य जानकारी भए पनि ठूला खालका गुफा रहेको कसैलाई पनि जानकारी थिएन । स्थानीयवासीले बाहिरी भागमा सानो दुलो देखेपछि खोजी गर्ने क्रममा भित्र पसेर अनुसन्धान गरेपछि गुफा रहेको पत्ता लागेको हो ।
कृत्रिम पूर्वाधार खडा गरी ठाउँ–ठाउँमा पर्यटन पूर्वाधारका कार्य भइरहेका छन् । अन्यत्र स्थानमा कृत्रिम ताल, गुफा निर्माण गरी पर्यटक भित्र्याउने होडबाजी चलिरहेको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन, आफ्नो गाउँठाउँको प्रचार–प्रसारका लागि धेरै लगानीमा पर्यटन पूर्वाधारका कार्यलाई प्राथमिकता दिन थालिएको छ । प्राकृतिकरूपमा सम्भावना बोकेका पौराणिक, ऐतिहासिक, धार्मिक क्षेत्रको विकासमा महत्व दिन सकियो भने यसबाट धेरै फाइदा लिन सकिनेछ । रामपुर नगरपालिकाको गौरवको योजनामा यस गुफालाई समेटिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा
- दिगो विकास कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब आवश्यक
- मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग
- सिंहदरबार आसपास प्रहरीको ब्यारिकेड, सवारी संचालनमा पूर्ण रोक
- अध्यक्षसहितका नेताहरु पक्राउ परेपछि राप्रपाद्वारा आकस्मिक बैठक आव्हान
- राप्रपा अध्यक्ष लिङ्देनसहित शीर्ष नेताहरु सिंहदरबारबाट पक्राउ
- तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किँदा २ जनाको मृत्यु, १४ घाइते
- ‘पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनःराजनीतिमा फर्कन बन्देज छैन’
- एकीकृत समाजवादीले सम्झिँदै सुखानी
- आन्दोलनका कारण सर्वसाधारणलाई सास्ती