+

रुकुममा मौरीपालनमा आकर्षण

रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ का कमलाल खड्काले मौरीपालन गर्न थालेको नौ वर्ष भयो । दशवटा गोलाबाट मौरीपालन शुरु गरेका खड्कासँग हाल एक सय २३ वटा मौरी गोला छन् । 


 मौरी गोलाबाट यस ‘सिजन’मा दुई सय २५ केजी मह उत्पादन भयो । उत्पादित मह पनि बिक्री भइसकेको छ । प्रतिकिलो  एक हजार दुई सय रुपैयाँका दरले यो सिजनको महबाट खड्काले दुई लाख ७० हजार रुपैयाँ आम्दानी गर्नुभएको छ । गत वर्षभन्दा यो वर्ष भने मह उत्पादन घटेको उहाँले बताउनुभयो ।

गत वर्ष उहाँले ७० वटा मौरी गोलाबाट दुई सय करिब ३८ किलो मह उत्पादन गर्नुभएको थियो । त्यो वर्ष मह बिक्रीबाट ६ लाख ४० हजार रुपैयाँ आम्दानी भएको उहाँको भनाइ छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा ६० प्रतिशतसम्म कमी आएको मौरीपालक कृषकहरूको भनाइ छ । ‘महको माग बढिरहको छ, मह उत्पादन घटेका कारण ग्राहकलाई मागअनुसारको मह पु¥याउन सकिएको छैन्’ खड्काले भन्नुभयो ।

त्यही वडाका ओमप्रकाश खड्का पनि पुराना मौरीपालक कृषक हुनुहुन्छ । उहाँसँग हाल एक सय ५१ वटा मौरी गोला छन् । उक्त गोलाबाट एकपटकमा उहाँले तीन सय सय १२ केजी मह उत्पादन गर्नुभयो । उत्पादित मह बिक्रीबाट रु तीन लाख ७५ हजार आम्दानी भएको छ । विसं २०५५ देखि मौरीपालन शुरु गरेका ओमप्रकाशको पनि यस वर्ष मह उत्पादन घटेको छ । गत वर्षको तुलनामा यस वर्ष आधाभन्दा बढी मह उत्पादनमा कमी आएको उहाँको भनाइ छ । 

गत वर्ष एक सय ४५ वटा मौरी गोलाबाट सात सय ४२ किलो मह उत्पादन भएको थियो । त्यही वर्ष उत्पादित मह बिक्री गरेर  आठ लाख ६१ हजार रुपैयाँ आम्दानी गरेको ओमप्रकाशले बताउनुभयो । यस वर्षको यो सिजनमा कमलाल र ओमप्रकाशको मात्र नभई जिल्लाका अधिकांश मौरीपालक कृषकको मह उत्पादन घटेको छ ।

चिउरीको फूल फुल्ने समयमा पानी परेका कारण मह उत्पादनमा कमी आएको मौरीपालक कृषकले बताएका छन् । कात्तिकदेखि मह निकाल्न सुरु गरिन्छ  । अधिकांश कृषकले मह निकाली सकेका छन् । तीन स्थानीय तह रहेको यस जिल्लामा सबैभन्दा बढी सिस्ने गाउँपालिकामा मह उत्पादन हुने गरेको छ । सिस्ने गाउँपालिकामा प्रायः सर्वसाधारणले मौरीपालन गर्ने गरेका छन् । भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकामा सिस्नेको तुलनामा मौरीपालन कम हुन्छ । मह बिक्री गरेर यहाँका कृषकले राम्रो आम्दानी गर्ने गरेका छन् । यस क्षेत्रको मह रुकुम पश्चिम, सल्यान, जाजरकोट, दाङ, पोखरा तथा काठमाडौँसम्म पुग्ने गरेको छ ।

रुकुम पूर्वमा तीन आर्थिक वर्षमा २४ दशमलव आठ मेट्रिक टन मह उत्पादन भएको छ । तीन स्थानीय तह रहेको रुकुम पूर्वमा उक्त परिमाणमा मह उत्पादन भएको हो । जिल्लाभर आर्थिक वर्ष २०७८÷७९ मा छ दशमलव सात मेट्रिक टन मह उत्पादन भएको एकीकृत कृषि तथा पुशपन्छी विकास कार्यालय रुकुम पूर्वका प्रमुख डिल्लीराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७९÷८० मा अघिल्लो आवको भन्दा महको उत्पादन घटेर छ मेट्रिक टन उत्पादन भयो भने आर्व २०८०÷८१ मा महको उत्पादन दोब्बर बढेर १२ दशमलव एक मेट्रिक टन मह उत्पादन भएको थियो । चालु आवको भने किसानहरुले मह निकाल्दै रहेका मह उत्पादनको विवरण प्राप्त नभएको प्रमुख पौडेलले जानकारी दिनुभयो । जिल्लामा किसानले प्रतिधार्नी मह (दुई दशमलव पाँच किलो)  ३ हजार रुपैयाँमा बिक्री गर्दै आएका छन् । 

रुकुम पूर्वमा तीन आर्थिक वर्षमा मह बिक्रीबाट मात्रै किसानले.दुई करोड २५ लाख २४ हजार रुपयाँ आम्दानी गरेका छन् । जिल्लामा व्यावसायिक मौरीपालन गर्ने किसानले . दुई लाखदेखि सात लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । एकीकृत कृषि तथा पुशपन्छी विकास कार्यालय रुकुम पूर्वका अनुसार आव २०७८÷७९ मा छ दशमलव सात मेट्रिक टनबाट रु ८० लाख ४० हजार आम्दानी गरेका छन्भने आव २०७९०÷८० मा महको उत्पादन घटेर ६ मेट्रिक टन उत्पादन हुँदा  ७२ लाख रुपैयाँ किसानले आम्दानी गरेका थिए । गत वर्ष भने मह उत्पादन दोब्बर उत्पादन भएर १२ दशमलव एक मेट्रिक टन मह उत्पादन हुँदा  एक करोड ४५ लाख २० हजार रुपैयाँ रकम जिल्लामा भित्रिएको थियो । चालु आर्थिक वर्षको भने मह उत्पादनको विवरण आइसकेको छैन । विवरण प्राप्त नभए पनि यस वर्ष किसानले मह उत्पादनमा कमी आएको गुनासो गरिरहेकाले मह उत्पादनमा कमी हुनसक्ने  कार्यालयको अनुमान गरेको छ । 

जिल्लाभर कृषकले चार हजार तीन सय ८० घारमा मह उत्पादन गरिरहेका छन् । व्यावसायिक मौरीपानल गर्ने कृषकले एक सयदेखि एक सय ५० घारमा मौरीपालन गर्दै आएका छन् । जिल्लाभर आर्थिक वर्ष २०७८÷७० मा एक हजार चार सय ८० घारबाट मह उत्पादन भएको थियो । भने आव २०७९÷०८० मा मह उत्पादन हुने घारको सङ्ख्या घटेर एक हजार दुई सयमा मात्र मह उत्पादन भएको थियो । गत आवमा भने घारको सङ्ख्या बढेर एक हजार सात सय पुगेको थियो । मह उत्पादन पनि सोही मात्रामा बढेर १२ दशमलव एक मेट्रिक टन उत्पादन भएको थियो । 

यस वर्ष भने मह उत्पादनको विवरण  तथा घारको सङ्ख्याको विवरण प्राप्त हुन बाँकी रहेको कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख पौडलले जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै